logo
२०८१ बैशाख २० बिहीवार



नेल्सन मण्डेला, इदी अमिन र बदलाको राजनीति

विचार/दृष्टिकोण |


नेल्सन मण्डेला, इदी अमिन र बदलाको राजनीति


श्यामल अधिकारी


नेल्सन मण्डेला र इदी अमिन दुवै अफ्रिकी नेता हुन् । एक जना आफ्नो मुलुक र अझ पूरै अफ्रिकी महाद्वीपका सबै देशमा उपनिवेशवादविरोधी र रङ्गभेद विरोधी आन्दोलनमा जोडिँदै प्रजातान्त्रिक प्रणालीको स्थापनाका लागि २७ वर्ष लामो कठोर कारावास तथा सहिष्णु समावेशी राजनीतिका कारण विश्वमै स्तुत्य र बन्दनीय छन्, अर्का व्यक्ति मान्छेकै मुटु कलेजोसम्म खाने इतिहासकै क्रूरतम सैनिक तानाशाहका रूपमा विश्वमै निन्दनीय पात्रका रूपमा चिनिन्छन् । समकालीन विश्वले क्रूरताका मामलामा जर्मनीका एडोल्फ हिटलरपछि अमिनलाई चिन्दछ ।
मानिसले मर्नैपर्ने भएकाले दुवै जना मरे । मण्डेलाको मृत्युमा सम्पूर्ण विश्व समुदायले लामो समयसम्म शोक मनायो, विश्वमानव रोयो । दादा इदी अमिन मर्दा विश्व हाँस्न त हाँसेन, तर रुने कारण नै थिएन । यस्ता क्रूर शासकको पतनमा एक प्रकारले मानवताले सुखको सास फेरेको थियो ।
मण्डेला थेम्बु राजपरिवारमा जन्मेका कुलीन वर्गपुत्र थिए र ९५ वर्षको उमेरमा शान्तपूर्वक देहत्याग गरे । उनी जनताले चुनेका लोकप्रिय राष्ट्रपति थिए । उता अमीन एक साधारण जनजाति परिवारमा जन्मेका, बेलायती सेनाबाट सेवा प्रवेश गरेका तर महŒवाकाङ्क्षा चुलिँदै गएपछि सत्तापलट गरेर आफैँलाई राष्ट्रपति घोषणा गरेका व्यक्ति थिए । मण्डेलाको जीवन पारदर्शी छ, जन्मदेखि मृत्युसम्म । अमिनको जन्ममिति र स्थान पनि विवादास्पद छन् । जे होस्, मानौँ, उनी कम्पालामा १९२३ मा काक्वा जनजातिको कुलमा जन्मे र साउदी अरबियाको जेद्दास्थित राजा फैजल विशेषज्ञ अस्पताल तथा अनुसन्धान केन्द्रमा मिर्गौलाले काम गर्न छोडेपछि सन् २००३ मा उनको मृत्यु भयो । उनकी चांैथी पत्नी नालोंगो मदिनाले कोमामा रहेका आफ्ना पतिलाई अन्तिम समयमा युगाण्डा फर्काउन तत्कालीन राष्ट्रपति मुसेबिनी समक्ष बिन्ती गरिन् तर उनले अमिनले गरेका पापको प्रायश्चित गर्नुपर्ने उत्तर दिए । अब अमिनलाई उगाण्डा फर्काउन असम्भव भएकाले परिवारले तत्कालै ‘लाइफ सपोर्ट’ विच्छेद गरिदिए ।
यी दुवै अफ्रिकी नेता थिए । दुवै युरोपेली र खासगरी रङ्गभेदी बेलायती गोरो साम्राज्यवादका दासताको जाँतोमुनि पिसिएका जनताका माझ जन्मे हुर्केका थिए । दुबै अश्वेत थिए । दुवै जना आ–आफ्नो देशका राष्ट्रपति भए । सामान्यतः यी दुई व्यक्तिको समानता यति नै हो । अरू त भिन्नतै भिन्नता देखिन्छन् । नेल्सन मण्डेलालाई दक्षिण अफ्रिकी जनताले फेरि फेरि पनि आफ्नो राष्ट्रपतिमा देख्न चाहेका थिए । तर मूल्यको राजनीति र राजनीतिको मूल्य बुझेका यी युग पुरुषले फेरि राष्ट्रपति पदमा बस्न चाहेनन् । वैचारिक दृष्टिले अफ्रिकी राष्ट्रवादी र समाजवादी रहेका मण्डेला माक्र्सवादबाट गहिरोसँग प्रभावित थिए तसर्थ उनीे गोप्य रूपमा प्रतिबन्धित दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीमा पनि जोडिएका थिए । विश्वबाटै यति ठूलो प्रतिष्ठा पाएका उनले आफ्नो जीवनी पनि लेखाए, किनभने उनको जीवनबाट मानव जातिले धेरै कुरा सिक्नु थियो । अमिनले न आफूले आफ्नो जीवनी लेखे, न कसैलाई लेखाए, किनभने उनीबाट मानवजगत्ले केही सिक्नु थिएन ।
