प्रेमराज सिलवाल
राजनीतिशास्त्र, दर्शन र ज्ञानको विश्व इतिहास हेर्दा तुलनात्मक हिसाबले युरोपियन–पश्चिमी मुलुकका दार्शनिकको विश्वमा बढी चर्चा र अध्ययन हुँदै आएको छ । दर्शन, ज्ञान र राजनीतिशास्त्रका विभिन्न विषयमा उनीहरूले दिएका विचारका कारण पनि ती देशहरू तथा समाज सबै दृष्टिले विश्वमा माथि रहेका देखिन्छन् । तिनै विद्वान् र दार्शनिकका विचार, विवेचना र दर्शनलाई आधार मानेर युरोपको फ्रान्स, बेलायत, जर्मनी तथा अमेरिकामा भएका राजनीतिक क्रान्ति तथा संवैधानिक परिवर्तनमा ठूलो सहयोग पुगेको देखिन्छ ।
बेलायती दार्शनिक थोमस हब्स (१५८८–१६७९), फ्रान्सका ज्यान ज्याक रूसो (१७१२–१७७८), बेलायतकै जोन लक (१६३२–१७०४) आदिले मुलुक सञ्चालनका लागि राज्य र नागरिकबीचमा सामाजिक करार भएर आधुनिक राज्य प्रणाली बनेको हो भन्दै प्रजातन्त्र, नागरिक अधिकार, स्वतन्त्रता, सम्पत्तिको अधिकार तथा मानवअधिकारका अनेकौँ पक्षमा आ–आफ्ना विचार तथा मान्यतालाई सार्वजनिक गरेका छन् । तिनै मूल्य र मान्यताको समेत प्रभावबाट अमेरिकामा सन् १७७६ मा अमेरिकी क्रान्ति सम्पन्न भयो । फ्रान्समा सन् १७८९ मा फ्रान्सेली राज्य क्रान्ति भएको थियो । विश्व राजनीतिशास्त्रमा ती दार्शनिक तथा क्रान्तिको विश्वव्यापी प्रभाव रहेको छ । यसअघि सन् १२१५ मा राजाको अत्याचारको विरोधमा म्याग्नाकार्टा नामको कानुनमा हस्ताक्षर गर्न राजा जोन (११६६–१२१६) बाध्य भएका थिए । त्यसले विश्वमा नागरिक शासनको मूल्य र मर्मलाई स्थापित गर्ने कामको थालनी गरिदियो ।
विश्व राजनीतिशास्त्रीय दर्शन, सिद्धान्त तथा मूल्यको विकासमा युरोपको महŒवपूर्ण भूमिका रहेको भए पनि विश्वका अन्य मुलुकका विचारक, दार्शनिक, विद्वान्, राजनीतिक नेता तथा विधिशास्त्रीको पनि आफ्नैखालको ज्ञानको क्षेत्रमा अर्थपूर्ण प्रभाव पारेका छन् । यस्तै अद्भुत ज्ञानको क्षमता, विचार, सैद्धान्तिक, दार्शनिक विश्लेषणसहितको अध्ययनको क्षेत्रको दृष्टिकोणले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि लिन सकिन्छ । लिनुपर्ने हुन्छ । सो कुरा उहाँका विचार, ज्ञान तथा विवेचनात्मक–विश्लेषणात्मक दक्षताबाट प्रमाणित भइसकेको छ, भइरहेको छ । यदि युरोप–अमेरिकी र विकसित मुलुकमा त्यो विश्लेषणात्मक–विवेचनात्मक ज्ञान तथा क्षमताको नेता प्रधानमन्त्री भएका हुन्थे भने सो विषय विश्वव्यापी चर्चा एवम् महŒवपूर्ण अध्ययनको विषय बन्थ्यो । भूराजनीतिमा अर्थतन्त्र र अन्तर्राष्ट्रिय शक्तिको बढी प्रभाव तथा अर्थ हुने भएकाले नेपालका प्रधानमन्त्रीलाई विश्वस्तरमा पाउनुपर्ने चर्चा मिल्न सकेको छैन ।
