logo
२०८१ बैशाख २० बिहीवार



बिरालाको घाँटीमा घण्टी बाँध्ने को ?

विचार/दृष्टिकोण |


बिरालाको घाँटीमा घण्टी बाँध्ने को ?


श्यामल अधिकारी


नेपालका विभिन्न राजनीतिक दल र खासगरी तिनका उपल्लो हैसियतका नेताहरूका बारेमा भइरहेका टीकाटिप्पणी सुन्दा लाग्छ, हामीले हाम्रो समाजलाई नेतृत्व गर्न सक्ने क्षमतावान् नेता नै पाएनौँ । कुरा केही हदसम्म सही हो । त्यस्ता टीकाटिप्पणीसँग जोडिएका आग्रह हेर्दा तपाईंलाई बर्बर शासनप्रणालीबाट यस भूमिको मुक्ति र उन्नतिका लागि प्राणोत्सर्गसम्म गरेका र निकै हण्डर खाएका टङ्कप्रसाद आचार्य र छोटो समयमा पनि उनको प्रधानमन्त्रीत्वकालमा भएका युगान्तकारी कामहरूलाई हामीले स्मृतिमा राखेको देखिन्न । उनका प्रजापरिषद्कालीन सहकर्मीहरूलाई हामीले लगभग बिर्सिदिएका छौँ र यदाकदा इतिहासका पुस्तक र अनुसन्धानपत्रहरूमा सीमित गरिदिएका छाँै र, हामी त्यस्ता आग्रहकर्ताहरूका मुखारविन्दबाट महात्मा गान्धी, माओ च तुङ, नेल्सन मण्डेला, लि क्वान यु जस्ता नेताहरूका नाम सुन्दै आफ्ना कमजोरीले परिपूर्ण नेताहरूलाई सराप्न व्यस्त छौँ ।
यस्तो समाजमा फ्डिेल कास्त्रो वा अर्नेष्टो चे गुएभारा जन्मदैनन्, देउवा, ओली र प्रचण्डहरू नै जन्मन्छन् भन्ने कुरा हामीले ख्याल गर्न सकेनौँ । वास्तवमा यी नेपाली माटोका विशिष्ट रैथाने उपज हुन् । चीन, अर्जेण्टिना, क्युवा वा रसिया र भियतनाम, तत् तत् समाजका आफ्नै विशेषताहरू थिए, जसले माओ, चे, कास्त्रो, लेनिन, हो चि मिन्ह जन्माएका थिए । हाम्रो समाजको चेतनाको स्तर जे हो, त्यसले त्यही स्तरको नेता जन्माएको छ र हामी जस्ता छौँ, त्यस्तै नेता पाएका छौँ । तैपनि गालीगलौजले भरिएका सञ्चार माध्यम हेर्दा लाग्छ, हामी आफ्नै चेतनालाई सरापिरहेका छौँ ।
ब्लादिमिर इल्यिच लेनिन, माओ च तुङ, हो चि मिन्ह आदि आदि हाम्रा देखाउने दाँत हुन् । खाने दाँत त हाम्रै नेता हुन्, जसको असाधारण जीवनशैली र अकर्मण्यता वा असफलताका लागि गाली प्रतिगाली शिविरमा हामी बाँडिएका छौँ । वास्तवमा हामी के गरिरहका छौँ भन्ने हामीलाई नै थाहा छैन ।
गान्धीको महात्माको छवि विश्वमै राज गरिरहेको उपनिवेशवादी बेलायतको निर्मम शासनबाट प्रताडित करोडौँ गरिब भारतीयहरूको स्वाधीनताको सपनासँग सिद्धान्ततः अद्यापि गाँसिएको छ । उनले अपनाएको सरल र आध्यात्मिक प्रकारको जीवनशैलीले अध्यात्ममा गहिरो विश्वास राख्ने भारतीय जनताको मुक्तिका लागि समर्पित उनका अन्य धेरै समकालीन नेताहरू समेतको नेतृत्व गर्ने शक्ति आर्जन गरेको थियो । भारतीय ग्रामीण गरिबको प्रतीकजस्तो लाग्ने अद्र्धनग्न साधुको गान्धी छवि आज पनि विश्वभर सम्मानित छ । बेलायतमै कानुन पढेका गान्धीले मोहम्मद अली जिन्नाको जस्तो चरम विलासी बेलायती जीवनशैली रोज्न सक्तैनथे भन्ने होइन, तर त्यस प्रकारको छविले गान्धीको ‘महात्मा’ जस्तो विशिष्ट छवि बन्न भने सक्तैनथ्यो । पातलो धोती र लौरोको सहारामा कतै हिँडिरहेको भारतीय ग्रामीण छवि आज विश्वविख्यात छ । जनताको भावनासँग गाँसिनाले संसारका धेरै मुलुकमा उनको यस छविलाई सम्मान गरिन्छ तर हामी हाम्रै ज्युँदा नेताहरूलाई गरिरहेका छौँ ।