मलाई थाहा छैन, नेपालका शीर्ष नेपाली नेताहरूले नेल्सन मण्डेलाको ‘स्वतन्त्रतातर्फकोे लामो बाटो’ (अ लङ वाक टु फ्रीडम ) पढेर उनको सोच र संघर्षका बारेमा जानकारी लिएका छन् कि छैनन् ? तर त्यस पुस्तकले उनको राजनीतिक ध्येय, यात्रा, व्यवधान, गिरफ्तारी, यातना, करिब तीन दशक लामो बन्दी जीवन, उनका परिवारको दशा र आफ्नो सिद्धान्त र जनताप्रतिको उनको अप्रतीम निष्ठाका बारेमा हामीलाई राम्रैसँग शिक्षित तुल्याउँछ । सहिष्णुता र त्याग के हुन् र तिनले अन्ततः के प्रतिफल दिन्छन् भन्ने बारेमा पनि हामी त्यस पुस्तकबाट सिक्न सक्छौँ । हामो देशमा मण्डेला जत्तिकै बौद्धिक र राजनीतिक उचाइ प्राप्त नगरे पनि लामो समय बन्दी जीवन बिताएका निष्ठावान नेता छन् । रोचक कुरा के छ भने झापा आन्दोलनका नेता मोहनचन्द्र अधिकारीलाई त कुनै बेला नेपालका मण्डेला भनिन्थ्यो भलै कालान्तरमा उहाँप्रति पार्टीका चल्तापुर्जा नेताहरूले गरेको व्यवहार, त्यसबाट उहाँमा पलाएको घोर निराशा र पलायनले उहाँ स्वयंले त्यो जनप्रदत्त पदवी गुमाउनुभयो । बीपी र पुष्पलाल तथा उहाँहरूका निष्ठावान नेता कार्यकर्ताका सङ्घर्षका बेग्लै प्रेरक कथाहरू हामीकहाँ उपलब्ध छ्न् ।
नेपालमा हामीले पनि सयौँ वर्षको सङ्घर्षपछि आफ्नो संविधान आफैँ बनाउने अवस्थामा आइपुगेको घटना ताजै छ । जनताले आफ्नो भाग्यरेखा निर्धारण आफैँले गर्ने अवसर आइपुग्दा अल्पदृष्टिका राजनीतिकर्मीहरू संविधान बनाउने आसनमा बसेपछि चार वर्षमै जनमुखी संविधान बनाउने काम लम्बिएर मुलुकका आठ वर्ष खेर गएका थिए । आज देखिंँदैछ, त्यही संविधानका विवादास्पद् धाराहरूका कारण नेपालको राजनीति अनिर्णयको बन्दी भएको छ, मुलुकको समय बर्बाद भएको छ र शक्ति पृथकीकरणको सिद्धान्त ‘कोमा’ मा परेको छ ।
नेल्सन मण्डेलाका जीवनबाट हामीले सिक्ने एउटा महŒवपूर्ण कुरा हो देशको नेतृत्व गर्नेहरू सहिष्णु र बढीभन्दा बढी समावेशी हुनुपर्छ । उनको त्यस पुस्तकमा कुन कुन विशेष परिस्थिति र घटनामा उनले सहिष्णुता र त्याग देखाए भन्ने अनेकौँ दृष्टान्त दिइएका छन् । यतिसम्म कि आफूलाई जीवनभर दुःख र यातना दिएका पहिलेका गोरा शासकहरूका प्रतिनिधि राष्ट्रपति बोथालाई उनले आफ्ना उपराष्ट्रपतिमा ल्याए र हत्याको विवादमा मुछिएकी आफ्नै पत्नी बिन्नीसँग सम्बन्ध विच्छेद गरे ।
