logo
२०८१ बैशाख २० बिहीवार



नसीरुद्दीनको हराएको औँठी र एमाले विवाद

वातावरण बिगारिदिएपछि संविधान कतिसम्म सर्वस्वीकार्य र कार्यान्वयनयोग्य दस्तावेज रहन सक्छ र ?

विचार/दृष्टिकोण |


नसीरुद्दीनको हराएको औँठी र एमाले विवाद


श्यामल अधिकारी

पन्ध्र दिनअघि मैले यसै स्तम्भमा ‘नेल्सन मण्डेला, इदी अमीन र बदलाको राजनीति’ शीर्षकमा नेपालको क्षयोन्मुख राजनीतिक मूल्यप्रणालीबारे सङ्केत गरेको थिएँ । त्यसै दिन बिहान आ–आफ्ना घरमा बसेर प्राज्ञिक अभ्यास र राजनीतिक चिन्तन गर्ने नेपालका दुईजना अग्रज विद्वान्बाट मैले स्याबासी पाएँ । दुवै जना वयोवृद्ध हुनुहुन्छ । जीवनको उत्तराद्र्धमा जीर्ण शरीर भए पनि प्राज्ञिक उन्नयन र सार्थक बहसका पक्षपाती यी दुई जीवित मनीषी हुनुुहुन्छ ः वरिष्ठ राजनीतिज्ञ, इतिहासविद् र पत्रकार अरविन्द रिमाल र पूर्वीय–पाश्चात्य वाङ्मयका प्रखर विद्वान् अध्येता वरिष्ठ लेखक राप्रउ पोखरेल । अहिलेको आदर्शविमुख, लक्ष्यविहीन र कर्तव्यच्यूत राजनीतिक प्राज्ञिक परिवेशमा उहाँहरूको अनुभवजन्य, परिपक्व र शिष्ट स्वर सायद कसैले सुन्न चाहँदैन । इमानदार स्वर नसुनिने भएरै हुनुपर्छ, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट प्रसिद्ध योजनाविद् भूगोलबेत्ता तथा प्रोफेसर डा. पीताम्बर शर्माले राजीनामा दिएको । सत्ताका लागि सारा आदर्श र मूल्य बेचिखाएका हल्काफुल्का राजनीतिक मनोरञ्जनमा मस्त राजनीतिक दलहरू र उपरी संरचनाका ठेकेदारहरूका लागि सार्थक बहसको अर्थ रहँदैन पनि ।
पहिले ‘भगवान्’ र पछि ओशोमा रूपान्तरित भारतीय आचार्य रजनीशको बेग्लै आकर्षण थियो कुनैबेला । यसबारे स्वामी आनन्द अरूण बढी आधिकारिक स्रोत हुनुहुन्छ । मैले भने रजनीशको कुनै प्रवचनमा यस्तो प्रसङ्गको उल्लेख भएको पाएको थिएँ– रजनीश इटालीका आफ्ना चेलाचेलीहरूको आग्रहमा रोम पुगेका थिए । जहिले पनि उनको यात्रा स्थानीय वा विश्वव्यापी स्तरमा प्रचारको विषय बन्थ्यो । तर यस पटक रोमका कुनै पनि अखबारले रजनीश आएको वा प्रवचन दिएको समाचार छापेनन् । कारण थियोे क्रिश्चियन धर्मगुरु पोपले एक प्रकारको धर्मादेश जारी गर्नु । रजनीश इटलीको विमानस्थलमा उत्रनुभन्दा केही अघि मात्र पोपले रोमका चल्तीका पत्रकारहरूलाई भ्याटिकनमा भेला गरेर रजनीश आएको वा गएको समाचार नछाप्न आग्रह गरेका थिए । यसबाट रजनीशको मनमा चिसो पसेको त थियो नै, समाजमा वर्चश्वशाली वर्गका उनका भिक्षु भिक्षुणी वा माँ स्वामी संज्ञा दिइएका अनुयायीहरू पनि आश्चर्यचकित भएका थिए । यो एक प्रकारको ‘ब्ल्याकआउट’ थियो । रजनीशलाई महत्त्व नै नदिनू भन्ने पोपको फर्मानको कमाल थियो यो अथवा एक प्रकारले उनको भ्रमणलाई किञ्चित महत्त्व नदिएर इसाई धार्मिक मतलाई रजनीशको प्रगाढ अध्ययनमा आधारित तार्किक आक्रमणबाट सुरक्षित राख्ने गलत उपाय थियो । धेरै इसाई मतावलम्बी रजनीशधाममा आकर्षित भएको थाहा पाएका पोपका लागि अरू थियो नै के र, उनका विचारमा यही नै अचूक अस्त्र थियो ।
