logo
२०८१ बैशाख २० बिहीवार



निजामती सेवाको समाजशास्त्र

“ठीक ठाउँमा ठीक मानिस” को सिद्धान्त लागू हुन सकेको छैन ।

विचार/दृष्टिकोण |




भागवत खनाल

एउटा भनाइ छ– कार्यालयमा विषालु सर्प पस्यो भने त्यसलाई मार्नेबारे निर्णय गराउन कार्यालयको सहायक फाइल लिएर हाकिमसामु पुग्छ । प्रसिद्ध भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले कर्मचारीतन्त्रको ढिलासुस्ती, औपचारिकता र अकर्मण्यताबाट हैरान हुँदै भनेका थिए, “कर्मचारीतन्त्र सबै जीवन्त कार्यहरूको अवसान हो ।” कर्मचारीतन्त्रको कार्यसम्पादनबाट प्रभावित भई प्रशंसा गर्ने “फ्यान” आजसम्म भेटिएको छैन । वालमार्टका कार्यकारी प्रमुख डग म्याकमिलनले यसलाई “भिलेन” भनेर सम्बोधन गरे र कसैले “जीर्ण रोगी” भनेर उपहास गरे । तथापि कर्मचरीतन्त्र हिजो थियो, आज छ र भोलि पनि हुनेछ । यसको विकल्प छैन ।
एउटा उखान छ, “आगलागी झुपडी डेढ घडी भद्रा ।” आगो लागिसक्यो, तुरुन्त निभाउन सकिएन भने झुपडी खरानी हुन्छ । किन्तु आगो निभाउनु शुभकार्य हो, त्यसैले भद्रा बितेपछि मात्र साइत गर्नुपर्छ । कर्मचारीतन्त्र (सामान्यतः निजामती सेवा ) को भद्रा डेढ घडीमा समाप्त हुँदैन । यसको भद्रा अनन्त र अद्वितीय छ । अकस्मात् २०७२ सालमा आएको भूकम्प र पोहोर सालको कोरोनाको विपद्को समयमा अधिकारीगणमा देखिएको भद्राको प्रकोप अविस्मरणीय छ । निर्णयमा विलम्ब मात्र भएन, सायद गल्ती पनि भयो । गल्ती जानाजान भयो वा परिस्थितिले गरायो, सम्बन्धितले नै जानून् तर कतिपय कर्मचारी झमेलामा परे र कति अझै पर्दैछन् । अनुभवी निजामती कर्मचारीले भन्ने गरेको सुनिन्छ –गर्नेलाई फसाद, नगर्नेलाई हाइसन्चो ।
प्राचीन समयदेखि नै निजामती सेवाको अस्तित्व रहँदै आएको छ । कर सङ्कलन, राजदरबार प्रबन्ध र स्तुतिगान, शान्ति सुरक्षा, दण्ड सजाय, जासुसी एवं वैदेशिक सम्बन्ध कायम गर्न जनशक्तिको आवश्यकता थियो । राजाले प्रायः नातेदार र परिचित सेवकका सन्तानलाई नोकरी दिने गर्दथे । “राजाको सिन्दुर” पहिरेका व्यक्तिहरूको एउटा छुट्टै समाज थियो । आम समाजभन्दा भिन्न रवाफीहरूको समाज, जो राजाको नजिक हुने प्रयत्नमा सहकर्मीबाट टाढा हुन्थ्यो । राजालाई को हितकारी र को षड्यन्त्रकारी चिन्नै गाह्रो । राजाले आफ्नै कर्मचारीको जासुसी गर्न छुट्टै सङ्गठन तयार गर्नुप¥यो । राजाहरूले कर्मचारीलाई नियन्त्रण गर्न नियमहरू बनाए । कुन काम कसले, कहिले, किन र कसरी गर्ने भन्ने स्पष्ट पार्दै कार्यविधि बने । नियम र कार्यविधि उल्लङ्घन दण्डनीय भयो । यसरी एक औपचारिक, नियम र कार्यविधि पालना गर्ने, अनुशासित एवं समयपालक तन्त्र स्थापना भयो । तथापि आँखा छल्ने, मह चाट्ने, चाटुकारिता गर्ने र तलबितल पार्ने छट्टु मानव स्वभाव के निर्मूल हुन्थ्यो ? राजाहरू आफैँले खडा गरेको “ब्युरोक्रेसी” को घेरामा पर्दथे । सबैभन्दा खतरा तिनैबाट थियो, जो राजाका प्रिय सेवक र कुटुम्बी थिए । नातेदार