logo
२०७९ श्रावण २५ बुधवार



धौलागिरि हिमालमा कीर्तिमान

विचार/दृष्टिकोण |




 

जुद्धबहादुर गुरुङ

विश्व पर्यटन बजारमा नेपाल पर्वतारोहण र पदयात्राका लागि प्रख्यात छ । यसका दुई कारण छन्– विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमचुचुरा नेपालमै हुनु र विश्वका धेरै मानिस यिनै चुचुरोको स्थलगत भ्रमण गरी यिनलाई नजिकबाट नियाल्ने रुचि राख्नु । एकथरी मानिस विश्वका जोखिमपूर्ण यात्रा गर्न रुचाउँछन् र पर्वतारोहणका लागि नेपालमा आउने गर्दछन् । नेपाल पर्वतारोहणका लागि उपयुक्त गन्तव्य मात्र नभएर यस क्षेत्रका दक्ष जनशक्ति पनि यहाँ उपलब्ध छन् । पर्वतारोहीको अनुभव तथा भनाई पछ्याउँदै विभिन्न देशका मानिस पदयात्राका लागि नेपाल आउने गर्छन् ।
सन् १९१९ मा पहिलोपटक सगरमाथा आरोहण गर्ने प्रयास बेलायती पर्वतारोहण दलले गरेको देखिन्छ । कर्णेल चाल्र्स हर्वाड वुरीको नेतृत्वमा पाँच सदस्यीय माउन्ट एभरेस्ट समिति गठन गरी आरोहणमा लागेका थिए । यिनै दलका सदस्यले उत्तरी मोहडाबाट आरोहण गरी सात हजार २० मिटरको उचाइमा पहिलोपटक मानिसले पाइला टेकेको थियो । सगरमाथा आरोहण अभियानमा युरोपेली पर्वतारोहीले निरन्तरता दिए । सन् १९२२ देखि निरन्तर तीन दशकभन्दा बढी समय विभिन्न नाममा सगरमाथा पर्वतरोहण अभियान जारी रह्यो । यो क्रम जारी नै छ ।

अर्कातर्फ आरोहणको इतिहासमा सन् १९५० मा पश्चिम नेपाल अर्थात् गण्डकी प्रदेशको सर्वोच्च हिमशिखर धौलागिरि हिमाल आरोहण गर्न आएको माउरिस हरजोक नेतृत्वको फ्रान्सेली दलले धौलागिरि नचढी अन्नपूर्ण प्रथम (आठ हजार ०९१ मिटर)तर्फ लाग्यो । सन् १९५० जुन ३ मा सो दलले सफल आरोहण ग¥यो । यस आरोहणले विश्वका आठ हजार मिटरभन्दा अग्ला शिखरमा सर्वप्रथम आरोहण गर्ने कीर्तिमान कायम गयो । यो आरोहण विश्वभर चर्चाको विषय बन्यो, विश्वका पर्वतारोहीलाई उत्साही बनायो । यस आरोहणले आठ हजार मिटरभन्दा अग्ला हिमशिखर आरोहणको शुभारभ्भ गरायो । यसपश्चात् हिमाल आरोहीले निरन्तर सफलता प्राप्त गरे । अन्नपूर्णको सफल आरोहणपश्चात् सन् १९५३ मे १३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा (आठ हजार ८४८ मिटर) सफल आरोहण गरे । पाँच दशक पर्वतारोहणको दशकका रूपमा रह्यो । यस अवधिमा आठ हजारभन्दा अग्ला अधिकांश हिमालको सफल आरोहण गरियो । यो आरोहणले विश्व बजारमा नेपालको पर्वतरोहण अभियानलाई चर्चाको अझ शिखरमा पु¥यायो ।

सन् १९५५ मे १५ मा मकालु हिमाल (आठ हजार ४६३ मिटर) जोन कोजी नेतृत्वको फ्रान्सेली पर्वतारोहीको दलले र सोही सालको मे २५ मा विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा (आठ हजार ५८६ मिटर) बेलायती पर्वतारोही जर्ज क्रिस्टोफर वन्डको दलले सफल आरोहण ग¥यो । सन् १९५६ मे ९ मा पर्वतारोही तोसियो इमायासीको नेतृत्वमा जापानी दलले मनास्लु हिमाल (आठ हजार १६३ मिटर) र सोही साल मे १८ मा विश्वको चौथो अग्लो ल्होत्से हिमाल (आठ हजार ५१६ मिटर) स्विस नागरिक आर्नेस रेइजीको दलले सफल आरोहण ग¥यो । यसरी १९५० को दशकमा अधिकांश अग्ला हिमाल पर्वतारोहीले सफल आरोहण गरे ।
धौलागिरि हिमाल आरोहणको इतिहास र विशेषता भिन्न किसिमको छ । सन् १९५३ देखि स्विस दलले आरोहणको पहिलो प्रयास गरेको थियो । यसलगत्तै अर्जेन्टिनाको ठूलो आरोही दलले पनि आरोहणको प्रयास ग¥यो तर सफल भएन । पर्वतारोहणको इतिहासमा धौलागिरि आरोहण अन्य हिमाल आरोहणभन्दा भिन्न वा विशेष किसिमको छ । सन् १९६० मे १३ मा म्याक्स इसिलिनको नेतृत्वमा स्विस र अस्ट्रियाको संयुक्त सात सदस्यीय आरोही दलले धौलागिरि हिमाल (आठ हजार १६७ मिटर)को शिखर चुम्न विशेष किसिमको विमान प्रयोग गरिएको थियो । त्यो विमानलाई पिल्याट पोर्टसको इन्जिन भए पनि ‘यती हिमालय’ भनी नामकरण गरिएको थियो ।
धौलागिरि आरोहणका सदस्य तथा पर्वतारोही कुर्त डाइम्बर्गरको दैनिकी अनुसार यती हिमालय विमान मार्च १२ मा जुरिचबाट छ जना पर्वतारोही सदस्य लिएर नेपालका लागि उडेको आठ दिनपछि (मार्च २०) मात्र काठमाडौँमा आइपुगेको थियो । आरोही दलका अन्य सदस्य फेब्रुअरी २९ मा जुरिचबाट भारतको बम्बई हुँदै नेपाल आएका थिए । बम्बईबाट आरोहण सामग्री लरीमा ल्याउनुपर्ने भएकाले विमानको यात्रा भैरहवाबाट योजना बनाइएको थियो तर पछि पोखरादेखि धौलागिरि आधार शिविरमा उडान गर्ने निधो गरियो ।

