गोपीनाथ मैनाली
शताब्दीका पुस्ताहरू (मिलेनियल्स) निर्भिक, पौरखी र स्वाभिमानी छन् । अघिल्लोको तुलनामा दुःख, कष्ट र धेरैखाले तनाव व्यहोरेकोले पनि यो पुस्ता आफ्नैपन र पौरखमा बाँच्न चाहन्छ । अरूको चियोचर्चो गर्ने र त्यत्तिकै समय खेर फाल्ने सोच र फुर्सद योसँग छैन । शिक्षा र सीपमा रमाउने, परिश्रम गर्ने र निरन्तर आफ्ना लागि खट्ने, आफ्नै लागि गर्ने प्रवृत्ति पुस्ताका चोखे लाग्ने विशेषता हुन् । केवल थोरै प्रोत्साहन र वातावरणले धेरै उत्साही हुन्छ । तर आफूअघिको पुस्ताप्रति त्यति अनुराग राख्दैन । शायद आफ्नो पुस्ताका लागि मनग्गै उपलब्धि नदिएकोमा त्यति खुसी छैन । समाजमा हुर्किएको नकारात्मक संस्कृति र अवसरहीनता विरासतको रूपमा पाएकोले पनि त्यसको क्षतिपूर्ति समेत हुनेगरी मिलेनियल्स कामप्रति आक्रामक छ । त्यो यस पुस्ताबाट युगले मागेको जिम्मेवारी पनि हो ।
शताब्दीका अवसरबाट मिलेनियल्स रमाएका छन् । रमाउने तरिका पनि उसले जानेको छ । विचार, ज्ञान र प्रविधिको लगातार विष्फोटले अवसरका अवरोधहरू गल्र्याम्गुर्लुम्म ढलेका छन् । विश्वव्यापी अवसरको उपयोग आफ्नै घर आँगनमा बसेर लिन हौसिएको छ । नेपाली समाजको बैविध्यपूर्ण विशेषता पनि उसका लागि अवसर हो । धेरैमध्ये भौगोलिक विविधताबाट ऊ निकै उत्साही छ । उसका अर्थमा विविधता विकटता होइन, सम्भावनाको हो । विविधता सम्भावनाका धरोहर हुन्, मनोरञ्जन र उत्पादनका विशेष अवसर हुन् । अवस्थिति, हावापानी, प्रकृति, संस्कृतिलगायत धेरै कुराको विविधता धेरै कुरा गर्न सकिन्छ भन्ने सन्देश पनि हो । सम्भावनाको पौल भएर पनि नेपाली समाज उपयोगमा भने ‘भर्जिन’ छ । पानी, खानी, वन, भूमि र अरू धेरै कुरा उपयोगमा भर्जिन छन् । विश्व शिखर सगरमाथा नेपालमा मात्र छ, जीवित देवी कुमारीले अन्यत्र नपाइने मौलिक संस्कृतिलाई बचाइरहेकी छन्, ज्ञानका सागर सिद्धार्थ गौतमको जन्मभूमि लुम्बिनी नेपालमा नै छ । यी प्राकृतिक एकाधिकारका अमूल्य निधिबाहेक हिन्दकुश क्षेत्रकै ताजापानीको अजस्र स्रोत हिमाल, अन्यत्र नपाइने जैविक विविधता÷फ्लोराफोना, तपोस्थल, योगभूमि र पुराण र इतिहासले भनेको अरू धेरै कुराले नेपाललाई पछ्याइरहेको छ । यी मूर्त–अमूर्त सभ्यता र संस्कृतिमा उभिएर नेपालको पहिचान स्थापित गर्न सकिन्छ, सम्बन्ध विस्तार गर्न सकिन्छ र आर्थिक उपार्जन गर्न सकिन्छ । मिलेनियल्स आफ्ना पूर्वजले त्यति वास्ता नगरेका यी सम्भावना उपयोगमा रमाउँदैछ । उसलाई थाहा छ, यी सम्पदाहरू उत्पादनका कहिल्यै नसकिने, उत्सर्जन पनि नहुने समृद्धिका दिगो स्रोत हुन् ।