र प्याराहरूबाटै “तख्तापलट” को खतरा बढेपछि प्राचीन चिनियाँ सम्राटहरूले योग्यतामा आधारित निजामती सेवाको विकास गरे । देशको दूरदराजका मेधावी, निरोगी र वलिष्ठ युवकहरू राजाको सेवामा हाजिर भए । यसले गर्दा राजाको गद्दी मात्र सुरक्षित भएन, राष्ट्रिय एकताको अभिवृद्धिमा समेत टेवा मिल्यो । इस्ट इन्डिया कम्पनीले यस्तै प्रणालीको “इन्डियन सिभिल सर्भिस” स्थापना गरेको थियो ।
मुगलकालीन हिन्दुस्तानमा टाढा टाढाका प्रान्तको प्रशासन सञ्चालन गर्न राजाका प्रतिनिधि खटिएर जान्थे । त्यस्ता पदाधिकारीको पदनाम हुन्थ्यो, “नाजिम” । नाजिम अन्तर्गतको प्रशासकीय पद्धतिलाई निजामत भनिन्थ्यो र त्यो पद्धतिभित्र काम गर्ने कर्मचारी निजामती कहलिन्थे । निजामतको अर्थ हो – व्यवस्थापन, प्रबन्धन, काइदा, काम गर्ने दस्तुर र बन्दोबस्त । त्यही परम्पराबाट “निजामती” शब्द प्रचलित भएकोमा नेपालमा कायमै छ भने हिन्दुस्तानी प्रशासनिक परम्पराबाट यो शब्द बिदा भइसकेको छ ।
आधुनिक निजामती सेवाको भूमिका धेरै बढेर गएको छ । समाजवादोन्मुख देशमा राज्यको भूमिकामा वृद्धि हुने हुँदा निजामती सेवाको महìव अझै बढ्दै जानु अवश्यम्भावी छ । अहिले निजामती सेवाको कार्यक्षेत्रमा शान्ति सुरक्षा, कूटनीति, सीमा प्रशासन, वाणिज्य, सञ्चार, राजस्व, आयोजना व्यवस्थापन, शिक्षा, स्वास्थ्य, मानव संसाधन, पूर्वाधार निर्माण, परिवहन नियमन, अन्तर्राष्ट्रिय व्यापार, सरकारको निर्णयको बचाउ, कारागार व्यवस्थापन, अध्यागमन, अदालतको फैसला कार्यान्वयन, नागरिकता, भूमिव्यवस्थापन, विभिन्न संवैधानिक संस्थाहरूमा जनशक्ति व्यवस्थापन, सरल र सहज सेवाप्रवाह र वातावरण संरक्षण आदि जस्ता कार्य पर्छन् ।
यति ठूलो कार्यक्षेत्रमा फैलिएको निजामती समाजमा आम समाजमा जस्तै अनेकौँ मतैक्य र मत भिन्नता (कन्वर्जिङ एण्ड कन्फ्लिक्टिङ इन्ट्रेस्ट) रहनु स्वाभाविकै हो । म त भिन्नताहरूलाई दबाएर राख्नुभन्दा तिनलाई मुखर हुन दिनु श्रेयस्कर छ, जसबाट भिन्न मतको व्यवस्थापन गर्न सहज होस् । निजामती समाजको प्रत्येक सदस्यले आफू पनि त्यस समाजको सच्चा सदस्य रहेको महसुस गर्ने वातावरण बन्यो भने सेवाप्रवाहलाई चुस्त बनाउन सजिलो हुन्छ । भनिन्छ, निजामती सेवा यस्तो समाज हो जहाँ थकित भई सेवाबाट बिदा भएको जीर्ण र बूढो आत्मा प्रतिभासम्पन्न, आरोग्यशाली र होनहार युवाको शरीरमा प्रवेश गर्छ । अनुभव सधैँ काम लाग्छ, तर प्रवृत्ति समयको मागअनुसार परिवर्तन हुनु आवश्यक छ । निजामती सेवामा रहेको मूल समस्या प्रवृत्ति हो । परन्तु यो मूल समस्यालाई निराकरण गरी नवीन निजामती समाज स्थापना गर्नेतर्फ हामीले प्रयत्न गर्न सकेनौँ । बरु अन्य सहायक समस्याहरू थपेर यसलाई मानेमधौरु बनाउनेतर्फ लाग्यौँ । निजामती सेवा हतपती परिवर्तन हुन चाहँदैन । यो नेपालको मात्र नभई सर्वव्यापी प्रवृत्ति हो । संसारभरिका मानिस निजामती सेवाको यो प्रवृत्तिबाट वाक्क छन् । तर धेरै देशले यो अपरिहार्य सङ्गठनलाई नवीकरण र परिमार्जन गरेर सापेक्ष रूपमा दक्ष, शीघ्र निर्णयी, स्वार्थविहीन र निडर बनाएका छन् । सार्वजनिक प्रशासनका पिता कहलिएका वुड्रो विल्सनले भनेजस्तो राजनीतिबाट तटस्थ, दक्ष, निडर, व्यावसायिक र समुचित वृत्तिविकासको अवसरयुक्त प्रतिष्ठित निजामती सेवा हो ।