प्रधानमन्त्री ओलीलाई दर्शन एवम् ज्ञानको खानी र एकप्रकारले विश्वविद्यालय नै भन्दा हुन्छ । किन यस्तो भन्नुपर्ने हो ? त्यसका आधार र तर्क के छन् भन्ने कौतूहल हुन सक्छ । वास्तवमा प्रधानमन्त्री ओलीमा जति ज्ञान, सूचना, जानकारी र स्रोतको विवेचनात्मक–विवेचनाको क्षमता छ, समकालीन नेपाल र दक्षिण एसियामा त्यो अद्भुतखाले ज्ञान सम्भवतः कसैमा छैन ।
जीवन दर्शन, भूराजनीति, इतिहास, पूर्वीय दर्शन, विज्ञान, कला, संस्कृति, समाजशास्त्र, राजनीतिशास्त्र, मानव सभ्यता, विकास, लोकतन्त्र तथा नयाँ विश्वमा आएका नवीन प्रकारका अवधारणा एवम् मान्यता आदिको क्षेत्रमा प्रधानमन्त्री ओलीमा अद्भुत ज्ञान–विश्लेषणात्मक क्षमता रहेको देख्न सकिन्छ । तसर्थ, त्यो उहाँमा भएको ज्ञान नेपालको आफ्नो बौद्धिक सम्पत्ति तथा गौरवको कुरा पनि हो, जसमा नेपालीको बढी हक लाग्छ ।
त्यो ज्ञानको भण्डार र अद्भुत विवेचनात्मक क्षमतालाई मुलुकको भविष्यका युवा पुस्ताका लागि पनि आवश्यक हुनेगरी कसरी जोगाएर सङ्ग्रहित गर्न सकिन्छ भन्ने महŒवपूर्ण कुरा हो । ती उल्लिखित क्षेत्र र ज्ञानका सन्दर्भमा पछिका दिनहरू अध्ययन–अनुसन्धान गर्नेका लागि उहाँ जिउँदो हुँदै एउटा खोजमूलक तथा अनुसन्धानमूलक प्रतिष्ठान स्थापना गर्नुपर्ने देखिन्छ । सोही अनुसन्धान प्रतिष्ठान (एकेडेमी) को माध्यमबाट पहिले प्रधानमन्त्री ओलीमा भएका हरेक क्षेत्रका ज्ञान, अनुभव र विवेचनाका विषयलाई विभिन्न प्रकारले सङ्कलित र सङ्ग्रहित गरी एउटा अध्ययनको स्रोत–सामग्री बनाउन सक्नुपर्छ । त्यो हुन सक्यो भने त्यो कुरा नवपुस्ता सबैका लागि एउटा महŒवपूर्ण अध्ययन–अनुसन्धानको विषय बन्न सक्छ ।
विश्वमा पनि यस्ता अद्भुत प्रतिभा र क्षमता भएका ऐतिहासिक नेता, विचारक र दार्शनिकका नाम जोडेर उहाँहरूको ज्ञान, अनुभव र विचारलाई सङ्ग्रह गर्ने गरिएका छन् । ग्रीक दार्शनिक प्लेटोका नाममा अनेकौँ संस्था रहेका छन् र विभिन्नखाले पुस्तक प्रकाशित छन् । पूर्वीय दर्शनकै चाणक्यका कैयौँ पुस्तक विभिन्न भाषामा प्रकाशित छन् । नेपालकै गौतम बुद्धका मानव मूल्य र शान्तिसँग सम्बन्धित पुस्तक विश्वमा पुगेका छन् । जर्मनीका दार्शनिक जर्ज विल्डेज फ्रेडरिक हेगेल (१७७०–१८३१) लाई आदर्शवादी चिन्तनका क्षेत्रमा चर्चित मानिन्छ । जर्मनीकै विश्व चर्चित दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) लाई साम्यवादी विचारका प्रणेता मानिन्छन् र उनका रचना विश्वका सबैजसो विश्वविद्यालयमा अनिवार्य पढाइ हुने विषयमा पर्छ । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन (१८०९–१८६५) प्रजातन्त्र र नागरिक अधिकारको क्षेत्रमा विश्वभर लिइने नाम हो । विकासको सूत्रधारका रूपमा सिङ्गापुरका लि क्वान यु (१९२३–२०१५) लाई लिइन्छ । उनीहरूका विचार, मूल्य, दर्शन तथा धारणा खोजी–खोजी पढिन्छन् । प्रधानमन्त्री ओलीका विचार र धारणालाई किन त्यो तहको अध्ययन सामग्री नबनाउने ? हामी नेपालीले त्यो कार्य गर्न सक्नुपर्छ ।
