logo
२०८१ बैशाख ८ शनिवार



समृद्धिका विश्वव्यापी मान्यता

विचार/दृष्टिकोण |




प्रेमराज सिलवाल

मानिस कसरी सुखी हुन सक्छ भन्ने बारेमा आ–आफ्ना सामाजिक मूल्य, विचार र व्यक्तिका विश्लेषणअनुसार फरक–फरक व्याख्या हुन सक्छन् । यस्तो मानवशास्त्रसँग जोडिएको विषयमा म्याथ (गणित) र साइन्स (विज्ञान)को जस्तो एउटै उत्तर नआउन सक्छ । तर, इतिहासदेखि नै दार्शनिक तथा विद्वान्हरूले यसमा आफ्ना अध्ययनलाई केन्द्रित बनाउँदै आएको देखिन्छ । इ.पू. ३८० मा दार्शनिक अरिस्टोटलले निकोम्यान इथिक्समा‘मानव चाहनाको पूर्ति र आनन्दको अवस्था’ लाई सुखी भनेका थिए । रिपब्लिका भन्ने चर्चित पुस्तकमा दार्शनिक प्लेटोले ‘जो नैतिकवान् हुन्छ, उही खुसी र सुखी हुने’ तर्क गरेका छन् । नेपालमा २६ सय वर्षअघि नै गौतम बुद्धले ‘मनको शान्ति’ नै मानव सुखी हुने आधार भएको उल्लेख गरेका थिए ।
आधुनिक युगको चर्चा गर्दा सन् १७७६ को अमेरिकी स्वतन्त्रता सङ्ग्रामको घोषणामा थोमस जेफरसन (१७४३–१८२६) ले ‘परस्युइट अफ ह्यापीनेश’ लाई मानिसको स्वतन्त्रतासँगै बढी महìव दिएर राखेका छन् । बेलायतका विख्यात विधिशास्त्री जेरेमी बेन्थम (१७४८–१८३२) ले कानुन र विधिशास्त्रको व्याख्या गर्ने क्रममा कानुनले मानिसलाई ‘युटिलिटी’ वा उपयोगिताको पक्षलाई महìव दिनुपर्ने उल्लेख गरेका छन् । उनले ‘ग्रेटेस्ट ह्याप्पीनेश अफ द ग्रेटेस्ट नम्बर अफ द पिपुल’ अर्थात् बहुसङ्ख्यक जनताको खुसीलाई उन्नत्त विधिशास्त्र र कानुनको प्रमुख आधार मानेका थिए । कानुनले ‘पेन’ लाई ‘एभ्वाइड’ गरेर ‘प्लेजर’ लाई बढाउन सक्नुपर्ने अर्थात् दुःख कम गरेर खुसी ल्याउने कुरालाई जोड दिएका थिए । अक्सफोर्ड अङ्ग्रेजी डिक्सनरीमा ‘सुखी मानसिक उत्तेजनाको त्यो अवस्था हो, जसमा जीवनको खुसी, आनन्द प्राप्त हुन्छ’ भनी उल्लेख गरिएको पाइन्छ । यसरी हेर्दा मानिस स्वस्थ्य भएर बाँच्ने, परिवार, मानवीय आवश्यकताको परिपूर्तिसहित मानवको इच्छा र चाहनाको पूर्ति हुन सक्ने अवस्थामा सुख प्राप्त हुने सुनिश्चित बन्ने स्थिति रहन्छ ।
जर्मनका तत्कालीन दार्शनिक हेगेल (१७७०–१८३१) ले‘आइडालिज्जम’ अर्थात् आदर्शवादबाट मानवको सबै आवश्यकता पूर्ति हुने भन्दै धनी–गरिब हुने कुरालाई धर्म र पापसँग जोडिदिएका थिए । तर जर्मनकै अर्का चर्चित दार्शनिक कार्ल माक्र्स
(१८१८–१८८३) ले आइडालिज्जमको ठाउँमा ‘मेट्रालिज्जम’ को वकालत गर्दै द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको प्रतिपादन गरी धर्मलाई अफिमसँग तुलना गर्दै त्यसको चर्काे विरोध गरे । उनले धनी र गरिब हुने कुरा वर्गीय शोषण हो भनी ठोकुवा गरिदिए । त्यसले आधुनिक दुनियाँमा एउटा हलचल ल्याइदियो । संसारभर श्रमिक आन्दोलनहरू हुनेक्रम बढ्न थाल्यो । जसको कारणबाट संसारभरमा मानिंदै आएको खुसीको व्याख्या, परिभाषा र बुझाइमा आमूल परिवर्तन आउन थाल्यो । भौतिक र विज्ञानवाद, स्वतन्त्रता र प्रगतिको वकालत विश्वभर हुनथाल्यो । विज्ञानवादले आर्थिक र भौतिक सम्पन्नतालाई सुखीको आधार मान्न थाल्यो । आर्थिक भौतिक सन्तुष्टिको साथ, जीवनको सन्तुष्टि, सामाजिक र मनोवैज्ञानिक विषयका साथै नवीन विचारको रूपमा ‘फ्रिडम एण्ड सेल्फ कन्ट्रोल’ जस्तो अवधारणलाई ‘ह्यापीनेस’ अर्थात् सुखीको मूल आधार मान्न थालिएको देखिन्छ ।
ज्यान ज्याक रूसो, इम्युनल कान्ट, जेरेमी बेन्थम, जोन लक, रोनाल्ड डोर्किन, एच.एल.ए. हार्ट, जोन रावल, अमत्र्य सेनजस्ता थुप्रै दार्शनिक र विधिशास्त्रीले मानिसको स्वतन्त्रता, न्याय, प्रजातन्त्र, विधिको शासन, मानव अधिकार र सहभागितामूलक प्रणालीको वकालत गरेका छन् । हार्टले राज्य प्रणालीलाई र शासकलाई एउटा कम्पनीसँग तुलना गर्दै शासक र नागरिकको शासन प्रणालीमा समान सेयर हुने कुरामा जोड दिएका छन् । उनले जसरी एउटा कम्पनीमा लगानी गर्ने सबै समान अधिकार भएका सदस्य भएजस्तै शासकले पनि एउटा ‘गनम्यान’ ले बैङ्कको खजाञ्चीको कन्चटमा बन्दुक देखाएर बैङ्क लुटेको जस्तो व्यवहार गर्न नसक्ने उल्लेख गर्दै समान सहभागिता र अधिकारमा जोड दिएका थिए । खुसीलाई नाप्ने र व्याख्या गर्ने आ–आफ्नै सामाजिक तरिका भए पनि विश्वमा यो बढी विवादित रहँदै आएको विषय पनि हो । तर पनि विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले यसमा लामो अध्ययन र अनुसन्धान गर्दै प्रतिवेदनहरू सार्वजनिक गर्दै आएका छन् ।

