logo
२०८१ बैशाख १५ शनिवार



‘वरशिक्षा’ नलेखेका भानु

विचार/दृष्टिकोण |


‘वरशिक्षा’ नलेखेका भानु


रमेश भट्टराई ‘सहृदयी’

१९ औँ शताब्दीका फ्रान्सेली समालोचक एचए टेनले आफ्नो ‘द थ्यौरी अफ इङ्ग्लिस लिट्रेचर’ पुस्तकमा समाजपरक समालोचना पद्धतिको चर्चा गरेका छन् । उनकाअनुसार ‘जाति, पर्यावरण र क्षण’ले साहित्यकार प्रभावित हुन्छ । माक्र्सवादी चिन्तनलाई हेर्दा यही अवधारणा विकास गर्दै अहिले वर्गीय समाजको चर्चामा बढावा दिएको देखिन्छ । टेनका अनुसार साहित्यकार समाजकै प्राणी हो । उसको जन्म पनि समाजमै हुन्छ । त्यसैले साहित्यकार समाजको संस्कार, मूल्य–मान्यता र जातगत प्रभावबाट मुक्त हुन सक्दैन । यही आधारमा भानुका कृतिमा नारीको आदर्शलाई पस्किनु त्यो समाजको प्रभाव हो । उनले नारी आदर्शका लागि ‘वधूशिक्षा’ लेखे तर नारीलाई असहज हुनुपर्छ भनेनन् किनकि नारीको दायित्वलाई समाजले पितृसत्तात्मक आँखाबाट कसेर राखिदिएको थियो । तब उनले समाजकै अनुरूप बोध गरे र सोही कुरा लेखे ः

भक्तीले पति ईश्वरै भनि बुभूmन् पाऊ तलैमा परून्
पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरून् ।।१।।

कविले नारीको कर्मलाई पति सेवा र घरको काम सम्हाल्ने हो भन्ने भावलाई व्यक्त गरे । धेरै हदमा नारीले घरभित्र र पुरुषले घरबाहिरको जिम्मेवारी सम्हाल्ने पद्धतिले हाम्रो समाज अद्यापि सञ्चालित छ । नारीले असल आचरण अपनाए घरमा राम्रो हुने मान्यताले पुरुषलाई भन्दा नारीलाई शिक्षा दिने संस्कारबाट हाम्रो समाज अघि बढेको देखिन्छ । भानुको भावनामा समाजको छाप स्पष्ट रूपमा परेको छ । भानुले तारापतिलाई सम्झाउँदै बुहारीका लागि वधूशिक्षा बनाएको कुरा पृष्ठभूमिका रूपमा तीन पङ्तिमा उल्लेख गरेका छन् । यद्यपि, यो रचनालाई घटनाले जन्माएको हो । यसमा भानुको विचार र सोचमा नारी दमनको भावना होइन, समाजले बुझेको दृष्टिकोणले उनमा पारेको प्रभाव यथार्थ रूपमा प्रस्फुटन भएको हो । उनको बुझाइ समाजबाहिर जान नसक्ने टेनको अवधारणासँग यो विचारलाई हेर्नु वाञ्छनीय देखिन्छ ः

रोगी बालक वृद्ध सासु ससुरा जेठाज्यु देवर् पति
पूmपू सासु अमाज्यु नन्द जति छन् खान्छन् इ खाजा जति ।।१२।।

अहिले दिनानुदिन घटिरहेका बलात्कारका घटनाको मूल कारणभित्र समाजले बिर्सिएको हिजोको नारी सम्मानको पाटो पनि कारक हो । आज भत्किरहेका विसङ्गत परिवारमा नारीको भूमिकालाई त्यतिखेर सचेत तुल्याएका कतिपय सन्देश आजका लागि पनि लाभदायक नभएका होइनन् किनकि प्रकृतिले बच्चालाई नौ महिना कोखमा राख्ने, जन्माउने, आमाजस्तो गरिमामय भूमिका निर्वाह गर्ने र सन्तानलाई असल शिक्षा दिने सबैभन्दा शक्तिशाली क्षमता पुरुषलाई दिएकै छैन । यद्यपि सतीप्रथा, दासप्रथा, पुरुषद्वारा बहुविवाह गर्ने एकोन्मुख पितृसत्तात्मक संस्कार, नारीले नारीलाई नै र पुरुषले नारीलाई दमन गर्ने बुहार्तनवादी सोचले त्यतिखेरको समाज कति ग्रसित रहेछ भन्ने कुरालाई बोध गर्ने अवसर वधूशिक्षाले दियो । भानुले पनि समाज अनुकूल लेखिदिए तर वधूशिक्षा लेखेर वरशिक्षा नलेखेका कारण पनि उनी दोषमुक्त रहँदैनन् ः