रजनीश स्थापित रुढिहरूका विपक्षमा शक्तिशाली तर्कहरू उपस्थित गरेर एक भिन्नै मत सिर्जिरहेका प्रभावशाली प्रवचन गुरु थिए । पठित शिक्षित वर्ग कुनै न कुनै रूपमा उनका प्रवचनले आकर्षित भइरहेका थिए । रोमन क्याथोलिक मतको विश्वकै राजधानी भ्याटिकन सिटी रहेको प्राचीन मानव सभ्यताको एक प्रमुख जनक रोम महानगरमै रजनीशको यो यात्रा क्याथोलिक मतावलम्बीहरूका लागि खतराको सूचक भएकाले यस्तो ‘ब्ल्याक आउट’ गरिएको थियो । सञ्चार माध्यमको अत्यधिक प्रभाव रहेको अवस्थामा रजनीशको हलचलपूर्ण भ्रमण सञ्चार माध्यमको विषय नबन्नु आश्चर्यकै विषय थियो ।
नेपालमा पनि लगभग त्यस्तै छ । कसैका विचारहरू सतप्रतिसत सही नै हुन्छन् भन्ने त होइन, तर सामाजिक सञ्जालमा भरिएका गैरजिम्मेवार आलोेचनामा प्रवेश गर्ने हाम्रो नेतामण्डली र बौद्धिक वर्गले सकेसम्म गम्भीर विषयमा कसैले केही बहस चलाएको छ भने आचार्य रजनीशलाई पोपले गरेझैँ गर्छन् । सकभर नपढ्नु, पढेको भए पढेको नभन्नु, बुझेर पनि बुझ पचाइदिनु । टण्टै खलास । सभ्य समाजमा यस्तो आचरण बौद्धिक र राजनीतिक दुवै दृष्टिले त्याज्य हुन्छ ।
नेपालको राजनीतिक इतिहासमा केपी शर्मा ओली नेतृत्वको दल र सरकारका विगत तीन वर्ष विभिन्न दृष्टिले उल्लेखनीय रहने छन् । यो दलको एकता अपूरो अवस्थामै टु्ट्नमा को दोषी छ भन्ने कुराको अनुसन्धान हुँदै जानेछ । त्यसै अवधिमा पुनः एमालेमा रूपान्तरित दलका केही उपल्ला तहका नेताहरूले पार्टी विग्रहमा अगुवाइ मात्र गरेनन्, विपक्षी दलको नेतालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर आफ्नै दलको निर्वाचित प्रधानमन्त्रीविरुद्ध सक्कली वा ‘कीर्ते’ हस्ताक्षरसहित सदन र सडकमा हल्ला मच्चाए र अन्ततः अदालतमा आत्मसमर्पण गरे । नेपाली जनताको सार्वभौमसत्ता प्रयोग गर्ने जिम्मेवारी पाएका यी नेताहरूबाट अझै पनि परस्पर आक्षेप र कारबाहीहरूका दोहोरो तेहरो शृङ्खला अनवरत रूपमा चलिरहको देखिन्छ । दलहरूले ‘ फ्लोर क्रस’ जस्तो गैरसंसदीय आचरण गर्ने आफ्ना सांसदहरूलाई पदमुक्त गर्ने र अदालतले त्यस्तो दलीय अधिकारलाई अमान्य घोषित गर्ने शृङ्खला कायमै छ । यस्तो अवस्थामा शक्ति सन्तुलनका लागि खडा गरिएका राज्यका तीनै अङ्गहरू विवादित बनेका छन् । सर्वोच्च विधायिकी अधिकारसम्पन्न