नेपालको राजनीतिक क्षेत्रमा पनि बीपी कोइराला (१९१४–१९८२) कम्युनिस्ट नेता मदनकुमार भण्डारी (१९५१–१९९३) लाई युगद्रष्टा एवम् जनवादी विचारकका रूपमा लिइन्छ र उहाँहरूका नाममा पनि विभिन्न संस्था क्रियाशील भई विभिन्नखाले खोज–अनुसन्धान गर्ने गरिएका छन् । जहाँसम्म प्रधानमन्त्री ओलीको कुरा छ– विचार, विवेचना र वृहत् क्षेत्रको ज्ञान आदिको हिसाबले हेर्ने हो भने नेपालमा उहाँजस्तो विश्लेषणको क्षमता भएको नेता इतिहासमा जन्मिएको छैन र सम्भवतः भविष्यमा पनि जन्मन्छ नै भन्न कठिन छ । उहाँका विचार र अनेकप्रकारका ज्ञानको भण्डारलाई अझै उत्खनन गर्दै खोज र अनुसन्धानको सामग्री बनाउन ढिला गर्नुहुन्न । यसमा कसैले के भन्ला वा आलोचना गर्ला भन्ने सोच्नुपर्दैन । असल उद्देश्य र नियतले राम्रो कामको थालनी अहिल्यै गर्दा हुन्छ ।
युगपुरुष जहिल्यै जन्मदैनन् । त्यसो भएकाले त्यो तहको नेता तथा विचारक ज्युँदै छँदै त्यो कार्य गर्नुपर्छ । यसको उहाँमा भएको तर बाहिर सार्वजनिक भइनसकेका अनेकौँ विचार, ज्ञान, सन्दर्भ, अनुभव तथा मानवजीवन एवम् समाजका लागि अति उपयोगी विषय हुन सक्छन् । उहाँ बाँचेकै अवस्थामा त्यस्ता ज्ञानको खोजी उहाँकै मुखबाट लिन सक्नुपर्छ र त्यस्ता विचार आगामी युगका लागि मूल्यवान र अर्थपूर्ण विचार हुने भएकाले त्यसको उचित र आवश्यक संरक्षणसहित व्यवस्थित तथा आधुनिक ‘डकुमेन्टेसन’ गर्नुपर्छ । अद्भुत क्षमता भएका प्रधानमन्त्रीलाई अब एउटा दलविशेष र समूहविशेषको साँघुरो घेराबाट मुक्त गर्नुपर्छ । उहाँमा भएको प्रचुर र अद्भुत ज्ञानको भण्डारबाट राजनीतिशास्त्र, समाजशास्त्र, मानवजीवन, विभिन्न दर्शन तथा प्रजातन्त्रका विभिन्न पक्षको सेरोफेरोमा आउने दार्शनिक विवेचना भोलिको नेपाली समाजका लागि अत्यावश्यक छ र रहिरहनेछ ।
विश्वका र खासगरी युरोपियन दार्शनिक विचार, राजनीतिक घटना र क्रान्ति, राजनीतिक नेता तथा विचारकलाई हामी उच्च महŒव दिएर अध्ययन गर्दै छौँ, गर्न बाध्य पनि छौँ । सोही कोटीको विवेचनात्मक क्षमता र ज्ञान भएका नेपालका प्रधानमन्त्रीको ज्ञानलाई नेपाली समाज र देशको हितमा प्रयोग गर्दा सङ्कोच र अप्ठेरो मान्नुपर्ने कुरा केही छैन । दुईवटा मिर्गौला फेरेर पनि पूर्ण स्वास्थ्य र साहसपूर्वक राजनीतिक नेतृत्व दिन सफल भएका प्रधानमन्त्रीलाई कुनै पनि दिन केही हुँदैन भनेर जीवनविज्ञानको दृष्टिकोणबाट भन्न सकिने अवस्था नभएकाले यो कार्यमा ढिला गर्नुहुन्न । हामीले हाम्रो माटोको माया गर्ने, माटोमा हुर्केको, अनुभवी विचारक नेतालाई किन कार्ल माक्र्सजस्तै विचारकको दर्जा नदिने ? जब कि राजनीतिशास्त्र र ज्ञानको भण्डार नै उहाँमा रहेको विभिन्न विश्लेषणबाट प्रमाणित भएकै कुरा हो ।
(लेखक मानवअधिकारको दृष्टिकोणले नेपालको संविधानको विश्लेषणात्मक अध्ययन विषयमा विद्यावारिधिको शोधरत हुनुहुन्छ ।)