भागवत खनाल
सुत्केरी हुन माइततर्फ प्रस्थान गरेकी महारानी महामाया माइत नपुग्दै लुम्बिनी वनमा सुत्केरी भइन् । पुत्रप्राप्तिले अत्यन्तै अह्लादित भएका राजाले भने, “यो बालकले हाम्रो इच्छा सिद्ध गरिदियो । अतः एवम् यसको नाम सिद्धार्थ भयो ।’’
कालदेवल ऋषि शिशुलाई अविरल हेर्दै रुन थाले । ऋषि रोएको देखेर राजा शुद्धोदन विह्वल भए । ऋषिले राजातर्फ हेर्दै भने, “राजन ! यो शिशु संसारलाई सत्यको मार्ग देखाउने महामना गुरु हुनेछ । म रुनुको कारण हो यसले दिने ज्ञान ग्रहण गर्न म यस संसारमा हुने छैन ।’’
राजा गम्भीर भए । सबैले मातापिता योगी, बुद्ध र बोधिसत्वको सम्मान गर्छन् । आफ्ना सन्तानलाई सद्गुरु, योगी र महात्माको उदाहरण दिएर सच्चा बन्न प्रेरित गर्छन् । परन्तु कोही पनि आफ्नो सन्तान साधु, सन्त या बुद्ध बनोस् भन्ने चाहना राख्दैनन् ।
राजप्रासादको नजिकैको खेतमा खेतिपातीको ऋतुअघिको प्रथम जोताइ समारोह भइरहेको थियो । ब्राह्मणहरू वेदका ऋचा वाचन गरिरहेका थिए । बालक सिद्धार्थले आमा (सानिमा) प्रजावतीलाई सोधे, “किन ब्राह्मणहरूमात्र वाचन गर्दै छन् ? किन मेरा पिताजी वाचन गर्दैनन् ?’’ आमाले वेद वाचन गर्ने अधिकार ब्राह्मणलाई मात्र हुने कुरा बताइन् । किन्तु बालकको चित्त बुझेन ।
खेत जोत्दा हलोको डोबमा गँड्यौला र कीरा निस्किरहेका थिए । सिद्धार्थले ती स–साना कीरालाई चराले टिपेर खाएको देखे । उनले फेरि देखे, एउटा ठूलो चरो आएर सानो चरोलाई टिपेर लग्यो । सिद्धार्थ सोचमग्न भए ।
सिद्धार्थ मेधावी थिए । ऋग्वेद र अथर्व वेदमा उनको विशेष दख्खल थियो । वेदान्तको अद्योपान्त अध्ययन र अनुशीलन गर्दै साहित्य, कला र सङ्गीतमा प्रवीणता हासिल गरे ।
सिद्धार्थ राजसन्ततिले यात्रा गर्ने राजमार्ग छाडेर भित्री गाउँको निरीक्षणमा गए । गाउँमा गिरिबी, रोग र पीडा देखे । वृद्ध, अपहेलित र रोगीहरू देखेर उनी विचलित भए । उनले आफ्नै अगाडि मानिस मरेको देखे । दरबारले जुन कुराबाट टाढा राख्न खोज्थ्यो, त्यही कुरा हेर्न उनी गाउँ पस्थे । अकिञ्चन मटमैला अनुहार, चिथरा लुगा र टीठलाग्दा बालबालिका देखेर उनलाई आफू सुकिलो राजकुमार हुनुमा ग्लानि महसुस भयो ।
सिद्धार्थको विवाह भयो, पत्नी यशोधरालाई असीम प्रेम गरे । छोरा जन्म्यो । छोरालाई काखमा उठाएर भने “राहुल !’’ तर, हृदय हलुङ्गो थिएन । शक्तिका लागि दरबारिया उठापटक, धर्मभीरू जनतामाथि पुरोहिती शोषण, गरिब र अछूतलाई गरिने विभेद र वन्चना, सम्पत्तिको लोभ र समाजमा व्याप्त व्यभिचार देखेर उनी धेरै दुःखी भए ।