व्यवस्थापिकाले मुलुकलाई छ–छ महिनासम्म सरकार दिन सक्तैन, कार्यपालिका दलीय अनुशासनहीनता र गणितमा भइरहेको तलमाथिका कारण लगातार गठन पुनर्गठनको माखेसाङलोमा छटपटिएको छ र सर्वसम्मानित न्यायपालिका संसदीय व्यवस्थाका दलीय अनुशासन पद्धतिमा चित्त बुझाइरहेको देखिन्न । मन्त्रीमण्डल गठनसम्बन्धी धारा ७६ को उपधारा १ देखि ५ सम्मका व्यवस्था महाविवादमा परेको छ । देशको मूल कानुनकै पालनामा मुलुक र न्यायपालिका विवादित र विभाजित भएपछि कोभिड १९ जस्तो महामारी र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका बेला राज्यपक्षका कामहरू प्रभावित नहुने कुरै भएन । राज्यका निर्माताहरूले नै उपयुक्त र व्यवस्थित ढङ्गले काम गर्ने वातावरण बिगारिदिएपछि संविधान कतिसम्म सर्वस्वीकार्य र कार्यान्वयनयोग्य दस्तावेज रहन सक्छ र ?
नेकपा एमालेको आन्तरिक विवादलाई अहिले केन्द्रमा राखिएको छ र त्यस विवादमा काँग्रेस, माओवादी तथा एक चोइटो जसपा पसेर पारस्परिक अविश्वासको झन् ठूलो खाडलको निर्माण भएको छ । संसदीय व्यवस्थामा यस्तो अभ्यास सर्वथा अनुचित हो भन्ने मानिसहरूका कुरा सुन्न कोही पनि तयार छैन । विभिन्न स्वार्थ समूहहरूको लगानी र प्रस्तावमा ओलीबाहेक सबै अनुचितलाई सर्वाधिक उचित ठान्न सकिने गरी बलात् एक भाष्य तयार गरिएको छ । वास्तवमा एमाले नेतृत्व विवाद समाधानको साँचो न शेरबहादुर वा प्रचण्डको हातमा छ न त अदालतकै हातमा हुनुपर्ने हो । त्यो साँचो एमालेको महाधिवेशन नै हुनुपर्छ, जसले प्रधानमन्त्री र अध्यक्ष दुइटै पदमा ओली हुनुपर्छ कि पर्दैन भन्ने निक्र्योल गर्न सक्छ ।
एमालेको सन्दर्भमा मैले दशकौँं पूर्व पढेको मुल्लाह नसीरुद्दीनको यो कथा सम्झन पुगेँ । उनी गधामा चढेर कतै जाँदै थिए । त्यस दिन उनी आफ्नो फुच्चे गधामा उल्टो बसेका थिए, पुच्छरतिर मुख र टाउकोतिर ढाड गरेर । सामान्यतया पुच्छरतिर ढाड हुन्छ र जता जाने हो त्यतातर्फ मुख हुन्छ । नसीरुद्दीन गधामाथि यसरी उल्टो बस्नु सामान्य कुरो थिएन । त्यस दिन उनको एक जना आलोचकलाई देखाउनै भनेर उनी त्यसरी हिँडेका थिए । तर यो कुरो उनीबाहेक अरू कसैलाई थाहा थिएन ।
उनी यसरी हिँडेको देखेर मानिसहरू चकित थिए । धेरैले नसीरुद्दीन बौलाएको ठाने । जसले देखे, उनीहरूले सोधे, ‘ए मुल्लाह, किन उल्टो चढेको ? तिमी बौलायौ कि क्या हो !’ तर उनी यसको कुनै उत्तर नदिएर समुस्कान अघि बढिरहेका थिए ।
नसीरुद्दीनलाई पटक्कै नरुचाउने एक जनाले उनलाई रोकेर सोध्यो, ‘‘ए नसीर, यसरी उल्टो चढेर कता गइरहेको ?’’
नसीरुद्दीनले जवाफ दिए, ‘‘तँ पटमूर्खलाई के थाहा, म गइरहेको हुँ कि आइरहेको !’’