सुखीको विश्व प्रतिवेदन
‘वर्ड ह्याप्पी रिपोर्ट’ ले सन् २०१८ मा प्रकाशित गरेको १५६ मुलुकको अध्ययन प्रतिवेदनअनुसार विश्वको एक नम्बरमा फिनल्याण्ड सबैभन्दा बढी सुखी हुने मुलुकमा रहेको थियो । त्यसपछि क्रमश ः नर्वे, डेनमार्क, आयसल्याण्ड, स्वीजरल्याण्डजस्ता मुलुक छन् । सुखी हुने मुलुकमा सबैभन्दा माथि युरोपेली मुलुकहरू देखिनुले विकास, समृद्धि र खुसीको सम्बन्ध हुने कुरालाई सङ्केत गरिरहेको पाइन्छ । नेपाल सो प्रतिवेदनको १०१ औँ नम्बरमा रहेको थियो । सोही संस्थाको सन् २०१७ को प्रतिवेदनमा भने नर्वे विश्वको एक नम्बर सुखी हुने देशको सूचीमा रहेको थियो । जसमा त्यसपछि क्रमशः ः डेनमार्क, आइसल्याण्ड, स्वीटजरल्याण्ड, फिनल्याण्ड आदि मुलुकहरू विश्वका सर्वाधिक सुखी हुने मुलुकमा रहेका थिए । नेपाल भने ९९ औँ नम्बरमा रहेको थियो । नेपाल एक वर्षपछि अर्थात् सन् २०१८ मा दुई स्थान तल झरेर १०१ मा पुगेको प्रतिवेदनमा उल्लेख गरिएको देखिन्छ । प्रतिवेदनको अनुसन्धानमा प्रतिव्यक्ति आय, सामाजिक सम्पत्ति, स्वास्थ्य जीवन, स्वतन्त्रता, भ्रष्टाचारजस्ता विषयलाई आधार बनाइने गरिएको पाइन्छ । सन् २०१९ को प्रतिवेदनमा समेत युरोपियन मुलुकहरू सुखीमा अगाडि रहेका छन् ।