सौताको रिस गर्नु पाप छ बहुत् एकै दुवैका पति ।
मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती ।।१३।।

भानुको समयको समाज पाप र धर्मको कसीमा निकै नै बन्धित थियो । राम्रो नराम्रो कर्मलाई पाप र धर्मको कसीमा कसिदिएकाले भानु पनि उक्त समाजको आफ्नै विश्वासमुखी नियमबाट अछुतो रहेनन् । विक्रम संवत् १८७१ मा जन्मेका भानुको समयलाई आज २०७८ सालको समाजसँग तुलना गरेर उनलाई आरोप लगाउनुमात्रै चाहिँ एकाङ्की व्याख्या पनि हुनेरहेछ किनभने अमेरिका, युरोपतिर सन् १८४० को दशकमा नारी आन्दोलनको सङ्गठन प्रारम्भ भएको इतिहास छ । १९औँ शताब्दीबाट प्रारम्भ भएको नारीवादी आन्दोलनले आजसम्म समानताको लडाइँ लडिरहनुपरेको छ । दिनानुदिन बलात्कारी भावले ग्रसित मानसिकताले नैतिकताको पर्खाल ढालिरहेको छ । हिजो धर्म र आचरणका आधारमा नारीलाई एकातिर भोग्या मानिन्थ्यो भन्ने कुरा हुँदाहुँदै नारीलाई उच्च सम्मान गर्दै धर्तीमाता, गौमाता भनिएको रहेछ पनि । पूर्वीय संस्कारले रामसीता नभनेर सीताराम भन्दै नारीलाई अघि राख्ने रहेछ ः राधाकृष्ण, गौरीशङ्कर, लक्ष्मीनारायण आदि ।
भानुको समयमा नारी अधिकार हनन भयो भनेर बहस गर्ने पाटोसँग टेनको अवधारणा मिल्ने रहेछ । समाजपरक विचारमा टेनले व्याख्या गरेको वातावरणको प्रभावबाट भानु एक्लै अछुतो हुने कुरो नभएको पनि हो । साहित्यकार जुन देश, काल, समय र परिस्थितिमा जन्मे, हुर्केको हुन्छ, सोहीअनुसार सामाजिक तथा साँस्कृतिक मूल्य–मान्यतालाई विश्वास गर्छ । भानु पनि त त्यही पितृसत्तात्मक समाजमा जन्मिए । अनि उनले उसबेलामा आजसम्म जकडिएर हट्न नसकेको नारी दमनकारी सोचलाई विद्रोह गरेर लेख्न सकेनन् । कमजोरी त्यस तप्कामा गएर थुरिएको हो ः

प्राणका नाथ् पतिका अगाडि गइ जो फर्माउँछन् सो गरोस् ।
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखू भरोस् ।।
किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चीज् छ सो सो दिई
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।।