सिद्धार्थले पिता शुद्धोदनलाई प्रस्ट भनिदिए, “रजगद्दीमा बस्नु मेरा लागि आगोको भुङ्ग्रोमाथि बसेसरह हुनेछ ।’’ पूर्णिमाको रात । दरबारमा भेटघाट र नाचगान समारोहको आयोजना गरिएको थियो । सिद्धार्थले पाहुनाको न्यानो स्वागत गरे तर खानपिन र नृत्यको वास्ता नगरी बाहिर एकान्तमा पूर्णचन्द्रसँग वार्तालाप गर्दै थिए ।
सिद्धार्थ सुतिरहेका यशोधरा र राहुललाई एक नजर हेरेर अज्ञानलाई नाश गरी सत्य र ज्ञानको ज्योति खोजी गर्ने सुदृढ अठोटसाथ निस्के ।
छन्दक र सिद्धार्थ बिहान चराले चिरबिर गर्ने बखतसम्म धेरै टाढा पुगिसकेका थिए । उनीहरू घोडाबाट ओर्ले । सिद्धार्थले बायाँ हातले आफ्नो सुन्दर चुल्ठो समाते, दायाँ हातले तरबार समातेर चुल्ठो काटे, गहना फुकाले र छन्दकलाई भने, “मेरो चुल्ठो, तरबार र गहना मेरा पितालाई बुझाइदिनू ।’’
सिद्धार्थ घना वनको बाटो लागे अज्ञात गन्तव्यको यात्रामा । एउटा साधुभेषको सिकारी देखियो । सिद्धार्थले सोधे, “साधुको भेषमा आखेट ?’’ सिकारीले जवाफ दियो, “हे युवक ! साधुको भेषमा हिँडेपछि सिकार डराउँदैन ।’’ सिद्धार्थले भने, “मेरो राजसी लुगा लैजाऊ र यसलाई बेचेर व्यवसाय गर । तिम्रो साधु वस्त्र मलाई देऊ ।’’
त्यो रात वनमा बास गरेपछि अकस्मात् फेलापरेको साधुको पिछा गर्दै उनी वैशाली पुगे । वैशालीमा ठूला साधुको प्रवचन सुने, पहिलोपटक भिक्षा मागे । जे खोजेका थिए, त्यो प्राप्त नभएपछि उनी त्यहाँबाट पनि हिँडे । भोकै बसेर घोर तपस्या गरे सिद्धार्थले । एक दिन अचेत भएर ढलेका उनको मुखमा कसैले मीठो दूध राखिदियो । सिद्धार्थ उठेर बसे र दुई कचौरा खीर खाए । खीर खुवाएर सिद्धार्थको प्राणपखेरु उड्नबाट जोगाउने पात्र थिइन– सुजाता । यो देखेर सिद्धार्थका पाँचजना साथी पथभ्रष्ट भयो भन्दै उनलाई छाडेर गए ।
सिद्धार्थले अनुभव गरे– कुनै पनि कुरामा अति गर्न‘ ठीक रहेनछ । शरीरलाई अति विषयभोगमा लिप्त गराउनु र अति दुःख दिनु दुवै कुरा खराब रहेछन् । यस घटनाबाट उनलाई मध्यममार्ग नै सच्चा मार्ग रहेछ भन्ने बोध भयो ।
कहिले उरुवेलाका बालबालिकाले दिएर र कहिले भिक्षा मागेर स्वल्पाहार गर्थे उनी । पीपलको रूखमुनि बसेर ध्यान गर्दैगर्दा अकस्मात् ज्ञानको ज्योति खुल्यो । उनले अब जान्न बाँकी केही थिएन । बाँकी थियो त केवल प्राप्त भएको ज्ञानलाई संसारको कल्याणका निम्ति बाँड्ने कार्य । उनी उरुवेलाका केटाकेटीसँग बिदा भएर हिँडे । तिनीहरूले नै सिद्धार्थलाई प्रथमतः “बुद्ध’’ भनेर सम्बोधन गरेका थिए ।
