logo
२०८१ बैशाख ४ मंगलवार



कृत्रिम बौद्धिकतातर्फको यात्रा

विचार/दृष्टिकोण |




गोपीनाथ मैनाली

निरन्तर सिकाई, क्षमता विकास र नवजागरण नै एआई अर्थतन्त्रलाई मानवीय स्पर्शसहित दिगो बनाउने आधार युवा विचारक युभल नोह हरारीले किशोरकिशोरीहरूलाई लक्षित गर्दै भनेका छन्– ‘जब तिमी जवान हुनेछौ त्यतिबेला तिम्रा रोजगारीका अवसर हराउन सक्छन्’ । सन् १८४८ तिर औद्योगिक जागरणका कारण रोजगारी गुमाएकाहरू उद्योग कलकारखाना गए, परम्परागत रोजागरी विस्थापित भए पनि नयाँ अवसर सिर्जना भए । १९४८ पछि अवसरको स्थानान्तरण उच्च सीपयुक्त जनशक्तितर्फ पुगेको छ भने २०४८ पछि पूर्णतः साइबर स्पेसमा पुग्दैछ । अवसरको यो स्थानान्तरण केही जटिल छ । जटिलता दिनप्रतिदिन बढ्दैछ । दुई तीन दशकपछिको कल्पना गरौँ, रोबोटिक्स र मेसिनहरूले धेरैजसो कामलाई विस्थापित गरिसकेका हुनेछन् । के त्यसबेला हामी बिनाकाम बस्न सक्छौँ ? होइन भने श्रमशक्तिको अनुकूलन कसरी गर्ने ? यी सवाल नीतिनिर्माता र शासकीय प्रणालीका लागि निकै ओजनदार बनेका छन् ।
मानिसका दुई क्षमता छन्, पहिलो संज्ञानात्मक र दोस्रो भौतिक (शारीरिक) । पुनर्जागरण र औद्योगिक क्रान्तिमा उत्पादन विधिहरू परिष्कृत भए, उत्पादन प्रक्रिया छिटो, छरितो, किफायती र स्तरीय पनि बने । तर प्रत्येक उत्पादन प्रक्रियाले अर्को रोजगारी सिर्जना गर्दथ्यो । अहिले रोबोटिक्स लगायतका कृत्रिम बौद्धिकताले भौतिक मात्र होइन संज्ञानात्मक कामहरू पनि मानिसबाट खोस्दैछ, मानव रोजगारी परिष्कृत बन्दाबन्दै पनि कामहरू विस्थापित हुदैछन् । जैविक–रासायनिक प्रक्रियाले मानवीय संवेग, इच्छा र छनौटहरू पनि यान्त्रीकृत (एआईकृत) हुँदैछन् । एआई चिकित्सकले रोगको पहिचान र उपचार गर्ने दिन धेरै नजिक छ, एआई बैङ्कर्सहरूले सजिलै स्थान लिइरहेका छन्, एआई शिक्षकहरू अध्यापन प्रक्रियामा सजिलै समावेश हुँदैछन् । ठूल्ठूला कलकाराखाना र गोदाममा उत्पादन तथा व्यापारिक क्रियाकलाप सजिलै यान्त्रीकृत हुने नै भए । अहिले नै थ्रीडी कामहरूमा रोबोटको छ्यापछ्प्ती छ । सडकको ट्राफिक व्यवस्थापन, सुरक्षा, नियन्त्रण र अरू धेरै प्रकारका सेवा व्यवस्थापनको सर्भिलेन्स
निमानवीकरण भइसक्यो ।
त्यति मात्र होइन धेरै सुरिला गीतहरू यान्त्रिक संयोजनमा गुञ्जिने छन्, सङ्गीत कम्पोज पनि यान्त्रीकृत हुनेछ र लय र तालहरू स्थायी र अन्तरामा चटक्क मिलेर गीतलाई साथ दिनेछन् । स्रोताको स्वभाव र स्वाद पनि बायोटेक र कम्पुटरले बुझ्ने छ । कैयौँ मानिसको सामान्य सिर्जनाले मानिसको सिर्जनालाई विस्थापित गर्नेसम्मको दिन आउँदैछ ।