सदियौँ स्पेनको उपनिवेश रहेको सानो क्यारेबियाली टापुराष्ट्र क्युवालाई आजको स्वाभिमानी क्युवा बनाएका हुन् फिडेल क्याष्ट्रो र उनका अर्जेण्टिनी क्रान्तिकारी मित्र अर्नेष्टो चे गुएभाराले । उनीहरूले हजारौँ हजार क्युवालीलाई सङ्गठित गरेर शक्तिशाली छिमेकी अमेरिका समर्थित तानाशाह फुल्गेन्सियो बातिस्ताको शक्तिशाली फौजसँग लड्नुपरेको थियो । आज क्युवा विश्वका धनी राष्ट्रहरूको सूचीमा नभए पनि संसारकै सबभन्दा उन्नत स्वास्थ्य सेवा भएको स्वाभिमानी मुलुकका रूपमा प्रतिष्ठित छ । हामी कोभिड १९ को महामारीमा गठबन्धन महागठबन्धनमा व्यस्त छौँ र परस्पर गाली
गरिरहेका छौँ ।
तर हामी आफ्नै नेताहरूसँग लडिरहेका छौँ । हामीकहाँ पुष्पलाल, बीपी, मनमोहन, मदन भण्डारी आदि जन्मे र आफ्नो युगका विद्रुपताहरूसँग जुध्दाजुध्दै ती परलोक गए । इहलोकमा हामी दिवङ्गत भइसकेकाहरूको भव्यतापूर्वक श्राद्ध गरिरहेका छौँ र जीवितहरूलाई तथानाम गाली गरिरहेका छौँ । वास्तविकता के हो भने हामीले आफूलाई चाहिएका राजनीतिक दलहरू नै बनाइसकेका छैनौँ । दल बनेका छन् भने पनि तिनलाई हामीले चाहेजस्तो बनाइरहेको छैनौँ । ती कतिपय मामलामा अप्रासाङ्गिक र असान्दर्भिक भइसकेका छन् । त्यसैले हामी रूपान्तरण नभएसम्म तिनको रूपान्तरण गर्छु भन्नु पृथ्वीमा कल्पवृक्ष पाएँ भन्नुजस्तै हो ।
२०४६ सालपछि उपलब्ध राजनीतिक स्वतन्त्रताको परिणामस्वरूप पुरानो प्रजातन्त्रवादी पार्टीका रूपमा नेपाली काँग्रेस र बढी जनसमर्थित कम्युनिस्ट पार्टीका रूपमा देखिएको नेकपा माले प्रमुख खेलाडीका रूपमा देखिए । त्यस अवधिमा यी दुई दल परम्परागत प्रजातन्त्र र वैकल्पिक प्रजातन्त्रका प्रतीक बनेका थिए । निर्दलीय राजतन्त्रका पक्षपोषकहरू पनि अस्तित्वमै थिए । जतिबेला काँग्रेस उनीहरूका लागि उपयुक्त देखिएन, उनीहरूले विकल्पका रूपमा कम्युनिस्टहरूसँग समेत सत्ता साझेदारी गरेको देखियो । यतिबेला निष्ठामा आधारित सैद्धान्तिक राजनीति कमजोर बनिरहेको थियो । यो बुझ्न नसक्नु या बुझेर पनि विवश भएर उनीहरूलाई अहं स्थान दिँदै जानु काँग्रेस र कम्युनिस्ट पार्टीहरूको सैद्धन्तिक विचलनको प्रस्थानबिन्दु बन्न गयो ।