मिलेनियल्स ‘स्टार्ट अप’ र ‘स्मार्ट’ व्यवसायका पारखी छन् । आफ्ना पूर्वजका काम गर्ने प्रविधि र कामप्रति पनि उनीहरूको असहमति छ । आफ्नो मौलिकतामा आफ्नै पहिचानको ब्राण्ड उसको हुटहुटी हो । उनीहरूको कार्यमा नै मुलुक र समाजको भविष्य अडेको छ । उनीहरू ‘स्मार्ट’ हुनु वा ‘स्टार्ट अप’ का पारखी हुनु भनेको अघिल्ला पुस्ताप्रतिको असहमति त हँुदै हो, यसका अलावा आफूहरू स्वाभिमानी बन्छु, प्रवर्तन र खोजमा लाग्छु र सिर्जनाले शक्ति कमाउँछु भन्ने पनि हो । यो पुस्ता आफ्नैपन र आफ्नै शैलीमा बाच्न र गर्न चाहन्छ । उनीहरूलाई थाहा छ अरूको दोष औँल्याएर अरूलाई लाञ्छाना लगाउनुले अकर्मण्यता र नकारात्मता मात्र दिन्छ,, जो हँुदै आएको छ । त्यसो गर्नु आफैँ खुम्चिुनु मात्र हो, सिर्जनाका लागि आफ्नैपन र लगातारको तदारुकता चाहिन्छ । सूचना सञ्चारको साँचो हातमा पाउने भाग्यमानी पुस्ता भएकाले पनि मिलेनियल्स थुप्रै अवसर दोहन गर्ने सामथ्र्यमा छन् । त्यसैले उनीहरू राजनीतिका अर्थहीन संवाद, धार्मिक, सामुदायिक, जातीय, लिङ्गीय बहसभन्दा अलि टाढा रहेर सँग्लो जीवन निर्माण गर्न उद्यत छन् । स्टार्ट अप व्यवसायले उसलाई सघाउँदैछ ।
यो शताब्दी धेरै कुराको नयाँ युग हो । प्रविधिले नयाँ रूप लिंदैछ, ‘न्यू एज’ सञ्चारले आमसञ्चारलाई आयामिक र जीवन्त बनाइरहेको छ, फिन्टेकले वित्तीय कारोवारमा नयाँपन दिएको छ, पढ्ने पढाउने विधि प्रविधि नयाँ बन्दैछन् । उत्पादन र आपूर्ति प्रणाली पनि बदलिएको छ, कार्यस्थल बदलिएका छन्, सेवा व्यवस्थापनका क्यू र काउन्टर पनि फेरिएका छन् र अरू धेरै कुरा लगातार फेरिने क्रममा छन् । भन्ने गरिएको अन्वेषणशील समाज निर्माणको क्रममा छ । त्यसैले अघिल्लो शताब्दीले अपनाएको एकल वृत्तिविज्ञता करिव गतावधिक भइसक्यो । अगिल्लो पुस्ता (वेवी वुमर्सदेखि एक्स जेनेरेसनसम्म) एकल वृत्तिका लागि एकल सीपको प्रवीणतामा रमाउँथ्यो । शिक्षक, चिकित्सक, मेकानिक्स, कृषक, व्यवस्थापक, बैङ्कर, इञ्जिनियर आदि एकल वृत्तिका विज्ञ थिए, त्यो नै पर्याप्त मानिन्थ्यो ।
एक्काइसौँ शताब्दी बहुसीपको युग हो । अब हाम्रा विद्यालय एकसाथ विद्याका गृह र सीपका कार्यशाला बन्नुपर्छ । सीप, शिक्षा र संस्कृति साथसाथ भएमा मात्र शताब्दीको मौलिक जीवनशैली भोग्न सकिन्छ । परिवेशका अवसर लिन, अवसर उपयोगबाट सिर्जना गर्न र सिर्जनाको उन्नयनबाट राष्ट्रिय विकासमा योगदान गर्न बहुसीप चाहिने भएको छ । बहुसीप एउटा अवस्थामा पुगेपछि निरन्तरको परिस्करणबाट सामाजिक प्रजननशीलतालाई सतत् गराउन सक्छ, सामाजिक अर्थव्यवस्थालाई लगातार गतिशील बनाउन सक्छ । अन्यथा यो पुस्ता केही दशकमा नै अस्वाभाविक बन्ने खतरामा छ । शताब्दीका युवा यस कुरामा राम्रो हेक्का राख्छन् र यसै प्रकारको शिक्षण, प्रशिक्षणको माग गरिरहेका छन् । अघिल्लो पुस्ताझैँ गतावधिक बन्ने छुट यस पुस्तामा छैन । न अरूको सिर्जनाको उपभोगमा यो पुस्ता रमाउन हुन्छ । तर औपचारिक संस्था र नेतृत्वको डीएनए परिवर्तन भइसकेको छैन ।
