logo
२०८१ बैशाख २० बिहीवार



सँघारमै आइपुगेको छ वसन्त

सिद्धान्तलाई गौण बनाएर आफ्नो राजनीतिक प्रभाव बढाउने प्रयास गर्नु राजनीतिक अवसरवाद हो

विचार/दृष्टिकोण |




श्यामल अधिकारी

संस्कृतमा एक सूक्तिमय श्लोक छ – ‘वसन्ते समय प्राप्ये काकः काकः पिक पिक ।’ अर्थात् हेर्दा काग र कोइली दुवै उस्तै देखिन्छन् तर जब वसन्त ऋतुको आगमन हुन्छ, काग का...का... गर्दै कर्कस स्वरमा कराउँछ, कोइलीले सुमधुर स्वरले सारा वन, उपवन गुन्जायमान पार्छ ।
कन्फुसियसले भने ः ‘मानिस व्यक्ति जस्तो प्रकारको हो, त्यही किसिमको गल्ती गर्छ । गल्तीलाई राम्ररी हेर्ने हो भने उसको मानवीय चरित्र ठम्याउन सकिन्छ ।’ यसरी हेर्दा कार्ल माक्र्सका रचनाहरूको समाज विश्लेषणको आधार पनि वर्ग नै हो । उनले खासगरी आफ्नो प्रसिद्ध निबन्ध ‘लुई बोनापार्टको अठारौँै ब्रुमेर’ मा इतिहासमा व्यक्तिको भूमिकाबारे स्पष्ट पारेका छन् । पुस्तौँदेखि अर्थतन्त्रलाई नियन्त्रणमा राखिआएका ठूला पुँजीपति, ठूला उद्योगपति, उच्चपदस्थ फौजी, विश्वविद्यालयजस्ता प्राज्ञिक संस्था, चर्च, बार र प्रेस नियन्त्रणमा राखेका व्यक्तिहरूले १८५० को दशकमा कसरी फ्रान्समा एक महìवाकाङ्क्षी व्यक्तिलाई मुलुकको अधिनायक बनाए र गणतन्त्र असफल भयो भन्ने यसमा चर्चा गरिएको छ ।
बाहिरबाट हेर्दा अहिले नेपाली गणतन्त्र त्यस्तै अवस्थामा पुगेको देखिन्छ । ठूला उद्योगपति व्यापारी, जमिनदार, कर्मचारीतन्त्र (जसलाई माक्र्सले भीमकाय परजीवीको संज्ञा दिएका थिए), पत्रकार, पुँजीवादी स्वार्थलम्पट विदेशीहरू गणतन्त्रभित्रै हिरो वा अधिनायकको खोजमा छन् कि भन्ने आशङ्का उत्पन्न हुने खालका राजनीतिक गतिविधिहरू चलेका छन् । जननिर्वाचित गणतान्त्रिक सरकारका विरुद्धमा ‘कू’ (सत्तापलट) को व्यापक गृहकार्य भइरहेको छ । हिरोहरूको बारम्बार नाम आइरहेको
छ ः प्रचण्ड, देउवा, माधव नेपाल, झलनाथ, रामचन्द्र, महन्थ ठाकुर, बाबुराम, उपेन्द्र यादव इत्यादि । सुविधाका बेला उत्तर, दक्षिण र पश्चिमका शक्तिपीठहरूको नाम पनि जोड्ने अभ्यास भइरहेको छ ।
जननिर्वाचित गणतान्त्रिक संस्थाहरूलाई कमजोर साबित गर्न हिरोहरूले अनुचित र गैरसैद्धान्तिक अवसरवादी गठबन्धनहरूको पूर्वाभ्यास गरिरहेका छन् । भन्न सकिन्छ, व्यक्तिहरूका महìवाकाङ्क्षा यसरी बढ्दै जाँदा यहाँ १८५१ को फ्रान्स दोहोरिनेछ । र, सुविधा वञ्चित नागरिकहरू (माक्र्सका शब्दमा ‘प्रोलाटारियट’) यी नयाँ महìवाकाङ्क्षी अधिनायक (हरू) का बुटमुनि निसास्सिन बाध्य हुनेछन् । गणतन्त्र अधिनायवादमा जाने जोखिम छ । माक्र्सले भनेका छन्, ‘‘व्यक्तिले आफ्नो इतिहास बनाए पनि आफूखुसी, आफूलाई उपयुक्त हुने गरी छनोट गरेको परिस्थितिमा बनाउन सक्तैनन्, विगतबाट प्राप्त विद्यमान परिस्थितिअन्तर्गत बनाउँछन् ।’’ भन्नुको अर्थ हो, यस्तो घटना इतिहासको भौतिकवादी अवधारणासम्मत हुन्छ । पुस्तकको दोस्रो संस्करणको भूमिकामा माक्र्सले भनेका छन्,
‘‘फ्रान्समा वर्ग सङ्घर्षले कस्ता परिस्थिति तथा सम्बन्धहरूको निर्माण ग¥यो, जसले एक हास्यास्पद सामान्य व्यक्ति पनि नायकको भूमिका निर्वाह गर्न सक्षम भयो ।’’
नेपालको राजनीतिक इतिहासमा पनि बेलाबेला ऐतिहासिक परिस्थितिजन्य कारणले अनेकौँ नायकको उदय भएको देख्न पाइन्छ । जङ्गबहादुरको उदय अङ्ग्रेज साम्राज्यको विस्तारवादी गतिविधि र नेपाल दरबारको अन्तर्सङ्घर्षको परिस्थितिमा भयो । बीपी र पुष्पलालको उदय राणा शासनविरुद्ध सङ्घर्षमा होमिएका परिवारको कठोरताबीच भयो । भारतीय नेता सुवासचन्द्र वोसको आजाद हिन्द फौजमा काम गरेका सामान्य डोट्याल नेपाली के.आई. सिंह पनि एक पटक प्रधानमन्त्री बने । बीपीको पारिवारिक र राजनीतिक छत्रछायाँमा हुर्केका डा. तुलसी गिरी, विश्वबन्धु थापा र सूर्यबहादुर थापा राजाको निरङ्कुश पञ्चायती व्यवस्थाका अग्रदूत बनेर नेपालमा ३० वर्ष शासन चलाउनुभयो । पछिल्ला कतिपय राजनीतिक आन्दोलनले निर्माण गरेका परिस्थितिले सुशील कोइराला, झलनाथ, माधव नेपाल, प्रचण्ड, शेरबहादुर, बाबुरामजस्ता व्यक्ति नायक हुनुभयो । उहाँहरूबाट नेपाली जनताले आफ्ना आकाङ्क्षाहरू परिपूर्ति हुने अपेक्षा गरेको थियो तर जनताले सङ्घर्ष गरी ल्याएको व्यवस्थालाई नै उहाँहरूले समय समयमा धरापमा पार्ने काम गर्नुभयो । अहिलेको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर नायकत्व लिन केही महानुभावले नयाँ परिस्थितिको निर्माण गर्ने प्रयास गरिरहेको देखिन्छ । यसमा माक्र्सले भनेझैँ ‘बुज्र्वाजी’ हरू सिलिङमा टुप्पी बाँधेर अभ्यास गरिरहेका छन् । आखिर यी नवनायकहरूले किन ओलीविरुद्ध मोर्चा खोलेका हुन् ? भन्न सकिन्छ, यो अभ्यास ऐतिहासिक परिस्थितिबाटै अभिप्रेरित छ ।