सत्ता र शक्तिका लागि जे पनि गर्न सकिन्छ भन्ने उदाहरण परिवर्तनका वाहक राजनीतिक शक्तिहरूले नै प्रस्तुत गरिदिए । र, राजनीति सम्भावनाको खेल हो, यसमा असम्भव भन्ने केही छैन, वा राजनीतिमा स्थायी शत्रु कोही पनि हुँदैन भन्ने सूत्रहरू व्यापक प्रचलनमा ल्याइदिए । सत्ता र शक्तिमा पुग्ने होडबाजीले काँग्रेस र माले (पछि एमाले) मा वैचारिक आधारमा सङ्गठित, निष्ठावान, इमानदार र सचेत शुभेच्छुक र कार्यकर्ताहरूलाई पछाडि पार्दै लाने काम गरियो । आज कुनै पनि राजनीतिक दलको समाजमा प्रभाव रहेको निष्ठावान कार्यकर्ताले आफ्नो दलमा आफ्ना विचारको कदर हुन्छ वा आफ्ना कामको मूल्याङ्कन हुन्छ भन्ने ठान्दैन । फ्लस्वरूप या ऊ ‘सम्भावनाको खेल’ मा हुत्तिन पुग्छ, या त अवसादको खाडलमा खसेर उसको राजनीतिक यात्राको अवसान हुन्छ ।
राजनीति सम्भावनाको खेल त हो तर त्यस सम्भावनालाई विचार, निष्ठा र राजनीतिक कार्यक्रमको अन्तिम सीमाभन्दा बाहिर गएर खोजिनु हँुदैनथ्यो । जस्तै, एक भयावह दुस्वप्न जस्ता घटनाहरू यत्रतत्र भइरहेका छन् । नेताहरूलाई शक्ति वा समर्थन प्राप्तिका निम्ति असल र इमानदार कार्यकर्ताहरू ‘सम्भावनाको खेल’ मा पराजित भएको अनुभव गर्छन् । उनीहरू आफूलाई बलिको बोको बनाइएको अनुभव गर्न थालेका छन् ।
दलका कार्यकर्ताहरू नेतृत्व वर्गबाट निर्वाचनमा जित्न सक्ने र नसक्ने दुई वर्गमा विभाजित गरिएका छन् । जित्न अत्यावश्यक पर्ने उम्मेदवारको सामाजिक आधार, लामो समयदेखिको प्रतिबद्धता र उसले गरेका कामलाई दोयम दर्जामा झारिएको छ । पिपलपाते, कनिष्ट, नवप्रवेशी, धनी र बाहुबली अब्बल दर्जामा उकालिएका छन् । तिनले विभिन्न तहका पदहरूका लागि प्रत्यासी बन्न टिकट पाएका छन् । र, जितेका पनि छन् । हार्नका लागि त पुरानो कार्यकर्ता छँदैछ । यस्तो विषयमा प्रश्न गर्नेहरूलाई शङ्काको दृष्टिले मात्र हेरिएको छैन, अनुशासनको कारबाहीको भागीदारसम्म बनाइएको छ, कि त तिनलाई कतै अल्झाएर पाखा लगाइएको छ ।
‘सम्भावनाको खेल’ ले गर्दा राज्यको नीति निर्माणमा पिपलपाते वर्ग हावी भएको छ । फलस्वरूप पार्टीहरूका कार्यक्रम प्रभावशाली बन्न सकेनन् । नेतृत्व यसरी पतनको दिशामा ओरालो लाग्यो । अहिलेको काँग्रेस, एमाले र जसपाभित्रका विवाद, कार्यकर्ता व्यवस्थापनका प्रश्न, असन्तुष्टि, विभिन्न तहका मतदाताहरूको किनबेच, अपहरण, होटल बुकिङ, रिसोर्ट बसाइँ, फुटका शृङ्खलाका पछाडि नेतृत्वका यिनै शक्तिखोर, अवसरवादी र सम्भावनाको खेलप्रतिको अत्यधिक आशक्तिका परिणाम हुन् । त्यसैले यस्ता दुःखद परिणामका कारक तŒवहरूलाई निषेध गर्ने गरी सैद्धान्तिक र वैचारिक आधारमा दल गठनका मूल आशयभित्रै रहने गरी परम्परागत राजनीतिक दलहरूको पुनर्गठन आवश्यक भएको देखिन्छ ।