नेपालमा नयाँ सीप र प्रवत्र्तन चाहिने क्षेत्र कृषि हो । कृषि पेसा व्यवसाय बनेको छैन, निर्वाह बनेको छ । आधा शताब्दीदेखि कृषिबाट युवा विषयान्तर छन् । शिक्षा र सीपको सम्बन्ध विच्छेद भएकोले श्रम गर्ने संस्कार हराएको छ । पढलेखा, सीप र शिक्षा भएका व्यक्तिहरूको खाँचो कृषिमा छ तर कृषि शिक्षा र संस्कारबाट उपेक्षित छ । कृषि फसल र पशु उत्पादन, प्रशोधन, आपूर्तिको मूल्यसिक्री नै छैन । अनुदान वा कृषि साधनको उपलब्धताले कृषि पेसा बन्न सक्दैन, कृषिले इज्जत आर्जन गर्न सक्दैन । जबसम्म सक्षम युवा कृषिलाई आफ्नो वृत्ति चयनको क्षेत्र स्वीकार्दैनन्, यो स्थिति रहिरहन्छ । पढेलेखेका, धनीमानी र सुटटाई लगाएका मानिसको रोजाइमा कृषि पेसा नपरेसम्म खाद्य सुरक्षा, आत्मनिर्भरता, निर्यात प्रवद्र्धन र मूल्य शृङ्खला विकासका कुराहरू केवल कुरामा सीमित हुन्छन्् ।
मिलेनियल्सलाई कृषिको सम्भावना उपयोग गर्नेगरी सीप, साधन र प्रविधिले सशक्तीकृत गर्नुपर्छ । यस शताब्दीका पुस्ता जुझारु छन्, कर्मप्रीय छन्, प्रोत्साहन र पहिचान दिए पुग्छ । त्यसपछि मात्र कृषि निर्वाहबाट व्यवसायमा उकालो लाग्छ । त्यतिबेला बल्ल कृषि क्रान्ति सुरु हुन्छ । गैरकृषकहरूले कृषि व्यवसायको कुरा गर्ने, शिक्षा र उपदेश दिने गरिँदासम्म कृषकहरू यस विषयलाई अन्तरबोध नै गर्दैनन् । कृषिलाई वितरण बनाइनु हुन्न, व्यवसाय बनाइनुपर्छ । युवा कृषिलाई स्टार्ट अपमा लैजाने कार्यक्रम अहिलेको आवश्यकता हो । विविधता र जलवायुले पनि नेपालमा कृषिले प्रशस्त सम्भावना दिएको छ । तर कृषिले वास्तविक कार्यसूची नपाएकाले सम्भावनाबीचको अभाव हाम्रो वास्तविकता बन्यो । उत्पादन र उपभोगबीच फौबन्जारको बाक्लो मेला छ, पशुउत्पादन गोठदेखि ओठसम्म आइपुग्दा ठूलो मध्यस्थ दलाली छ । पसिना र उपभोगबीचको ठूलो अन्तर व्यवसायको आचरण होइन । शताब्दीका पुस्ताहरू त्यो बार भत्काएर कृषिलाई नयाँ पहिचान दिन चाहिरहेका छन् । ससानो सुरुवात छ, तर ठूलो फड्कोको लागि प्रोत्साहन खोजिरहेका छन् ।
समय बलवान छ, समयलाई सञ्चय गर्न पनि सकिँदैन । समयका अवसर टिप्न नसके समयले नै व्यक्तिलाई किनारा लगाउँछ । यस शताब्दीमा अकल्पनीय सुविधा उपलब्ध छन्, युवा सुविधा लिन अग्रपङ्क्तिमा छन् । सुविधाका पारखी युवा खुसी छन् । तर युवाले बुझ्नुपर्छ कि यी सबै सुविधा आफूजस्तै युवाको परिश्रम, खोज र आविस्कारका परिणाम हुन् । त्यसैले अवसरको स्वादमा रमाएर युवा दायित्व पूरा हँुदैन । आउने पुस्ता (जिलेनियल्स) का लागि उसले पनि अरू सुविधा, खोज र प्रणाली निर्माण गर्न सक्नुपर्छ । राम्रो प्रणाली र समाज निर्माण गरेर हस्तान्तरण गर्नुपर्छ । त्यसो गर्न मिलेनियल्स पुस्ताभित्र शक्ति र सामथ्र्य छ । उसले आफ्नै जन्मभूमिमा आ्फ्नो भविष्य देख्नु पर्छ, श्रम गर्न लजाउनु हुन्न, तत्काल सफलता हात नलागे पनि धैर्य र लगनमा निरन्तर रहनु पर्छ, आरोप संस्कृतिबाट सकारात्मक बन्नुपर्छ । विद्यमान बिब्ल्याँटा र विसङ्गति हटाउने अभिभारा यही पुस्तामा छ । मिलेनियल्सको परिश्रम र पौरखमा नै राष्ट्रको भविष्य छ । समाजमा आशा र उत्साहको सञ्चार यही पुस्ताले जगाउन सक्छ ।
(लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ ।)