गोपीनाथ मैनाली
युवा विचारक युभल नोह हरारीले किशोरकिशोरीहरूलाई लक्षित गर्दै भनेका छन्, ‘जब तिमी जवान हुनेछौ, त्यतिबेला तिम्रो रोजगारीका अवसरहरू हराउन सक्छ ।’ सन् १८४८ तिर औद्योगिक जागरणका कारण परम्परागत रोजगारी विस्थापित भए पनि नयाँ अवसरहरू सिर्जना भएका थिए । १९४८ पछि अवसरको स्थानान्तरण उच्च सीपयुक्त जनशक्तितर्फ पुगेको छ भने २०४८ पछि पूर्णतः ‘साइबर स्पेस’मा पुग्दै छ । अवसरको यो स्थानान्तरण केही जटिल छ र जटिलता दिनप्रतिदिन बढ्दै छ । दुई÷तीन दशकपछिको कल्पना गरौँ, रोबोटिक्स र मेसिनहरूले धेरैजसो कामलाई विस्थापित गरिसकेका हुनेछन् । के त्यसबेला हामी विनाकाम बस्न सक्छौँ ? होइन भने श्रमशक्तिको अनुकूलन कसरी गर्ने ? यी सवालहरू नीति निर्माता र शासकीय प्रणालीका लागि निकै वजनदार बनेका छन्।
मानिसका दुई क्षमता छन्, पहिलो संज्ञानात्मक र दोस्रो भौतिक (शारीरिक) । पुनर्जागरण र औद्योगिक क्रान्तिमा उत्पादन विधिहरू परिष्कृत भए, उत्पादन प्रक्रिया छिटोछरितो, किफायती र स्तरीय पनि बन्यो । तर, प्रत्येक उत्पादन प्रक्रियाले अर्को रोजगारी सिर्जना गथ्र्याे । अहिले रोबोटिक्सलगायतका कृत्रिम बौद्धिकता (एआई)ले भौतिकमात्र होइन, संज्ञानात्मक कामहरू पनि मानिसबाट खोस्दै छ, मानव रोजगारी परिष्कृत बन्दाबन्दै पनि कामहरू विस्थापित हुँदै छन् । जैविक–रासायनिक प्रक्रियाले मानवीय संवेग, इच्छा र छनोटहरू पनि यान्त्रीकृत (एआईकृत) हुँदै छन् ।
एआई चिकित्सकले रोगको पहिचान र उपचार गर्ने दिन धेरै नजिक छ, एआई बैङ्कर्सहरूले सजिलै स्थान लिइरहेका छन्, एआई शिक्षकहरू अध्यापन प्रक्रियामा सजिलै समावेश हुँदै छन् । ठुल्ठूला कलकाराखाना र गोदाममा उत्पादन तथा व्यापारिक क्रियाकलाप सजिलै यान्त्रीकृत हुने नै भए, अहिले नै ‘थ्रीडी’ कामहरूमा रोबोटको प्रयोग छ्यापछ्याप्ती छ । सडकको ट्राफिक व्यवस्थापन, सुरक्षा, नियन्त्रण र अरू धेरै प्रकारका सेवा व्यवस्थापनको ‘सर्भिलेन्स’ निमानवीकरण भइसक्यो । त्यतिमात्र होइन, धेरै सुरिला गीतहरू यान्त्रिक संयोजनमा गुञ्जिनेछन्, सड्ढीत ‘कम्पोज’ पनि यान्त्रीकृत हुनेछ र लय र तालहरू स्थायी र अन्तरामा चटक्क मिलेर गीतलाई साथ दिनेछन् । श्रोताको स्वभाव र स्वाद पनि बायोटेक र कम्प्युटरले बुझ्नेछ । कैयन ब्रुनोमार्स र ब्रिट्नी स्पेयरहरू विस्थापित हुनेछन् । मानिसको सामान्य सिर्जनाले मानिसको सिर्जनालाई विस्थापित गर्नेसम्मको दिन आउँदै छ भन्दा अझै पनि कतिपयलाई उदेक लाग्न सक्छ तर वास्तविकता यही दिशातर्फ प्रवृत्त छ ।
मानव क्रियाकलापलाई व्यवस्थित, किफायती र स्तरीय बनाउन नै अर्थतन्त्र एआईतर्फ गतिवान छ । अर्थतन्त्रले जहिले पनि विनियोजन दक्षता र उपभोक्ता चाखलाई निर्देशक सिद्धान्त मान्दै आएको छ । तुलनात्मक लाभ र उपभोक्ता स्वादबीच गहिरो सम्बन्ध छ र त्यसले नै बजारलाई निर्दिष्ट गर्छ । बजारको शीघ्र विस्तार, उपभोक्ताको सन्तुष्टि र न्यून लागतबाट लगानीकर्ता र कर्पोरेट गुरिल्लाहरू भूगोलका कुनाकाप्चा कुद्नेछन् । सरकारहरू पनि एकप्रकारले खुसी नै हुनेछन्, किनकि अर्थतन्त्रको आबद्धीकरण एवम् मजबुतीकरणबाट विस्तार हुँदा कराधार बढ्न गई उसले सामाजिक सुरक्षालगायतका लोककल्याणकारी कार्य गर्ने सामथ्र्य विस्तार हुन्छ । विश्वका सरकारहरू आफ्ना नागरिकका लागि आधारभूत सर्वव्यापी आय