समृद्धि र निजी स्वतन्त्रता
खुसीका लागि अनिवार्य बनेर जोडिने अर्काे महìवपूर्ण विषय समृद्धि हो । चिल्ला सडक, ठूला–ठूला भवन, उद्योग–व्यापार र धन सम्पत्ति समृद्धिका सूचकहरू हुन् तर मानिसका लागि ती मात्र पर्याप्त छैनन् । क्याम्ब्र्रिज विजिनेस डिस्नेरीकाअनुसार समृद्धि भन्नाले–
‘त्यस्तो अवस्था जहाँ जनतासँग सफलता तथा पर्याप्त आर्थिक साधन–स्रोत होस्’ भनिएको छ । आजको आधुनिक समाज र मान्यताले पनि मानिसको निजी स्वतन्त्रतालाई समृद्धिका लागि अनिवार्य तìव मानेको देखिन्छ । मानिसका स्वतन्त्रतासँगै सामाजिक अवस्थामा वृद्धि गर्ने कुरा जसमा धन मात्र होइन, सुखी र स्वास्थ्यकोे स्तरसमेत माथि उठ्न सकेको हुुनुपर्छ । मानिसहरूले धन–सम्पत्तिलाई बढी महìव दिएका कारण धेरै धन हुने व्यक्तिलाई मूल्याङ्कन गरी समृद्धिको आधार मान्ने गरिएको भए पनि त्यो विचार आजको बदलिँदो समाजमा खण्डित भएको छ । धेरै धन आर्जन गर्नका लागि धेरै समय काम गर्नु आवश्यक पर्छ भन्न सकिन्न किनकि त्यसले मानिसको स्वास्थ्य खराब हुन सक्छ । आत्माको सन्तुष्टि र चैन नभई थुपारेको धनको अर्थ हुन्न । बुद्धिज्ममा समेत आत्मिक समृद्धिलाई जोड दिइएको पाइन्छ । तर पुँजीपति मान्यताले धनलाई प्रधानता दिने गरेको देखिन्छ ।

निष्कर्ष
पुँजीवादी दर्शनको वकालतमा खरो उत्रने म्याक्स वेभरले दार्शनिक कार्ल माक्र्सलगायतको सिद्धान्तको चर्काे आलोचना गर्दै मानिसको समृद्धिको एउटै मात्र बाटो ‘वेष्टर्न सिभिलाइजेसन’ (पश्चिमा सभ्यता)का मान्यतालाई स्वीकार गरी पुँजीवादी बाटोमा अघि बढ्नु हुने उल्लेख गरेका थिए । तापनि त्यसपछिका थुप्रै अध्ययन र दार्शनिकहरूले समृद्धिका लागि आर्थिक पक्षमा मात्र जोड नदिई व्यक्तिको निजी स्वतन्त्रता, चाहना र अधिकारको सुरक्षा र संरक्षण गर्नुपर्ने कुरालाई बढी जोड दिएका छन् । दिगो विकासको आधुनिक मान्यताले पनि समृद्धिका लागि आर्थिक वृद्धिलाई मात्र जोड दिनु नहुनेमा जोड दिन्छ । समृद्धिको आधार पनि आफ्नै खालका पाइन्छन् ।
आइएमएफ, विश्व बैङ्क, संयुक्त राष्ट्र सङ्घजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले समृद्धिको विश्वव्यापी अनुसन्धान गर्दै आएका छन् । समृद्धिका प्रमुख आधारहरूमा आर्थिक वृद्धि, नागरिक र व्यक्तिको समग्र विकास, जीवनको स्तर आदिलाई प्रमुख आधार मानिएको देखिन्छ । उल्लेखित संस्थाहरूको अनुसन्धान प्रतिवेदनअनुसार सन् २०१७ मा विश्वको समृद्ध मुलुकमा अमेरिका रहेको थियो भने दोस्रोमा जनवादी गणतन्त्र चीन रहेको थियो । त्यसपछि जापान, जर्मन, बेलायतलगायतका मुलुक समृद्धिको अग्रसूचीमा रहेका छन् । नेपाल सो सूचीमा १०५ औँ नम्बरमा थियो । समृद्धिको विश्व सूचीको अध्ययनबाट पुँजीवादी अमेरिका विश्वको एक नम्बरमा रहेको भए पनि दुई नम्बरमा जनवादी गणतन्त्र चीन रहनुले समृद्धिका लागि पुँजीवादी अर्थनीति एक मात्र सूत्र नहुने सङ्केत मिल्छ । तर सुखीको विश्व सूचीमा भने माथिल्ला सूचीका सबैजसो युरोपेली प्रजातान्त्रिक मुलुक रहनुले मानिसको लागि निजी स्वतन्त्रता, विधिको शासन, प्रजातन्त्र, मानव अधिकार, जनउत्तरदायी र जवाफदेही शासन र सरकार, संविधानवाद, नागरिक अधिकार, कानुनी शासनजस्ता मूल्यमान्यता अँगाल्ने मुलुक देखिनुले आजको आधुनिक मानिसको निजी चाहना भनेको उसको निजी स्वतन्त्रता हो भन्ने कुरालाई स्पष्ट गरेको देखिन्छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?