वर्तमान सन्दर्भमा हामीलाई थाहा छैन, लोकतान्त्रिक गणतन्त्र आइरहेको हो कि गइरहेको ? तथापि मानिसहरूले अवश्य नै प्रश्न गर्नेछन्, संसदीय दल नामक राजनीतिक संरचनाको अर्थ के हो ? संसदीय भनिएको व्यवस्थामा सचेतक पदको व्यवस्था गर्नुको औचित्य के हो ? मानिसहरूले फेरि पनि प्रश्न गर्नेछन्, यसरी संविधानको धारा ७६ (१) देखि (५) सम्मका विकल्पहरूले पनि देशलाई सरकार दिन सक्तैनन् भने त्यस धाराको औचित्य के हो ? के संविधान जोखिममा छैन ? जनतामा निहित सार्वभौमसत्ताको अभ्यास बहुमतको प्रधानमन्त्रीले गर्न पाउँदैन भने कसले गर्न पाउने हो ? के देशलाई सरकार दिन नसक्ने यस धाराको संशोधनको कतै गुन्जाइस छैन ? संशोधन गर्न सक्ने ताकत कसमा छ ? यसरी बहुमत पुग्नै नसक्ने गरी कृत्रिम र अवैधानिक तरिकाले विभाजन गरिएको संसद्ले संविधानका यस्ता असुविधाजनक अल्झाहरू हटाउन सक्छ ?
ओलीलाई सत्ताबाट गलहत्याएर निकाल्न उद्यत भित्री र बाहिरी शक्तिहरूका क्रियाकलापले मुल्लाह नसीरुद्दीनको अर्को एउटा कथा सम्झाउँछन् ।
एक पटक आफू बसेको कोठामै मुल्लाह नसीरुद्दीनको औँठी हरायो । कोठा निकै अँध्यारो थियो । उसले अँध्यारोमै पनि खोज्यो तर नभेटेपछि ऊ आँगनमा आएर औँठी खोज्न थाल्यो । आफ्नो श्रीमान्ले यसरी भुइँतिर घोरिएर केही खोजिरहेको देखेपछि श्रीमतीले भनिन्, ‘‘यसरी के खोजिरहेको श्रीमान्ज्यू ?’’ ‘‘औँठी हरायो, त्यसैले खोजिरहेको ।’’
‘‘ए परममूर्ख पतिदेव ! औँठी त भित्र कोठामा हराएको थियो, आँगनमा खोजेर भेटिएला त ?’’
नसीरुद्दीनले भन्यो, ‘‘कोठाभित्र त अँध्यारो छ, देखिँदैन । आँगनमा उज्यालो छ नि श्रीमती ! अँध्यारोमा खोजेर पनि कतै औँठी भेटिन्छ त ?’’
नसीरुद्दीनकी श्रीमती अचेलका हामी नेपाली जनताझैँ अवाक् भइन् ।
प्रधानमन्त्री ओलीले नमानेको भनेर आरोप लगाइएको पार्टीको विधिविधान लेखिएको बहुमूल्य औँठी एमालेको केन्द्रीय कार्यालयभित्रैको अँध्यारो कोठामा हराएको थियो । त्यहाँ खोज्न नसकेर पार्टीका नेताहरू बूढानीलकण्ठको फराकिलो र उज्यालो आँगनमा खोज्न गएका छन् । तर आँंैंठी भेटिएको छैन । औँठी खोजिदिन अर्जी हालेर उनीहरू अदालत गएका छन् । पहिले नेकपा र अहिले एमालेको कोठामा हराएको औँठी बूढानीलकण्ठको देउवा निवास वा सर्वोच्च अदालतको उज्यालो इजलासमा भेटिने हो र ?
त्यस अँध्यारो कोठाका झ्याल–ढोकाहरू नै नखोली, अथवा ‘टर्च’ नै नबालीकन महान् नैतिकवान नेताज्यूहरू अरूको आँगन उज्यालो देखेर त्यतै धुईंधुईंती औँठी खोजिरहेका छन् । छ महिना भयो, अझै त्यो औँठी भेटिएको छैन ।
(लेखक राससका कार्यकारी अध्यक्ष हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?