नेपालका महामना नेताजीहरू, आफ्ना कायकर्ताका बाआमाहरू, काकाकाकीहरू, दाइदिदीहरू, कामरेडहरू, कृपया त्यो पुस्तक पढ्नुहोस् र भन्नुहोस् तपाईंहरूले विगतमा गरेका त्याग र सङ्घर्षको प्रतिफल के हो ? के यो संविधान हो, जसलाई आफू अनुकूल व्याख्या गर्दै हरेक मामलामा अदालत पु¥याउँदै पक्षाघातको शिकार बनाइएको छ ? के तपार्इंहरू सत्ता वा शक्तिमा आउनेबित्तिकै गरिएका राज्यका यिनै आकर्षक नियुक्तिहरू हुन्, जो चरम विवादित हुन्छन् र तपाईंहरूलाई आफ्नै परिवार, नातागोता, आसेपासे भर्ना गरेको आरोप लागिरहन्छ र तपाईंले स्पष्टीकरण दिँदा पनि जनतालाई किमार्थ चित्त बुझ्दैन ? तपाईंले दिएको स्पष्टीकरण के कारणले पनि चित्त बुझ्दैन भने, मण्डेलाकै जीवनको प्रसङ्गमा पनि, विन्नीजस्ती सङ्घर्षशील क्रान्तिकारी र त्यागी पत्नीलाई छाड्नुपर्ने अवस्थामा पनि उनले आफ्ना आचारविचार र सिद्धान्तमा सम्झैता गरेनन् । तपाईं भन्नुहुन्छ, उनले पनि यस्तो नियुक्ति पाउन सक्ने ढङ्गले सङ्घर्ष गरेका छन्, तसर्थ तिनको हक छ । तपाईंले त्यो हक परिवार वा आफन्तलाई दिँदा २७ वर्ष आफ्नो लोग्ने कठोर कारावासमा रहेका मण्डेलाकी पत्नी विन्नीको असाधारण बलिदान, त्याग र सङ्घर्षलाई सन्दर्भमा लिनु पर्दैन ? पत्नीका आधारमा उनलाई अरू भन्दा विशेष स्थान वा सुविधा दिएको प्रमाण कतै भेट्नुहुन्छ त ? किन पद रिक्त हुँदा विभिन्न आयोगमा, कूटनीतिक नियोगमा, निर्वाचनका बेला उम्मेदवारीमा तपाईंहरूले आफ्ना मानिसहरूलाई नै नियुक्ति वा टिकट दिएको हल्ला चल्छ र तपाईंहरू त्यसलाई जायज ठहराउन अनेकखाले तर्कहरूको आविष्कार गर्नुहुन्छ ? एकछिन, काँग्रेस र एमालेजस्ता तपाईंहरूले समेत प्रतिक्रान्तिकारी भनी ठहर गरेका दलका शासकीय व्यवहारलाई पन्छाएर हेरौँ । तिनलाई त ०५२ सालदेखि ०६३ सालसम्म संसद्वादी बुर्जुवाको पगरी थमाइएको थियो । अहिलेको गणतन्त्रका शिलान्यासकर्ताका रूपमा आफूलाई उभ्याउने सर्वोच्च कमाण्डर र उहाँका उद्भट सिद्धान्तकार बाबुराम भट्टराईलाई किन नातागोतालाई विशेष अनुग्रह राखेको बात लाग्यो ? तपाईंहरूले मण्डेलाको पुस्तक पढ्नुभयो भने तपाईंलाई त्यागको मूल्य कहाँ खोज्ने भन्ने मार्गदर्शन गर्न सक्छ ।
अहिले नेपालको राजनीति सम्हाल्नै कठिन हुने गरी बिथोलिएको छ । एक प्रकारले सङ्कटापन्न छ नेपाली राजनीति । स्पष्ट छ, प्रधानमन्त्री ओलीलाई विश्वास नगर्ने, उहाँलाई सहनै नसक्ने र उहाँको निर्वाचित पार्टीसत्ता र सरकारलाई मूलोच्छेद गरिछाड्ने गैरसैद्धान्तिक अभिप्रायबाट प्रेरित थियो यो विवाद । त्यसका वैधानिक आधार र संरचनाहरूलाई क्रियाशील गरी वैधानिक तवरबाटै निकास निकाल्न सम्भव थियो र यस्तो प्रयासलाई उहाँले सम्मान पनि गर्नुभएको देखिएको थियो । तर मुद्दा बढी नै लेनदेनतिर मोडिएपछि एमालेको आन्तरिक राजनीतिले पार्टी महाधिवेशनबाट निर्र्धािरत लक्ष्मणरेखा पार गर्नु स्वाभाविक थियो । त्यसपछि, त्यो मुद्दा उसको नियन्त्रणभन्दा बाहिर पुग्यो र अन्य शक्तिहरू जोडिए । यो एमालेकै ओलीको विपक्षमा रहेका कामरेडहरूले भित्र असफलता हात लागेपछि निम्त्याएको निकृष्ट अवस्था थियो । यसकै कारण बहुमतको सरकार अल्पमतमा बदलियो, संसद् विघटन भयो, ओलीविरोधी महागठबन्धनले पाँच महिनासम्म सरकार गठन गर्न सकेन, फेरि ओली नै प्रधानमन्त्री बन्नुप¥यो र फेरि संसद् विघटन भयो, यसका साथै निर्वाचनको घोषणा पनि भयो । यसरी एमालेकै अल्पपक्ष र जसपाको अल्पपक्षसहित १४६ जना निवर्तमान सांसदहरू अदालत परिसरमा पुगेको अप्रिय दृश्य मुलुकले देख्नुप¥यो । बहुदलीय लोकतान्त्रिक गणतन्त्रको अनुहारमा अस्वस्थ दलीय राजनीतिको फोहोर लाग्यो र अहिले अदालत सामु त्यो फोहोर सफा गर्ने दायित्व आइलागेको छ ।
आखिर एक पूर्ण बहुमतसहितको सत्तासीन दलमा यस्तो किन भयो ? बाहिर हल्ला गरिएझैँ के प्रधानमन्त्री ओली मात्र यसको लागि जिम्मेवार हुनुहुन्छ ? कि मूल्यको राजनीतिमा विश्वास गर्ने, मुलुक र जनतालाई गरिबी र शोषणबाट मुक्त गर्ने सङ्कल्प लिएका दलहरूले दलीय अनुशासनप्रतिको उपेक्षाभाव पनि यसमा जिम्मेवार छ ? बदलाको राजनीतिमा एक पक्ष मात्र दोषी रहँदैन । नेल्सन मण्डेलाले बदलाको राजनीति गरेको भए दक्षिण अफ्रिकाको राजनीतिक दिशा कतातिर जाने थियो ? त्यहाँको सामाजिक संरचनामा गोराहरूले कस्तो व्यवहार भोग्नुपर्ने थियो ? के हामी जिम्बाब्बेको ‘केस स्टडी’बारे सचेत छौं ? पक्कै पनि, बदलाको राजनीतिले दक्षिण अफ्रिकाको सामाजिक संरचना अझ बढी खल्बलिने थियो र मुलुक गृहयुद्धमा प्रवेश गर्ने अवस्था थियो । मण्डेलाले बोथालाई आफ्ना शासनमा आमन्त्रण गरेर त्यो अप्रिय सम्भावनालाई गर्भमै तुहाइदिएका थिए र राजनीतिक सहिष्णुताको अर्थ के हो हामीलाई बताइदिएका थिए । यद्यपि मण्डेलाको यस्तो शासकीय व्यवहारप्राति असहमत हुने ठूलो सङ्ख्या छ तर अब त्यसलाई दक्षिण अफ्रिकाको संविधानले नै मार्गनिर्देश गरिसकेको छ । अब मण्डेलकाको दल एएनसीका उग्र समर्थकहरूले उल्टो बाटो लिने आधार गुमाइसकेका छन् ।
कुनै खास विषयमा, कार्यक्रममा, नीतिनिर्माणमा वा नियुक्ति अथवा शासन सञ्चालनमा विमतिहरू रहेका थिए भने त्यस्ता समस्या हल गर्ने थलो पार्टी संरचनाहरू हुन् कि पार्टी बाहिरका शक्तिहरू ? नेतृत्वमा रहेका उपल्लो तहका नेताहरूले यही वास्तविकता महसुस गर्न थाले भने आफ्नो गल्ती खुट्याउन समय लाग्ने छैन ।
मण्डेलाले त्यसै पुस्तकमा भनेका छन्, ‘‘अर्को व्यक्तिलाई उसको छालाको रङ्ग, उसको पृष्ठभूमि वा उसको धर्मको आधारमा घृणा गर्न कोही व्यक्ति पनि जन्मेको हुँदैन । मानिसले घृणा गर्न जान्नुपर्छ घृणा गर्न जानेपछि तिनलाई प्रेम गर्न सिकाउन सकिन्छ किनभने प्रेम मानिसको हृदयमा रहेको प्रकृतिप्रदत्त कुरा हो, घृणा होइन ।’’नेतावृन्द, यही झगडाको मेसोमा ‘अ लङ वाक टु फ्रिडम’ भन्ने पुस्तक पढ्ने हो कि ? त्यसले तपाईंले चाहेको र देखाएको शासकीय व्यवहारलाई सही बाटो देखाउन सक्छ भन्ने मेरो झिनो विश्वास छ ।

(लेखक राससका कार्यकारी अध्यक्ष हुनुहुन्छ । ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?