मानव क्रियाकलापलाई व्यवस्थित, किफायती र स्तरीय बनाउन नै अर्थतन्त्र एआईतर्फ गतिवान् छ । अर्थतन्त्रले जहिले पनि विनियोजन दक्षता र उपभोक्ता चाखलाई निर्देशक सिद्धान्त मान्दै आएको छ । तुलनात्मक लाभ र उपभोक्ता स्वादबीच गहिरो सम्बन्ध छ र त्यसले नै बजारलाई निर्दिष्ट गर्दछ । बजारको शीघ्र विस्तार, उपभोक्ताको सन्तुष्टि र न्यून लागतबाट लगानीकर्ता र कर्पोरेट गुरिल्लाहरू भूगोलका कुनाकाप्चा कुद्नेछन् । सरकारहरू पनि एक प्रकारले खुसी नै हुनेछन्, किनकि अर्थतन्त्रको आबद्धीकरण एवं मजबुतीकरणबाट विस्तार हुँदा कराधार बढ्न गई उसले सामाजिक सुरक्षा लगायतका लोककल्याणकारी कार्य गर्ने सामथ्र्य विस्तार हुन्छ । विश्वका सरकारहरू आफ्ना नागरिकका लागि आधारभूत सर्वव्यापी आय (यूबीआई) र आधारभूत सर्वव्यापी सेवा (यूबीएस) प्रत्याभूत गरी समाजवादका नया ढाँचा अभ्यास गर्न सामथ्र्य हुनेछन् । एक्काइसौँ सताब्दीको समाजवादको नयाँ भाष्य यूबीआई र यूबीएस जस्ता बेसिक्समा पुग्नेछ र स्वाभाविक रूपमा एआई अर्थतन्त्रले यसलाई सघाउने छ । तर के यो आम्दानी र सेवाको उपभोगले मात्र मानिस रमाउँछ ? भन्ने सवाल जोडदार रूपमा उजागर हुनेछ । मानवीय निजत्वको अर्थ अवसरमा प्रोत्साहन हो न कि वेसिक्सबाट सेवा सुरक्षाको प्रत्याभूति मात्र । व्यावहारिक अर्थशास्त्रमाथि विज्ञानले बोलेको धावाले मानिसहरू कसरी व्यवहार गर्छन्, सोच्छन् र प्रतिक्रिया तय गर्छन् भन्ने कुराको जानकारीपछि बहुराष्ट्रिय कम्पनीहरू अदृश्य व्यापार युद्ध गर्न सक्छन् । त्यसपछि राज्यप्रणालीले आफ्ना नागरिकप्रति कसरी न्याय गर्ला ? नेतृत्वहरू आफ्नै लघुदृष्टिले विस्तारै गतावधिक बन्दै जानेछन् र जो एआई अनुकुलन क्षमता अनुकूलित हुनेछन्, ती राजनीतिबाट विषयान्तर हुँदै जानेछन्, त्यो प्रवृत्ति देखिँदै छ । परिणामतः अर्थतन्त्र नियमन÷नेतृत्व गर्ने राष्ट्रिय शक्तिमा व्यापक ह्रास आउने छ । सारमा भन्दा एआई अर्थव्यवस्थाले समाजलाई निमानवीकरणतर्फ धकेल्नेछ, समन्याय र स्वतन्त्रतालाई निकै साँघु¥याई नियोजित गर्नेछ । मानौँ, हाम्रै घरपालुवा पशु हामीले कजाउन नसकिएपछि उन्मुक्ततामा बेपर्वाह होला कि ।
एआई अर्थतन्त्रलाई निमानवीकृत हुनबाट जोगाउन नसकिने होइन तर उपायहरू केवल अर्थशास्त्री र राजनीतिक आयामबाट मात्र खोज्न सकिने छैन । राजनीतिज्ञहरू गतावधिक दृष्टिकोणमा रहन्छन् भने अर्थशास्त्रीहरू गतावधिक मोडेलहरू व्याख्या गर्न चुक्दैनन् । साठीका दशकभन्दा अघि जन्मेका र सत्तरीतिर प्रशिक्षित अर्थशास्त्रीहरू माडेल र आर्थिक वृद्धिका शास्त्रीय सिद्धान्तबाट दीक्षित छन्, त्यसैमा आग्रही छन्, जसले मिलेनियल नागरिक र एआई अर्थतन्त्रलाई सम्बोधन गर्ने सामथ्र्य राख्दैनन् । उनीहरूका अध्ययन र अनुसन्धान युद्ध सकिएपछिको युद्ध तयारीजस्तै देखिँदैछ । किनकि परम्परागत अर्थशास्त्रका सीधा धर्काहरू ‘अरू कुरा यथावत् रहेमा’ भन्ने मान्यतामा अडिग छन् । एआई अर्थतन्त्रमाथि बहस र टिप्पणी भइरहेका बेला कम्प्युटर वैज्ञानिक एवं सिनोभेसन भेन्चरका अध्यक्ष काई फु ली एआई अर्थतन्त्रलाई मानवीय स्पर्श चाहिने बताइरहेका छन् । एआईबाट विस्थापित रोजगारी फिर्ता आउँदैन, किनकि ती स्तरीय र निकै किफायती छन् । उनका अर्थमा जिरो कन्ट्याक्ट (सम्पर्करहित) सेवामा ह्युमन कनेक्सन (मानवीय सम्बन्ध) खोजिएको छ । काई फु ली एआईसँग सहकार्यका लागि तीन ‘आर’ (रिलर्न, रिक्यालिब्रेट र रेनेसा आवश्यक बताउँछन् । अर्थात निरन्तर सिकाइ, क्षमता विकास र नवजागरण नै एआई अर्थतन्त्रलाई मानवीय स्पर्शसहित दिगो बनाउने आधार हुन् । यसका लागि तयारी ढिला भइसकेको छ । गरिबी, अभाव र सीमान्तीकरण भएको समाजमा यो धेरै आवश्यक तर झनै असजिलो छ । विपत् र सङ्क्रमणले थिलथिल्याएको अर्थतन्त्रमा यो अति आवश्यक तर अति नै जटिल
देखिएको छ ।
हामी निराश हुनु पर्दैन, एआईको व्यापक विकास र विस्तारपछि पनि रोजगारीका नयाँ अवसरहरू सिर्जना भइरहनेछन् । मानिसहरू बढ्ने क्रमसँगै खाद्य सुरक्षा प्रत्याभूतिका लागि स्पेस फार्मिङ (अन्तरिक्षा खेत) मा जानुपर्ने हुनसक्छ । मानिसका नयाँ स्वादको चाहनासँगै नयाँ प्रजातिको खेती त आवश्यक हुने नै भयो । नयाँ पानी निर्माण आवश्यक हुनसक्छ, जलाधार निखिँ्रदैछ । पोषणयुक्त कृत्रिम खाद्यवस्तु जैविक–रासायनिक विधिबाट उत्पादनको काम आवश्यक हुनसक्छ । त्यसैले एआई र मानिस प्रतिस्पर्धी होइनन्, सहकार्यको समाज बनाउने कृत्रिम बौद्धिकताका यन्त्र मात्र हुन् । जसलाई उपयोग गर्न सके मानव समाज अभैm स्वर्गीय हुनेछ, दुरुपयोग भए थुप्रै असहजताबीच मानिस आफ्नै आविष्कारबाट आफै अस्वाभाविक
बन्ने छ ।
एआई समाज निर्माणको द्यद्रो आधार शिक्षा हो । शैक्षिक प्रगति र नवप्रवर्तनले नै समाज यहाँसम्म आइपुगेको हो । शैक्षिक अनुष्ठानमा के पढाउने भन्ने विषय समाज र अर्थतन्त्रले के माग गरेको छ र समाज र अर्थतन्त्रलाई कसरी निर्दिष्ट गर्नुपर्छ भन्ने कुराले नै निर्धारण गर्छ । परम्परागत शिक्षा अब पर्याप्त छैन । शिक्षाको भाष्य, विधि, प्रविधि र व्यावहारिकता सबै नै आमूल परिवर्तनका व्यग्र प्रतीक्षामा छन् । धेरैजसो शिक्षाविदहरू चार ‘सी’तर्फ शिक्षा ‘स्विच’ हुनुपर्छ भनिरहेका छन्, क्रिटिकल थिङ्किङ, कम्युनिकेसन, कोल्याबोरेसन र क्रिएटिभिटी ।
बुझ्न जरुरी भयो कि बाँच्नका लागि संज्ञानात्मक शिक्षा मात्र उपयोगी नहुने भयो, जीवन निर्वाह र एआई अनुकूलनका लागि पनि निरन्तर सिकाइ र सामथ्र्य विकास गर्नु आवश्यक हुने भयो । डाटा डिक्टेटरसिपले वर्ग र पुस्तालाई सीमान्तीकरणमा पार्नसक्छ । एल्गोरिदम संयन्त्रले मानिसले भन्दा छिटो मानिसलाई बुझ्छ, उसका क्रियाकलाप र उसले जनाउने प्रतिक्रिया बुझ्छ । त्यसलाई नियन्त्रण गर्नसक्ने शिक्षा र सीपको माग एआई अर्थतन्त्रले गरेको छ । शिक्षा अग्रदर्शी मुलुकहरू स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) शिक्षा विस्तार गरी एक्काइसौँ शताब्दीको माग पूरा गर्ने लागिरहेका छन् । ताकि रोबोटिक्सले विस्थापन गरेको रोजगारीभन्दा माथि रोजगारीका थप अवसरको मज्जा लिने सामथ्र्य विकास हुन सकोस् । शिक्षामा नवप्रवर्तनको ढोका खोल्छ, यो नै नवप्रवर्तनमुखी सरकार र एआई अर्थतन्त्रको पनि आधार हो ।
(लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?