(यूबीआई) र आधारभूत सर्वव्यापी सेवा (यूबीएस) प्रत्याभूत गरी समाजवादका नयाँ ढाँचा अभ्यास गर्न समर्थ हुनेछन् ।
एक्काइसौँ शताब्दीको समाजवादको नयाँ भाष्य यूबीआई र युबीएसजस्ता ‘बेसिक्स’मा पुग्नेछ र स्वाभाविक रूपमा एआई अर्थतन्त्रले यसलाई सघाउनेछ । तर, के यो आम्दानी र सेवाको उपभोगले मात्र मानिस रमाउँछ ? भन्ने सवाल वजनदार रूपमा उजागर हुनेछ ।
मानवीय निजत्वको अर्थ अवसरमा प्रोत्साहन हो न कि बेसिक्सबाट सेवा सुरक्षाको प्रत्याभूतिमात्र । व्यावहारिक अर्थशास्त्रमाथि विज्ञानले बोलेको धावाले मानिस कसरी व्यवहार गर्छन्, सोच्छन् र प्रतिक्रिया तय गर्छन् भन्ने कुराको जानकारीपछि बहुराष्ट्रिय कम्पनीहरू अदृश्य व्यापार युद्ध गर्न सक्छन् । त्यसपछि राज्य प्रणालीले आफ्ना नागरिकप्रति कसरी न्याय गर्ला ? नेतृत्वहरू आफ्नै लघुदृष्टिले बिस्तारै गतावधिक बन्दै जानेछन् र जो एआई अनुकूलन क्षमता अनुकूलित हुनेछन्, ती राजनीतिबाट विषयान्तर हुँदै जानेछन्, त्यो प्रवृत्ति देखिँदै छ । परिणामतः अर्थतन्त्र नियमन÷नेतृत्व गर्ने राष्ट्रिय शक्तिमा व्यापक ह्रास आउनेछ ।
सारमा भन्दा एआई अर्थ व्यवस्थाले समाजलाई निमानवीकरणतर्फ धकेल्नेछ, समन्याय र स्वतन्त्रतालाई निकै साँघु¥याई नियोजित गर्नेछ । मानौँ, हाम्रै घरपालुवा पशु हामीले कजाउन नसकिएपछि छाडा उन्मुक्ततामा बेपर्वाह होला कि भन्ने त्रास फैलिँदै छ ।
एआई अर्थतन्त्रलाई निमानवीकृत हुनबाट जोगाउन नसकिने होइन तर उपायहरू केवल अर्थशास्त्री र राजनीतिक आयामबाट मात्र खोज्न सकिने छैन । राजनीतिज्ञहरू गतावधिक दृष्टिकोणमा रहन्छन् भने अर्थशास्त्रीहरू गतावधिक मोडेलहरू व्याख्या गर्न चुक्दैनन् । साठीको दशकभन्दा अघि जन्मेका र सत्तरीतिर प्रशिक्षित अर्थशास्त्रीहरू मोडेल र आर्थिक वृद्धिका शास्त्रीय सिद्धान्तबाट दीक्षित छन्, त्यसैमा आग्रही छन्, जसले मिलेनियम नागरिक र एआई अर्थतन्त्रलाई सम्बोधन गर्ने सामथ्र्य राख्दैनन् । उनीहरूका अध्ययन र अनुसन्धान युद्ध सकिएपछिको युद्ध तयारीजस्तै देखिँदै छ । किनकि परम्परागत अर्थशास्त्रका सिधा धर्काहरू ‘अरू कुरा यथावत् रहेमा’ भन्ने मान्यतामा अडिग छन् ।
एआई अर्थतन्त्रमाथि बहस र टिप्पणी भइरहेको बेला कम्प्युटर वैज्ञानिक एवम् ‘सिनोभेसन भेन्चर’का अध्यक्ष काई फु ली एआई अर्थतन्त्रलाई मानवीय स्पर्श चाहिने बताइरहनुभएको छ । एआईबाट विस्थापित रोजगारी फिर्ता आउँदैन किनकि ती स्तरीय र निकै किफायती छन् । उहाँका अर्थमा जिरो कन्ट्याक्ट (सम्पर्करहित) सेवामा ह्युमन कनेक्सन (मानवीय सम्बन्ध) खोजिएको छ । काई फु ली एआईसँग सहकार्यका लागि तीन
‘आर’ (रिलर्न, रिक्यालिब्रेट र रेनेसा) आवश्यक बताउनुहुन्छ । अर्थात् निरन्तर सिकाइ, क्षमता विकास र नवजागरण नै एआई अर्थतन्त्रलाई मानवीय स्पर्शसहित दिगो बनाउने आधार हुन् । यसका लागि तयारी ढिला भइसकेको छ । गरिबी, अभाव र सीमान्तीकरण भएको समाजमा यो धेरै आवश्यक तर झनै असजिलो छ ।
