भागवत खनाल
तराईमा होलीको रमाइलोमा हुन जाने किञ्चित अश्लीलतालाई लिएर भन्ने चलन छ, “बुरा नामानो होली है ।’’ यसै कुरालाई पश्चिम पाल्पामा पर्ने विशेषगरेर रिप्दिकोट गाउँपालिकामा भन्ने गरिन्छ, “राजाको फाउ हो, त्यसपछि यहाँ उल्लेख गर्न नमिल्ने अश्लील शब्द) सितले ।’’
होलीको समय वसन्त फुल्ने, खुल्ने र युवकयुवतीमा प्रणय अभिलाषा प्रस्फुटन हुने समय । कताकता प्रेम गर्न, अलिकता उत्ताउलिन र छाडा हुन मन लाग्ने ऋतु । दवित इच्छालाई फागुको निहँुमा चिच्याइ–चिच्च्याइ कराएर भए पनि प्रकट गर्दै मन हलुका गराउने अवसर । किशोरहरूमा नवीन यौवनको अङ्कुर फुटेर बाहिर निस्किने उन्मत्त बेला । कामदेव जगाउने गीतमा रम्दै मनाइने रसिलो मदनोत्सव । सिक्रै भएर नाङ्गै उभिएका वृक्षहरूमा नवमञ्जरी र कोपिला पल्लवित र पुष्पित हुँदा माहुरीले रस लिने र कोइलीले प्रणयगीत गाउने मादक वसन्तोत्सव । वनमा वासन्ती छाउँदा वातावरण नै “मस्ताना’’ र मारक भएका बखतमा अज्ञात पात्रलाई सम्बोधन गर्दै प्रणयकामनाका गीतहरू गुञ्जिने मुहूर्त ।
बस्तीको नजिकमा शालीन, सामाजिक र शास्त्रीय फागुगीत गाउनुपर्छ ।
पहिलो गरिभ ह¥यो कङ्श राजाले
पहिलो गरिभ ह¥यो कङ्श राजाले
एहो ! दोसरी गरिभको आशा रह्यो भगवान्
देवकी रानी धुरुधुरु रोई
बस्तीबाट ओझेल हुनासाथ सुरु हुन्छ उन्मादी, उन्मत्त र यौनिक फागु । सभ्यताले मनुष्यलाई विनयशील हुन सिकाउँछ । किन्तु हमेसाको विनयशील जीवनमा रस हुँदैन । मौकामा कामोत्तेजक यौनिक कुरा गर्दा जीवन रसमय हुन्छ, दुःख बिर्सिन्छ, हाँस्न पाइन्छ र थकान मर्छ ।
“राजाको फाउ’’ भन्नुको अर्थ हो, फागुविशेष बेलामा र विशेष स्थानमा मनमा गुम्सिएका मादकता र व्यक्त गर्न मन लागेका रमाइला यौनिक कुराहरू भन्न र गाउन हुन्छ भन्ने राजस्वीकृति ।
यस्ता गालीगलोजपूर्ण यौनिक गीत गाउँदा कुनै पात्रको नाम लिन मनाही हुन्छ । सबै कुरा अज्ञात र अनाम पात्रका बारेमा हुन्छन् । जसरी रत्यौलीमा पुरुषको सहभागिता वर्जित हुन्छ, त्यसैगरी रात्रिकालीन फागुमा महिलाको । फागुबाहेकको समयमा यौनिक शब्दमा गालीगलौज गर्ने र फत्तुर कुरा गर्ने कार्यलाई “फाउ गाउनु’’ भन्नुमा त्यस्ता कुरा तोकिएको समय र स्थानमा मात्र गर्नुपर्छ भन्ने सन्देश निहित छ ।
“फागुमा काठमाडौँ सहरका सडकमा गाइने गीतले भन्छ– तुँ तुँचा, मøजुया पिलाको बाँला, बागमतो बनेबले लेबो नापला । अर्थात्, कुनै अज्ञात नाम तुँ तुँचा मैयाँको पिँडुला कति राम्रा, बागमती जाँदा पनि प्रेमिका भेटिहाल्ने ।’’ (तीर्थबहादुर श्रेष्ठ) ।
भारतमा स्थानविशेष अनुसार फागु पर्वलाई होरी, रङ्गवाली होली, धुलेटी, धुलन्डी, होलिका दहन, छोटी होली, धुलेरी, वसन्तपूर्णिमा आदि नामले पुकारिन्छ । नेपालमा फागु, फाउ, होली, फागुपूर्णिमा र धुलेरी आदि नामले चिनिन्छ ।
पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकामा फरक तरिकाले फागु पर्व मनाइन्छ । काठमाडौँ उपत्यकामा फाल्गुनण शुक्ल अष्टमीदेखि सुरु हुने यो पर्व रिब्दीकोटमा वसन्तपञ्चमीदेखि नै प्रारम्भ भएको मानिन्छ । नेपालको समग्र पहाडी इलाकामा पूर्णिमाको दिनलाई फागुको मुख्य दिनका रूपमा मनाउने चलन छ । तर, पश्चिम पाल्पामा त्यसको अर्को दिन अर्थात् तराईमा जस्तै प्रतिपदाका दिन यो पर्व समापन हुन्छ ।
रिब्दीकोटको फागु अनुपम र अनन्य छ । यहाँ पूर्णिमाको दिनलाई फागुपूर्णिमा र प्रतिपदाको दिनलाई “धुलेरी’’ भनिन्छ । धुलेरी शब्द नेपालको अन्य ठाउँमा प्रयोग हुने गरेको थाहा पाइएको छैन । नेपाली वृहत् शब्दकोशमा “धुलेफागु’’ शब्द देखिन्छ तापनि धुलेरी शब्द छैन ।
भारतको राजस्थान प्रदेशमा पर्ने जालौर जिल्लाको भिनमाल भन्ने ठाउँमा प्रतिपदाको दिनलाई धुलेरीका रूपमा मनाइने गरेको पाइन्छ । पूर्णिमाका दिन सामाजिक मिलन र प्रतिपदाका दिन धुलेरी मनाउने भिनमाल र रिब्दीकोटको चलनमा कुनै “कनेक्सन’’ सम्बन्ध छ या संयोगमात्र हो, थाहा छैन । भारतकै व्रजमा पर्ने राधाको जन्मस्थल बर्सानामा खेलिने “लाठमार होली’’ (भनिन्छ– कृष्ण राधालाई भेट्न जाँदा अन्य किशोरीहरूले कन्हैयालाई लाठाले हानेर खेद्ने गर्थे) सँग पनि रिब्दीकोटको फागुको थोरै सामिप्य छ । केही वर्ष अघिसम्म रिब्दीकोटे फागुमा पनि भयानक मारपिट हुने गथ्र्याे ।
पाल्पा स्वतन्त्र राज्य रहेका बखत तराईको ठूलो भागसमेत यस राज्यभित्र पथ्र्याे । पाल्पाली राजाको शीतकालीन राजधानी बुटवलमा रहेको र राजाले होली मनाउने दिन नै सारा प्रजाले समेत मनाउने प्रचलनका कारण पहाडी इलाकामा पनि प्रतिपदाको दिन फागु मनाउने गरिएको हुन सक्छ ।
धुलेरीको अर्थ चिरदहन गरेको खरानी शरीरमा छर्केर फागु खेल्नु हो । केही वर्ष पहिलेसम्म स–साना केटा वसन्तपञ्चमीदेखि नै ट्याम्का ढोलकी भिरेर बजाउँदै र गाउँदै साँझको समयमा फागु खेल्ने गर्थे । अचेल खासगरेर फाल्गुण शुक्ल अष्टमीदेखि मात्र खेल्ने चलन छ । अष्टमीदेखि पूर्णिमासम्म प्रायः रातको समयमा बस्तीभित्र धार्मिक र सामाजिक परिवेशका गीत गाउँदै, नाच्दै फागु खेल्ने र बस्तीबाट अलि पर पुग्नेबित्तिकै अश्लील र उन्मादी गीत गाएर मनोरञ्जन गर्ने चलन थियो । सधैँ शालीन र सभ्य शब्द बोल्नुपर्छ भन्दै उपदेश दिने बाबुबाजेहरूले अत्यन्तै अश्लील शब्दका गीत गाएको सुन्दा किशोर छोरा र नातिहरू पेट मिचिमिची हाँस्थे । यही रीतले विनयी र अश्लील दुवैथरी गीतको पुस्तान्तर हुँदै गएका हुन् । अब त मनोरञ्जन र रसरङ्गको मानक नै बदलिँदो छ ।