माथिको पङ्तिले धूूमपानको कुलतलाई पनि बोध गराउँछ । बुहारीले परिवारमा सहकार्य गर्नेसम्मका कुरा आपसी सद्भाव र प्रेमका कोणबाट पाच्य होलान् । तर, हिजोको समाजमा तमाखु खाने लगभग धेरैजसोको आदत रहेछ । आजको सहरी समाजतिर हुने विवाह, जन्मदिनजस्ता समारोहमा मदिराजन्य पदार्थ खाने र खुवाउने व्यवस्था नभएसम्म त्यसलाई ‘स्टेन्डर्ड’ मानिँदैन । तुलना गरेर हेर्दा आजको विश्लेषण गराइलाई हामीले हिजोकै शैलीमा मात्र नभएर ‘आजको समाज कतातिर लम्किरहेको छ र किन’ भन्ने कुरालाई केलाउनुपर्छ । आज हाम्रो समाजमा श्रीमान्ले श्रीमती छोड्नेभन्दा श्रीमतीले श्रीमान् छोड्ने दर बढेको हुन सक्ला । बच्चालाई झाडीमा फाल्ने आजको भयावह अवस्था हिजो थिएन । कुकुरले आफ्नो बच्चाका लागि प्राण दिन्छ तर मान्छेले नौ महिना पेटमा राखेको बच्चा फाल्नु संवेदनहीनताको पराकाष्ठा हो । परिवारमा हिजो नातिले पनि हजुरबाको सेवा गथ्र्यो तर आज नयाँ पुस्ताले पुरानो पुस्तालाई प्राविधिक ज्ञानका नाममा, भौतिक उन्नतिका कारण मनोवैज्ञानिक दमन पनि त गरिरहेको हुन्छ । विचारणीय पक्ष हिजोको समाजका सकारात्मक विषयमा सायद भानुले धेरै लेखेनन् । अर्थात् ‘वधूशिक्षा’ त लेखे तर ‘वरशिक्षा’ लेखेनन् र कमजोरी त्यहाँ प्रस्ट देखियो । त्यो बुहार्तन र पितृसत्तात्मक कुसंस्कारको पासोमा भानु पनि चुर्लुम्म डुबे ।
आजका मान्छेले लेख्ने साहित्यमा दमन र उत्थानका विषयलाई जति धेरै उठाइन्छ तर मानवता र विपन्नतामा दुख्ने घाउ छाँयामा परिरहेकै छन् । हामीभन्दा पछि आउने पुस्ताले जातीय विभेदका समस्याभन्दा पनि चर्काे बनेको भौतिकवादी लालसा, अमानवीय स्वार्थमा अल्झिएको मानवताका विषयमा हाम्रो पुस्ताले ध्यान दिन नसकेको आरोप लगाउन सक्नेछ । त्यहाँ तेस्रो लिङ्गीको आवाज छुटेको कुरा उठ्नेछ । नारीद्वारा पीडित पुरुषको कुरालाई पनि छुटाएको आरोप अहिलेको पुस्तालाई लाग्नेछ । कोटा पद्धतिका कारण, जातका कारणले सक्षम मानिसलाई अन्याय भएको कुरा उठ्नेछ । त्यसैले समानता, अधिकार र अवसरको दायरा सङ्कुचित छ, जसले ‘मानवीय न्यायको सिद्धान्त’लाई बिर्संदै जाँदा वर्गीय खाडलको अर्को रूपबाट हाम्रो सोच दोषमुक्त छँदै छैन ।
अहिलेको सोच र समाजलाई जोख्ने तुलो अनि हेर्ने आँखामा दायराको एउटा आफ्नै नियम छ । एउटाको हक र हितको कुरा गर्दा अर्कोतिरबाट कोही त अन्यायमा परेकै हुन्छ । तर, जहाँ ‘मानवता’को कुरा आउँछ त्यहाँ हेपिँदैन । अवसर पायौँ, अधिकार पायौँ भन्ने एउटा सोचको भुुमरीमा पर्दा झनै नामकरणका आधारमा वर्गविभेद भएको कुरालाई पटक्कै मन्थन गर्दैन । हाम्रो मथिङ्गलमा बसेको हक र अधिकार भनेको अवसरमात्रै हो अनि विद्रोह गर्नुको अर्थ हिजोको पुस्तालाई गाली गर्नुमात्रै हो भन्ने छ । यसले ‘मानवीय न्यायको सिद्धान्त’लाई विकास गर्न सकेको छैन । जबसम्म मानवतावाद हुँदैन, त्यहाँ चुरो कुरै छुट्छ ।
अनेकौँ दायराभित्र फसाएर हाम्रो समाजमा भएका माक्र्सवादी विचारको आडमा बोलिने आवाजले वर्गद्वन्द्वलाई जात, धर्म, लिङ्गमा बाँडिदियो । हामीले आर्थिक, सामाजिक सम्पन्नता–विपन्नताको पाटोलाई हेर्ने आँखालाई छोडिदियौँँ । त्यसैले मानवताका आँखामा लेखिएको भानुको मौलिक सिर्जनालाई भने पक्कै सम्मान गर्नुपर्छ । भानुको विचार त्यो समाजको दृश्यचित्र भएर मुखर भएको छ तर उनको गहन मर्म र समानतामुखी मानवतावादबाट अवश्य पनि भागेको छैन । यद्यपि, ‘वधूशिक्षा’ लेखेर ‘वरशिक्षा’ नलेखेका भानुद्वारा यसमा पारिवारिक सद्भाव र प्रेमको कसिलो एउटा नातोलाई, देशभक्तिको समर्पण र समाजको सौहार्दतालाई खोतलिएको कुराचाहिँ निकै नै दर्बिलो देखिन्छ ।

(लेखक शिक्षणमा संलग्न हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?