सिद्धार्थले सर्वप्रथम आफूलाई छाडेर हिँडेका साथीलाई आफ्नो ज्ञानबारे उपदेश दिए । उनले पाएको ज्ञानको सार थियो– दुःख, दुःख समुदाय, दुःख निरोध र दुःखनिरोधगामिनीसमेतका चार आर्यसत्य ।
दुःख भनेको जन्म, रोग, बुढेसकाल र मृत्यु हो । शोक, क्रोध, ईष्र्या, भय, लोभ, प्रियजनको वियोग र मोह आदि दुःख हुन् । दुःखका कारण अज्ञान हो । दुःखलाई निराकरण गर्न सकिन्छ । निवारणका उपाय हुन्– सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि ।
मनुष्यले लिनुपर्ने तीन शरण छन्– बुद्ध, धर्म र सङ्घ । यसैगरी, मनुष्यले पालन गर्न‘पर्ने पाँच शील (सदाचार) छन्– अहिंसा, अस्तेय, ब्रह्मचर्य, असत्य नबोल्नु र मद्यपान नगर्न‘ । बुद्धले मानवमात्रलाई आह्वान गर्दै भन्छन्– स्वल्पबाट विराटमा जाऊ, असतबाट सतमा जाऊ, मृत्युबाट अमृतमा जाऊ र अन्धकारबाट प्रकाशमा जाऊ ।
बुद्धको उपदेशको सार हो– हरेक मनुष्यभित्र बुद्ध छ तर त्यो अज्ञानको बादलभित्र छोपिएको छ । प्रेम भनेको पतिपत्नी, सन्तान, कुटुम्ब र प्रेमीप्रेमिकाबीचको प्रेममात्र होइन । यस्तो प्रेम पक्षपातको स्रोत हो । तेरो मेरोको भावना नै मोहको कारागार हो । अर्काको खुसीमा खुसी हुनु मैत्री हो भने अरूको दुःख हटाउनमा सहायक हुनु करुणा । ठूलो मानिस हुनुको गुण हो धेरै सुन्नु र कम बोल्नु । मरेका आमाबाबुको प्रशंसा गर्न‘को कुनै प्रयोजन छैन । सन्तानको पुनीत कर्तव्य हो– जीवित आमाबाबुलाई खुसी राख्नु ।
बुद्ध भन्थे, म कुनै दार्शनिक होइन । मैले दिने शिक्षा प्रत्यक्ष अनुभवमा आधारित हुन्छन् । मेरो शिक्षा कुनै अकाट्य सिद्धान्त र हठधर्मिता होइन ।
जीवन दुःखैदुःखले मात्र भरिएको छैन । आशक्ति त्यागेर सम्यक तरिकाले जिउन जाने यो सुरम्य पनि छ । दुःख त हामीले अपनाएको जीवनपद्धतिकै उपजमात्र हो । अनित्यलाई नित्य सम्झनु र नाशवानलाई अविनाशी सम्झनु झैझगडाको कारण हो । प्रतिष्ठाको भोक र अहङ्कारले सुखसँग बाँच्न दिँदैन ।
सहज र स्वतन्त्र जीवन नै खुसीको स्रोत हो ।
सम्पत्तिका लागि यति मरिहत्ते नगर कि त्यसैले दुःखी पारोस् । प्रिय बोली, प्रिय मुस्कान, मिलिजुली बसाइ, समझदारी र सामुदायिक सद्भाव नै अनुशासित सामाजिक जीवनका सूत्र हुन् । á
(लेखक नेपाल सरकारका पूर्वसहसचिव हुनुहुन्छ ।)