२०३७ सालको जनमत सङ्ग्रहमा नेपालका कम्युनिस्टहरू दर्जनभन्दा बढी राजनीतिक गुठी चलाएर बसेका थिए र पञ्चायतका विपक्षमा तिनको एउटै साझा मत थिएन । तीमध्ये मनमोहन अधिकारी र नारायणमान विजुक्छे बाहेकका प्रभावशाली समूहहरूले पञ्चायत र बहुदलीय व्यवस्थालाई चरित्रगत रूपमा एउटै भएको ठाने । कुरो सुन्दर भए पनि अन्तर्य कुरूप देखियो । तिनले एउटै मञ्चको सिर्जना गर्नसम्म पनि सकेनन् । ती सिद्धान्त र विचारका नाममा परस्परमा छुवाछूतको पाखण्डी भावनाले ग्रस्त देखिए । आफूसँग भएको जनमतलाई बेलैमा प्रगतिशील बहुदलीय व्यवस्थाको पक्षपोषणमा लगाउनबाट चुके ।
नेपाली काँग्रेस, नेकपा माक्र्सवादी र नेमकिपाको मञ्च पनि एउटै रहेन । तुल्सीलाल, मानन्धर–वर्मा पनि खुलस्त एउटै कार्यसूचीमा जोडिएको देखिएन । काँग्रेस र कम्युनिस्टबीचको वैचारिक चिसोपन, पारस्परिक अविश्वास र प्रजातन्त्र प्राप्तिजस्तो साझा मुद्दामा सँगै लडेर जाने विषयलाई खिसीट्युरी गर्ने संस्कारजन्य व्यवहारबाट अन्ततः राजालाई लाभ प्राप्त भयो । प्रहार जता गर्नुपर्ने थियो, त्यता नगरेर एक अर्कोतिर निशाना साँधेपछि परिणाम सुखद हुने नै थिएन । अतः मुलुकले अलि सजिलो गरी श्वास फेर्न अर्को १० वर्ष लाग्यो । अर्थात् वि.सं. २०४६ को आन्दोलनले मात्र राजतन्त्रको अन्धकार कक्षभित्र हावा छिर्ने प्वाल बनायो ।
त्यतिबेला पुष्पलालको संयुक्त जनआन्दोलनको प्रस्तावलाई न काँग्रेसले न त कम्युनिस्टहरूले नै महìव दिए । एउटै एजेण्डाका वाहकहरू विभाजित भएपछि तिनको प्रभावमा रहेका समाजका अगुवाहरू रनभुल्लमै परे ।
भनिन्छ, डा. बाबुराम भट्टराई कुनै बेला काँग्रेस निकट हुनुहुन्थ्यो । पछि भारतमा अध्ययनरत हुँदा उहाँले मोहनविक्रम सिंहको प्रभावमा परेर कम्युनिस्ट चोला धारण गर्नुभयो । त्यसै क्रममा जनमोर्चा हुँदै माओवादी आन्दोलनको वैचारिक रथ हाँक्ने काम उहाँले गर्नुभयो । अनि, उहाँ ऋषिकेश शाहको राजनीतिक कार्यसूचीका अभियन्ता रहेको धेरैलाई थाहा छ । शाहका छलाङ्वादी उपदेशले उहाँलाई क्रान्ति गर्न मन लाग्यो र उहाँ मानव अधिकार र सशस्त्र द्वन्द्वको फ्युजन गर्नतिर लाग्नुभयो । यसले उहाँलाई मानव अधिकार र स्वायत्तताको आवरणमा युरोपेली सङ्घका जातिवादी एजेण्डाहरूलाई नेपाली समाजको संरचना खल्बल्याउने राजनीतिक कार्यसूचीभित्र प्रवेश गर्न बाटो खुला गरेको थियो ।