राजनीतिक दलहरूको सङ्गठनको आधार वर्ग, नेतृत्वको संरचना, जनसहभागिताको स्तर, सङ्गठनको व्यापकता, शक्तिको निर्माण, राज्यको नीति निर्माण र परिवर्तनमा त्यसको प्रभाव र त्यसबाट उत्पन्न हुने परिणाम दुष्परिणामबारे अध्ययन गर्नु प्राज्ञिक वर्ग र खासगरी राजनीतिशास्त्रीहरूको दायित्वभित्र पर्ने विषय हो । राजनीतिक नियुक्ति वा अन्य प्रकारका व्यक्तिगत लाभहानीमा अल्झेर नेतृत्वको कमारो बन्ने व्यक्ति वा त्यस्ताले चलाएको संस्थाले यस्तो काम किमार्थ गर्न सक्तैन । जब नेतृत्व तह आलोचनामुक्त रहने चेष्टा गर्छ, राजनीतिमा विडम्बना त्यहीँबाट सुरु हुन्छ । आलोचकबाट टाढा रहने प्रयास गर्नाले अन्ततः नेतृत्व गम्भीर समस्यामा फस्न पुग्छ । अहिले यतिबेला राजनीतिक दलहरूमा नेतृत्व तहमा ‘यसम्यानहरू’ को बढ्दो प्रभावका कारण कतिपय निर्णयहरू विवादमा पर्ने गरेका छन् । असल र इमानदार कार्यकर्तालाई नेतृत्वको छेउमा पुग्न नदिने र अत्यन्त जरुरी सुझाव दिने कामलाई रोक्ने काम पनि ‘यसम्यान’ हरूका तह तहका मण्डलीहरूले नै गरेका गुनासा सार्वजनिक भइरहेका छन् । यस्ता गुनासाहरूको बेलैमा सम्बोधन गर्नका निम्ति पनि राजनीतिक दलहरूको पुनर्गठन आवश्यक भइसकेको छ ।
कुनै पनि राजनीतिक दलको गठनका निश्चित आधारहरू हुन्छन् । मानौँ, नेपाली काँग्रेस खुला बजार अर्थतन्त्रलाई जुगजुगान्तरसम्म संस्थागत गर्न चाहन्छ । उसो भए त्यसमा खुला बजार अर्थतन्त्रको समर्थक पङ्क्ति जोडिनेछ । उसले व्याख्या गर्ने प्रजातन्त्रका अनिवार्य गुणहरूमा विश्वास गर्ने र त्यही मान्यता अनुरूपको जीवनशैली अपनाउने मानिसहरू त्यसमा सङ्गठित हुनेछन् र पार्टी कार्यक्रम बनाउने तथा कार्यान्वयन गर्नेछन् ।
यस्तै नयाँ विश्व सन्दर्भमा परिवर्तित कम्युनिस्ट पार्टीका रूपमा नेकपा (एमाले) आफ्ना समाजवादी कार्यक्रमहरूलाई जनतामाझ स्थापित गर्दै प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नमा विश्वास गर्ने जनताको बहुदलीय जनवादलाई सिद्धान्त मान्छ । बलात् सत्ता हासिल गर्नुपर्छ भन्ने परम्परागत सोच र अभ्यासबाट ऊ टाढा गइसकेकाले यस सिद्धान्तलाई अङ्गीकार गर्ने र त्यही अनुरूपको जीवनशैली अपनाउन चाहने व्यक्ति र वर्ग यसमा सङ्गठित हुनेछन् । बलपूर्वक सत्ता प्राप्त गर्नुपर्छ र जातीय आधारमा राज्य खडा गर्नुपर्छ भन्ने सिद्धान्तबाट उठेको तर वस्तुगत परिस्थितिले त्यसो गर्न अनुमति नदिएपछि माओवादी केन्द्रसँगको उसको एकता दिगो रहन नसक्नु स्वाभाविकै हो । संविधानप्रतिको प्रतिबद्धताले हाललाई उसको वैचारिक प्रस्थानबिन्दु फेरिएको छ र तदनुसार रूपान्तरण हुन धेरै बाँकी छ । त्यसैले उसका पुराना र प्रतिबद्ध नेता कार्यकर्ता सुरक्षित विकल्पको खोजमा रहेको देखिन्छ ।
अरू दलहरूको पनि लेखाजोखा गरे यस्तै नतिजा निस्कनेछ । तसर्थ राजनीतिक दलहरू यही अवस्थामा रहिरहनु देशको स्वास्थ्यका लागि हानिकारक छ । नेताहरू समक्ष तुरुन्त पुनर्गठनको कार्यसूची प्रस्तुत गरिनुपर्छ । बिरालोको घाटीमा घण्टी कसले बाँध्ने ?

(लेखक राससका कार्यकारी अध्यक्ष हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?