logo
२०८१ मंसिर १४ शुक्रवार



उखान र लोकजीवनको सार्वभौम समरसता

विचार/दृष्टिकोण |




भागवत खनाल
न भिक्षुको भिक्षुकात याचते । यसको सोझो अर्थ हो– भिक्षुले भिक्षुसँग भिक्षा माग्दैन । तर, यो उक्तिको लक्ष्यार्थ गहिरो छ । आफैँ अर्काको सहयोगमा निर्वाह गर्ने व्यक्तिबाट अरूले कुनै आस गर्नु व्यर्थ छ । अर्को उपाख्यान भन्छ, “वरय अद्द्य कपोतः श्व मयुरात् ।’’ यसको अक्षरशः अर्थ हुन्छ– भोलि प्राप्त हुने मयुरभन्दा आजै प्राप्त हुने परेवा निको । गूढार्थ हो– भोलिको ठूलो प्राप्तिको लोभमा आजै हात परेको फाइदा गुमाउनु मूर्खता ठहर्छ । भोलिको ठेगान हुँदैन ।
पाल्पा–गुल्मीतिर “सिमलको लाथ्रो हलो न बला’’ भन्ने उखान प्रसिद्ध छ । यस लोकोक्तिले शब्दार्थको सीमा नाघेर गहन अर्थबोध गराउँछ । कुनै पनि मानिस देख्दा मोटोघाटो र आकर्षक हुँदैमा बलियो र बुद्धिमान होला भनेर अनुमान गर्न सकिन्न । लुम्बिनी प्रदेशमा प्रचलित “पहाडका बापती मधेसका सभापति’’ले अभिव्यक्त गर्न खोजेको कुरा हो– अपरिचित ठाउँमा पुगेको जोकोही पनि भलादमीमा गनिन्छ । एक ठाउँमा कुकर्म गरेर अर्को ठाउँमा पुगेको व्यक्ति टाठो र धुर्त रहेछ भने नयाँ ठाउँको अगुवा बन्न पनि
बेर लाउँदैन ।
जुन भाषामा प्रवाहमयता र रोचकता हुन्छ त्यही नै समृद्ध र जीवन्त मानिन्छ । अभिव्यक्ति क्षमता नै समृद्ध भाषाको जग हो । उखानले जीवनसँग सम्बन्धित आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक पक्षको लोकानुभव प्रकट गर्छ । उखान संस्कृति, रीतिरिवाज, खानपान, लेनदेन, बस–उठ लोकाचार, लोकविश्वास र लोकव्यङ्ग्यलाई प्रतिनिधित्व गर्ने सर्वाधिक प्रभावकारी साधन हो । उखानमा शोषण, दमन, गरिबी, अन्धविश्वास, उत्पीडन र दलनको प्रवृत्तिलाई प्रहार गरिएको हुन्छ । परन्तु कतिपय उखानले जाति, भाषा, लिङ्ग, शारीरिक अवस्था र पेसालाई लिएर होच्याउने र खिसी गर्ने गरेको पनि पाइन्छ ।
उखानले उचाल्छ र थेचार्छ पनि । सिधा शब्दमा केही कुरा भन्दा सुन्नेले निहँु खोज्न सक्छ र झगडा पर्न पनि सक्छ तर त्यही कुरा उखानको माध्यमबाट भन्दा अर्को पक्ष कुरो बुझेर पनि निरुत्तर हुन्छ । दोस्रो विश्वयुद्धकालीन ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिल आफ्नो भाषणमा उखानको व्यापक प्रयोग गर्थे । उनी भन्ने गर्थे, “मदारीसँगै रहेको वानरसित वादविवाद गर्नु हुँदैन ।’’ गणेशमान सिंहले प्रयोग गर्ने गरेको प्रसिद्ध उखान थियो, “ही वल कि खी वल ।’’ यस उखानको भावव्यञ्जना गहन छ । यसको निहितार्थ हो– आँट गरेर मैदानमा निस्केपछि कि वार कि पार ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको उखानमय भाषण सुनेर श्रोता छक्क पर्छन् । उहाँका श्रोतालाई भाषण सुन्दा पट्यार मानेर उँघ्नुपर्दैन । ओली रमाइलो मान्छेमा कहलिएकै उखानको प्रयोगले हो । उखान हालेर श्रोतालाई मन्त्रमुग्ध पार्ने अर्का नेता हुनुहुन्छ– चित्रबहादुर केसी । प्रभावकारी भूमिका हासिल गर्न असमर्थ सानो दलको नेता भए पनि उहाँमा दर्शक र श्रोतालाई तान्ने कला छ । साधारण ग्रामीण लवजमा बोलेर पनि अत्यन्तै परिहासमय वातावरण पैदा गर्ने उहाँको भाषणकलाबाट उखानलाई झिकिदिने हो भने उहाँको भाषणीय व्यक्तित्व समाप्तप्रायः हुन्छ ।