माओवादीभित्र बाबुराम टाउको र प्रचण्ड शरीर थिए भन्ने गरिन्छ । उता प्रचण्ड पुराना पार्टी भङ्ग गर्दै आफ्नो नायकत्वमा नयाँ नयाँ पार्टी बनाउने र अन्ततः विशाल पार्टी बनाएर क्रान्तिबाटै महानायक बन्ने ध्याउन्नमा लागिरहनुभएको थियो । यस क्रममा उहाँले मोहनविक्रम र वैद्य आदिलाई पछाडि छाड्दै अघि बढ्नमा साथ दिने सुयोग्य कार्यकर्ताहरूको जोहो गर्नु थियो । मुलुकमा अल्पपठित, असन्तुष्ट र विद्रोही मानसिकताका युवायुवतीको भावनालाई मानसिक त्राण दिन उहाँ सफल हुनुभयो । यस क्रान्तिको सपनाको सैद्धान्तिकीकरणका लागि कुनै ‘बहुपठित सिद्धान्त कथुवा’ चाहिएको थियो । उहाँका लागि जनमोर्चाका नेता डा. बाबुराम भट्टराई उपयुक्त मस्यौदाकार हुनुहुन्थ्यो । दुई महìवाकाङ्क्षीको ग्रह मिलेपछि जरासन्धको जन्म भयो । यसै जरासन्धले देउवाकालीन ‘शिशु प्रजातन्त्र’ ले दिनै नसक्ने ४० बुँदे माग राखी जनयुद्धको शङ्खनाद ग¥यो, १७ हजार नेपालीको बलिदान ग¥यो, हजारौँ अपाङ्ग भए र लाखौँको घरबास उजाडियो ।
अन्ततः दिल्लीमा गरिएको १२ बुँदे सम्झौताबाट यसको शान्तिपूर्ण बैठान भयो । प्रचण्ड र बाबुराम नायक भए, असन्तुष्ट माओवादी कार्यकर्ताको भनाइअनुसार केही दर्जन माओवादीको उद्धार भयो र प्रचण्डले माओवादी आन्दोलनलाई ‘धोका’ दिनुभयो वा विसर्जन गरिदिनुभयो । असन्तुष्ट लडाकु र समर्थकहरूका अनुसार आज उनीहरूका ती सपना अलपत्र परेका छन् । समय समयमा आफ्ना सैद्धान्तिक र वैचारिक चोला फेरिरहने यो जरासन्ध आज एउटा जसपा र अर्को माओवादीमा बाँडिएर बसेको छ । तथापि ओलीलाई ‘पत्तासाफ’ गर्नमा ऊ एक ठाउँमा उभिन्छ । किनभने, उसलाई नायकत्व चाहिएको छ । ओलीलाई नहटाई त्यो नायकत्व प्राप्त हुँदैन । तसर्थ माधव नेपालजस्ता प्रचण्डका ‘पुराना सहयोगी’, शेरबहादुरजस्ता कुलीन प्रजातन्त्रवादी, महन्थ ठाकुरजस्ता पहिले काँग्रेस र पछि मधेसवादी, अन्य केही कुलीन पुँजीवादी, केही कर छलुवा औद्योगिक घराना, केही ठग ठेकेदारको सहयोगमा वैकल्पिक (माक्र्सले आफ्नो सो निबन्धमा लुई नेपोलियन बोनापार्टलाई ‘हास्यास्पद् मिडियोकर’ समेत भनेका छन्) नायकत्व निर्माण गर्ने काम भइरहेको देखिन्छ ।
निश्चय नै संविधान लागू गर्ने क्रममा केही कार्यशैलीगत कमजोरी हुन सक्छन्, पुरानो चरित्र बोकेको ‘भीमकाय कर्मचारी तन्त्र’ ले सेवा प्रवाहमा अपेक्षित गतिमा काम नगरेको हुन सक्छ, वर्तमान संविधानले चीनको जस्तो कम्युनिस्ट शैलीको डेलिभरी नदिनु स्वाभाविक हुन्छ । तर यो संविधान बनाउनमा प्रचण्ड, ओली, प्रचण्ड, सुशील कोइराला, महन्थहरू नै त हुनुहुन्थ्यो । यसअन्तर्गत गठित संसद्मा प्रचण्ड र माधव नेपालकै पार्टीको बहुमत थियो । त्यसलाई कतैबाट अन्यथा हुन गएको भए रोक्न सकिने अन्तिम सर्वोच्च संरचना अर्थात् महाधिवेशन पनि छँदै थियो । उहाँहरू त्यस्तो प्रभावकारी वैधानिक उपचारतर्फ नलागी स्वयं अन्यथातिर लाग्नुभयो । आफैँले आजसम्म समर्थन गरी आएको प्रधानमन्त्री र उहाँको नेतृत्वको सरकारलाई अपदस्थ गर्न विजातीय तìवसँगको गठबन्धनले पनि उहाँहरू मुलुकमा साँचो स्वाधीनता, गणतन्त्र र स्थायित्वको पक्षमा हुनुहुन्नथ्यो भन्ने नै देखाउँछ ।