फागुको सन्दर्भमा रिब्दीकोट गाउँपालिकाअन्तर्गत पर्ने हार्थोक बजारको पूर्वमा अवस्थित सिलङ्गीको रूखदेखि पूर्वको इलाकालाई खदुले र पश्चिमतर्फ पर्ने इलाकालाई खस्यौले भन्ने गरिन्छ । प्रसिद्ध कालभैरवको मन्दिर खदुले इलाकामा पर्छ । धुलेरीका दिन खस्यौलेहरू बाजागाजासाथ विभिन्न समूहमा विभक्त भई नाच्दै, गाउँदै भैरवको दर्शन गर्न जान खोज्ने र खदुलेले जे जसरी हुन्छ, उनीहरूलाई भैरवस्थान पुग्न नदिने प्रयास गर्ने हुँदा भयानक झडप हुने गथ्र्याे । झडपमा परेर फागु खेलाडीले ज्यान गुमाएको इतिहास छ । सारा तीतोपिरो भुल्दै पुरानो दुश्मनीलाई “होलीमिलन’’को माध्यमबाट मित्रतामा रूपान्तर गर्ने समन्वयकारी फागुमा यस्तो मारपिट गर्नुका कारण अज्ञात छ । किन्तु यस्तो द्वन्द्व हुनुमा ऐतिहासिक मनोविज्ञानले काम गरेको अनुमान गर्न सकिन्छ ।
कालभैरवको मूर्ति पाल्पाली राजा मुकुन्द सेन (प्रथम)ले काठमाडौँबाट ल्याएका थिए । सायद कुन ठाउँमा मूर्ति राखेर मन्दिर बनाउने भन्ने विषयमा छलफल र विवाद भयो । हाल भैरवस्थान रहेको डाँडोभन्दा पश्चिममा पर्ने कोत्रेको डाँडो भैरवस्थानभन्दा समथर र विस्तृत छ । सायद खस्यौलीतर्फका मानिस आफ्नो इलाकाभन्दा बाहिर मन्दिर बनाइएकोमा दुःखी र क्षुब्ध थिए । यही मनोविज्ञान पछि गएर झडपका कारण बन्यो र कालान्तरमा परम्परा । अहिले लडाइँ झगडा हराएर शालीन फागु खेल्ने प्रचलन कायम भएको छ । प्रतिस्पर्धाको त्यो रोमाञ्चक युगको सुखद अवशान भयो ।
साबिकमा रिब्दीकोटभित्र पर्ने धेरै गाउँमा चिरदहन गर्ने गरिन्थ्यो । मेहलको बलियो र अग्लो हाँगोलाई चिरका रूपमा गाडिन्थ्यो । चिरदहनको समयमा जतातर्फ चिर ढल्छ, त्यतैतर्फको मानिसको मृत्यु हुन्छ भन्ने लोकविश्वासले गर्दा खस्यौलेतर्फकाले खदुलेतिर र खदुलेतर्फकाले खस्यौलेतिर ढल्काएर चिर गाड्ने गर्थे । अहिले त कतिपय ठाउँमा चिर नै गाड्नै छाडे । रमाइलो फागु खेल्ने र जोश एवम् उन्माद भर्ने लाहुरे पनि छैनन् । जोशिला, हिम्मती र झडपप्रेमी युवकको युग पनि समाप्त भयो ।
यहाँको फागुको रोमाञ्चक विशेषता नै अज्ञात पात्रलाई केन्द्रबिन्दु बनाएर अश्लील गाली गर्नु हो । वनमा गाई चराउने गोठालो होस् या दाउरा काट्ने बन्चरे, सबैले बीच–बीचमा अनाम पात्रलाई सम्बोधन गर्दै तथानाम गाली गर्थे । प्रायः यौनसम्बन्धी इच्छा व्यक्त गरिएका ती सम्बोधनलाई फागुको समयभरि सामान्य मानिन्थ्यो । जसरी महिलाको अश्लील पर्व दुलही लिन गएको दुलाहाको घरमा रत्यौली खेलेर मनाइन्छ, त्यसैगरी पुरुषको अश्लील तर समाजले स्वीकार र सम्मान गरेको पर्व वनपाखा र बस्तीभन्दा पर मनाइन्थ्यो । अहिले न गोठाला छन् न त त्यो अश्लील पर्व ।
रातको समयमा फाट्टफुट्ट खेलिने फागुमा बाजाको तालमा त्यस्ता उन्मत्त गीत गाउन जान्ने केही बूढाहरूमात्र बाँकी छन् । अब त बूढा मरे भाखा सरे भन्ने उक्ति नै असान्दर्भिक हुने सम्भावना छ । धुलेरीका दिन निकालिने शालीन फागुका लागि गाउँपालिकाले सानोतिनो सहयोग गरेर संस्कृतिको जगेर्ना गर्ने प्रशंसनीय जमर्को गरेको छ ।
(लेखक नेपाल सरकारका पूर्वसहसचिव हुनुहुन्छ ।)