उखानले समाजको यथार्थ रूप देखाउँछ । यसले गृहस्थ र सामाजिक जीवनका सुख–दुःखबारे ओजपूर्ण प्रकाशन गर्दै अभिव्यक्तिको मिठासपूर्ण लालित्य प्रकट गर्छ । संसारका प्रत्येक समाजमा उखानको अस्तित्व छ । सयौँ वर्षको अनुभव र भोगाइबाट तयार भएका उखान क्रमशः स्थापित र स्वीकृत हुँदै जाने हुँदा यिनको आविष्कार कसले ग¥यो भन्ने थाहा हुँदैन । संसारको जुनसुकै कुनामा प्रचलित उखानलाई अर्को जुनसुकै कुनामा गएर भने पनि प्रभावोत्पादक नै हुन्छ । उखानमा बौद्धिक चातुर्य, सन्देश, मनोरञ्जन, ईश्र्या, खिसी र चामत्कारिकता हुन्छ । यो एउटै सूत्रमा धेरै फूल उनेर बनाइएको सानो माला हो ।
उखानको शब्द सरल र लक्ष्यार्थ चोटिलो हुन्छन् । ठुल्ठूला विद्वान्ले लामा व्याख्यान दिएर बुझाउन नसकेको कुरा उखानले साधारण शब्दमा बुझाइदिन्छ । भारतीय साहित्यकार मुन्सी प्रेमचन्द भन्छन्, “कहिलेकाहीँ हामीलाई त्यस्ता मानिसबाट ज्ञान मिल्छ, जसलाई हामी अभिमानवश अज्ञानी सम्झन्छौं ।’’ साधारण मानिसबाट अविच्छिन्न प्रयोग र प्रतिष्ठित हुँदै आएको उखान असत्य हुँदैन । यो लोकजीवनलाई मन्थन गरेर निकालिएको मख्खन हो ।
भाषालाई तिखारेर तेजिलो बनाउने उखानको अभावमा वाङ्मय टुहुरो हुन्छ । यो साहित्यलाई धनी बनाउने सर्वोपरि स्रोत हो ।
लेप्चा भाषामा प्रचलित “उङ प्लोङ्का आसोन’’ (पानीमाथि ओभानो)ले मानव समाजको सार्वभौम चरित्रको उद्घाटन गर्छ । डोटेली उपभाषिकाको “स्याला सिकारकी बागो सर्जाम’’ले सानो कामका लागि पनि समुचित तयारी चाहिन्छ भन्ने सन्देश दिन्छ । अछामीको “तुई गाउँको जान्ने तुई बाटा हग्दो’’ले जान्ने बुझ्ने नै खराब भएपछि कसको आस गर्नु भन्ने भाव व्यक्त गर्छ । मैथिलीको “घर–आँगन भौजीकी छनछन करे ननदो, राजा दुःखी प्रजा दुःखी जोगीके दुःख दुना र सैयाँ सँ छुट्टी नही देवर मागे चुम्मा जस्ता असङ्ख्य उखानले भाषालाई समृद्ध बनाएका छन् । भोजपुरीको “अनाज खाये आपन लोग कहे दलिद्दर, अपने जाँघ उघार अपने लाजे मर र कुत्ता काट अन्जानके बनियाँ काट पहचानके’’ जस्ता उखानले भाषालाई धारिलो बनाएका छन् ।
अवधी भाषाको “बही बही मरै बैलवा बाँधे खाये तुरंग’’ले कसैले परिश्रम गरेर पनि खान नपाउनु र कसैले बसिबसी खान पाउनुलाई उजागर गर्छ । थारू भाषामा प्रचलित “भिजल भेगवाक लागल काछ र लुहुलुहु बिरुवाक लुहुलुहु पात’’बाट नाच्न नजान्ने आँगन टेँढो र हुने बिरुवाको चिल्लो पातको भाव प्रकट हुन्छ ।
उखान सार्वलौकिक र सार्वकालीन हुन्छ । यो जुनसुकै देश र कालमा प्रचलित भए तापनि सबैलाई सार्थक र आफ्नै समाजको ऐनाजस्तो लाग्छ । विश्वको विभिन्न भागमा प्रचलित तर हाम्रै लोकजीवनबारे बोलेजस्तो प्रतीत हुने केही उखान यस्ता छन् ।
(लेखक नेपाल सरकारका पूर्वसहसचिव हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?