अझ, यसको कुनै पनि पुष्ट सैद्धान्तिक आधारसमेत भेटिँदैन । पार्टी संरचनाभित्र आफ्नो बहुमत सिद्ध गरी उहाँलाई अध्यक्षबाट हटाएको भए पनि उत्तम विकल्प बाँकी नै थियो । दलको नेता चुन्ने संसदीय दल पनि जिउँदै छ । तर यतातिर नलागेर ओलीविरुद्ध एकसूत्रीय विजातीय गठबन्धनमा लाग्नुले के देखाउँछ ? यही देखाउँछ कि कुनै खास स्वार्थी तìव (जसका वर्ग चरित्रको वर्णन माक्र्सले सो निबन्धमा गरेका छन्) ले अवैधानिक तवरबाट प्रचण्ड आदिलाई लुई बोनापार्ट बनाउन लागिरहेको त छैन ? लगातारको पार्टी विखण्डन र अस्वाभाविक गठबन्धन निर्माणले उहाँहरूको गणतन्त्र र पार्टीभित्र ‘बुज्र्वाजीहरू’, नवधनाढ्यहरू र भीमकाय उच्च कर्मचारीहरूको प्रभाव बढिरहेको त छैन ? नत्र यो गैरसैद्धान्तिक बाटो अवलम्बन गर्नुपर्ने बाध्यता कसरी आइलाग्यो ?
कतै भनिएको छ, राजनीतिक समर्थन कायमैै राख्ने वा राजनीतिक सदाचार वा राजनीतिक सिद्धान्तलाई गौण बनाएर आफ्नो राजनीतिक प्रभाव बढाउने प्रयास गर्नु राजनीतिक अवसरवाद हो । सायद नेपालका यी राजनीतिक नायकहरू आफ्नो राजनीतिक प्रभाव गुम्दै गएकोमा चिन्तित हुनुहुन्छ । अरूका स्वार्थमा बेरिएपछि, आफ्ना मौलिक गुणहरूमा धमिरा लाग्दै जान्छ, गैरराजनीतिक उपायहरू प्रभावशाली हुन्छन् र डेमोक्रेसी (गणतन्त्र) बोझिलो बन्दै जान्छ ।
यसर्थ उहाँहरूका लागि निर्वाचन एक डरलाग्दो परिघटना बन्न सक्छ । सुरुमा भनिएझैँ वसन्त आएपछि काग र कोइली छुट्याउन सकिन्छ । आफैँले सङ्गठित गरेको राजनीतिक दल, आफैँले ल्याएको गणतन्त्र र आफैँले स्थापना गरेका राजनीतिक मूल्यप्रणालीप्रति यति छिटो विमोह किन ? अब काग र कोइली छुट्टिने बेला आयो । हाम्रा गणतन्त्रवादी नवनायकहरू साँच्चिकै गणतन्त्र देखेर तर्सेका त होइनन् ? नत्र महाधिवेशन र आम निर्वाचनबाटै
‘ओलीतन्त्र’ हटाउन सकिनेमा गैरवामपन्थी र आफूसँंग सैद्धान्तिक, वैचारिक र राजनीतिक कार्यक्रम नमिल्ने दलका ढोका ढोकामा धाउने काम किन गरिरहेका छन् ? वसन्त आउँदैछ ।
त्यो सँघारमै छ ।
(लेखक राष्ट्रिय समाचार समितिका अध्यक्ष हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?