निजामती सेवा प्रतिभा सम्पन्न युवा रहेको सङ्गठन हो । यो सेवाभित्रका मानिसमा असीमित विचार हुन्छ तर अधिकार अत्यन्तै सीमित । बनिबनाउ संरचनाभित्र अत्यन्त प्रतिभाशाली कर्मचारीले दिने परिणाम र तुलनात्मक रूपमा कमजोर कार्यसम्पादन गर्नेले दिने परिणाममा चर्चा गर्न लायक भिन्नता हुँदैन । त्यसमा पनि व्यक्तिको अनुभव, क्षमता र राज्यको आवश्यकताका आधारमा नभई आग्रह र उठबसका आधारमा सरुवा र पदस्थापन गरिने हुँदा “ठीक ठाउँमा ठीक मानिस” को सिद्धान्त लागू हुन सकेको छैन । निजामती कर्मचारीले राज्यको नुन खाने हुँदा उनीहरू अरूभन्दा सभ्य, शालीन, निस्वार्थी र कर्तव्यशील हुनुपर्छ भन्ने आम मान्यता छ । यो सर्वथा ठीक कुरा हो तर निजामती सेवक पनि त्यही समाजभित्रबाट आएको हो जहाँ हामी सबै नागरिक बसोवास गर्दछौँ । व्यक्तिको मूल्य, प्रवृत्ति, सोच र संस्कार बदल्न कठिन छ । जतिसुकै शिक्षित र ज्ञानवान व्यक्तिमा पनि आफ्नो जाति, भाषा, धर्म, संस्कृति र पुख्र्यौली परम्पराको छाप परेकै हुन्छ । निजामती कर्मचारीलाई यो सोचबाट मुक्त गराई समानता, समता, सबै भाषा तथा संस्कृतिको सम्मान र छुवाछूतलगायतका विभेद र वञ्चनाका विरुद्ध खुला रूपमा प्रकाशित गराउन अझै परिश्रम गर्नुपर्छ । यो उत्प्रेरणा दिन मुलुकको राजनीति पनि सोही अनुरूप परिमार्जित हुनु नितान्त जरुरी छ ।
निजामती सेवाको आफ्नो गुनासो गर्ने “फोरम” हुँदैन । यसले आफ्ना गुनासा र सुझावहरू बिसाउने भनेको कार्यपालिका समक्ष नै हो । यस्ता गुनासा र सुझाव दिने दुई माध्यम छन्, सेवाको उच्च पदमा आसीन अधिकारीहरू र ट्रेड युनियन । ट्रेड युनियनबारे राष्ट्रिय समाज, स्वयं निजामती समाज र राजनीतिक वृत्तमा समेत अनेक टीकाटिप्पणीहरू भएको पाइन्छ । उच्च अधिकारीहरूबाट के कस्तो भूमिका निर्वाह भयो भन्ने कुरा प्रकाशमा आएको छैन । अहिले निजामती समाज छटपटीमा छ । सेवालाई पारङ्गत बनाउन उसपार तर्नु छ तर सेवा यसपार नै अलमलमा छ । लामो समयदेखि निजामती सेवा विधेयक संसद्मा विचाराधीन छ । विधेयकमा राखिएका विभिन्न प्रावधानबारे धेरै गुनासाहरू सार्वजनिक भएका छन् । ती गुनासा, आलोचना र सुझावबारे सम्यक अध्ययन गरी आम कर्मचारीवर्गको कल्याण र राज्यको सर्वोपरि हितलाई ध्यानमा राख्दै विधेयक पारित हुनु राम्रो हुन्छ । निजामती सेवालाई आकर्षणको केन्द्र बनाई राज्यभित्र तयार भएको अमूल्य प्रतिभालाई सेवामा प्रवेश गर्न प्रेरित गर्नु सम्बन्धित सबैको पुनीत कर्तव्य हो ।
(लेखक नेपाल सरकारका पूर्वसहसचिव हुनुहुन्छ ।)



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?