विपद र सङ्क्रमणले थिलथिलाएको अर्थतन्त्रमा यो अति आवश्यक तर अति नै जटिल देखिएको छ । हामी निराश हुनुपर्दैन, एआईको व्यापक विकास र विस्तारपछि पनि रोजगारीका नयाँ अवसरहरू सिर्जना भइरहनेछन् । मानिस बढ्नेक्रमसँगै खाद्य सुरक्षा प्रत्याभूतिका लागि स्पेस फार्मिङ (अन्तरीक्षमा खेती)मा जानुपर्ने हुन सक्छ, मानिसका नयाँ स्वादको चाहनासँगै नयाँ प्रजातिको खेती त आवश्यक हुने नै भयो । नयाँ पानी निर्माण आवश्यक हुन सक्छ, जलाधार निख्रिँदै छ । पोषणयुक्त कृत्रिम खाद्यवस्तु जैविक–रासायनिक विधिबाट उत्पादनको काम आवश्यक हुन सक्छ । मनोरञ्जन, शिक्षण र प्रशिक्षणका नयाँ तरिका आवश्यक हुनेछन् ।
नयाँ–नयाँ अवसर सिर्जनाका लागि आविष्कारमुखी प्रणालीको निर्माण निरन्तर गतिशीलतामा चाहिनेछ । रोबोटिक्स प्रणालीको मेन्टिनेन्स, रिमोट कन्ट्रोल, डाटा विश्लेषण, साइबर सुरक्षाका धेरै कामहरू सिर्जना हुनेछन् । मानवीय संवेग र हार्दिकता चाहिने कामहरूको माग ह्वात्तै बढ्नेछ । जस्तो कि पारिवारिक विखण्डनका कारण वृद्धावस्थाको हेरचाह सेवा, नर्स सेवा, मायाममता चाहिने घरायसी र अनौपचारिक कामहरूको अहिलेको अनुमानभन्दा धेरै माग हुनेछ ।
त्यसैले एआई र मानिस प्रतिस्पर्धी होइनन्, सहकार्यको समाज बनाउने कृत्रिम बौद्धिकताका यन्त्रमात्र हुन् । जसलाई उपयोग गर्न सके मानव समाज अभैm स्वर्गीय हुनेछ । दुरुपयोग भए थुप्रै असहजताबीच मानिस आफ्नै आविष्कारबाट आफैँ अस्वाभाविक बन्नेछ ।
एआई समाज निर्माणको दह्रो आधार शिक्षा हो । शैक्षिक प्रगति र नवप्रवर्तनले नै समाज यहाँसम्म आइपुगेको हो । शैक्षिक अनुष्ठानमा के पढाउने भन्ने विषय समाज र अर्थतन्त्रले के माग गरेको छ र समाज र अर्थतन्त्रलाई कसरी निर्दिष्ट गर्नुपर्छ भन्ने कुराले नै निर्धारण गर्छ । परम्परागत शिक्षा अब पर्याप्त छैन । शिक्षाको भाष्य, विधि, प्रविधि र व्यावहारिकता सबै नै आमूल परिवर्तनका व्यग्र प्रतीक्षामा छन् । धेरैजसो शिक्षाविद्हरू चार ‘सी’ तर्फ शिक्षा ‘स्वीच’ हुनुपर्छ भनिरहेका छन्, क्रिटिकल थिङ्किङ, कम्युनिकेसन, कोल्याबोरेसन र क्रिएटिभिटी बुझ्न जरुरी भयो कि बाँच्नका लागि संज्ञानात्मक शिक्षामात्र उपयोगी नहुने भयो, जीवन निर्वाह र एआई अनुकूलनका लागि पनि निरन्तर सिकाइ र सामथ्र्य विकास गर्नु आवश्यक हुने भयो ।
‘डाटा डिक्टेटरसिप’ले वर्ग र पुस्तालाई सीमान्तीकरणमा पार्न सक्छ । एल्गोरिदम संयन्त्रले मानिसले भन्दा छिटो मानिसलाई बुझ्छ, उसका क्रियाकलाप र उसले जनाउने प्रतिक्रिया बुझ्छ । त्यसलाई नियन्त्रण गर्न सक्ने शिक्षा र सीपको माग एआई अर्थतन्त्रले गरेको छ ।
शिक्षा अग्रदर्शी मुलुकहरू स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) शिक्षा विस्तार गरी एक्काइसौँ शताब्दीको माग पूरा गर्ने लागिरहेका छन् । ताकि रोबोटिक्सले विस्थापन गरेको रोजगारीभन्दा माथि रोजगारीका थप अवसरको मज्जा लिने सामथ्र्य विकास हुन सकोस् । शिक्षामा नवप्रवर्तनको ढोका स्टेमले खोल्छ, यो नै जवप्रवर्तनमुखी सरकार र एआई अर्थतन्त्रको पनि आधार हो ।
(लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ ।)