सन् १९६० मार्च २८ तारिखमा पोखराबाट यती हिमालय विमानको पहिलो उडान डापा कोल भन्ने स्थान (लगभग पाँच हजार २५० मिटर उचाइ)मा अवतरण भयो । दोस्रो उडानको अवतरण अप्रिल ३ मा पहिलोपटक अलि माथि नर्थ इस्ट कोल (पाँच हजार ७४२ मिटर) उचाइमा भएको थियो । विमानले खाद्यान्न र आरोही यात्राका सहयोगी मजदुरलाई ओसारेको थियो । पर्वतारोहीका बिरामी सदस्यलाई पोखरामा झार्दै आवश्यक आरोहण सामग्री र खाद्यान्न ढुवानी गरेको थियो । यही क्रममा अप्रिल १३ मा पोखरा विमानस्थलमा बलपूर्वक अवतरण गर्दा इन्जिनमा समस्या आयो र नयाँ इन्जिन स्विजल्यान्डबाट ल्याउन केही दिन पर्खनुप¥यो । तीन हप्ताको पर्खाइपछि यती हिमालय विमानले मे ४ मा नर्थ इस्ट कोलसम्म सेवा प्रदान गयो । भोलिपल्ट अर्थात मे ५ मा धौलागिरि आधार शिविरबाट पोखरा फर्कने क्रममा विमान कडा चट्टानमा ठोकिएकाले उडान सफल भएन । बिग्रेको विमानलाई त्यहीँ छाडेर चालकद्वय आर्नेस्ट सासेर र मेकानिकल इन्जिनियर तथा सहचालक इमिल उइक पैदल मार्ग हुँदै पोखरा फर्केका थिए ।
विश्वको पर्वतारोहणको इतिहासमा हिउँ क्षेत्रमा विमान अवतरण गरेको यो पहिलो विश्व कीर्तिमान थियो । यससम्बन्धी जानकारी सन् २०१० मा धौलागिरि आरोहणको स्वर्ण जयन्तीका अवसरमा तयार गरिएको ‘नेपालमा उडेर पर्वतारोहण’ शीर्षकमा धौलागिरि हिमाल आरोहणको छोटो झल्को दिने भिडियो सामग्रीमा छ ।
६० वर्षअघि नेपालमा यातायातको विकास प्रारम्भिक चरणमै थियो । धौलागिरि हिमाल आरोहण गर्न जाने राम्रो बाटो पनि थिएन । त्यसैले सो दललाई आरोहणका लागि करिब एक सय दिन लागेको थियो । उनीहरूले हिमाली क्षेत्रमा लगभग ८० दिन बिताएका थिए । यस अवधिमा आवश्यक खाद्यान्न र आरोहण सामग्री लगभग
पाँच टन थियो ।

त्यसताका हिमाली वातावरणप्रति मानिसहरू त्यति सचेत थिएनन् र वातावरण सफा राख्न आरोही दललाई कुनै कानुनी बाध्यता थिएन । वातावरणसम्बन्धी व्यापक चेतना सन् १९८० को दशकपछि मात्र आएको थियो ।
सन् १९५६ मा पर्यटन विकास परिषद् र सन् १९५८ मा पर्यटन विभाग स्थापना भए पनि पर्यटन ऐन बनेको थिएन । यस अवधिमा पर्वतारोहीले हिमालमा फालेको फोहोरमैला व्यवस्थापनसम्बन्धी कुनै व्यवस्था गरिएको थिएन ।
नेपालमा पर्वतारोहण तथा पदयात्राका लागि पर्यटकको चाप बढेपछि पर्यटन क्षेत्रलाई व्यवस्थापन गर्न सबभन्दा पहिला पर्यटन ऐन वि.सं. २०३५ (सन् १९७८) देखि लागू भयो । यस ऐन र सोबमोजिमका नियमावलीहरूले हिमालका फोहोरमैलालाई आरोही दलले व्यवस्थापन गर्नुपर्ने भने तर बाध्यकारी बनाएनन् । पर्यटन ऐन २०३५ को दोस्रो संसोधन २०५३ ले पर्वतारोही दलले हिमालमा फोहोरमैला व्यवस्थापनका लागि निश्चित रकम धरौटी राख्नुपर्ने कानुनी व्यवस्था गरेको छ । यस व्यवस्थाले नेपाल सरकार हिमाली वातावरणप्रति सचेत छ भन्ने साथै सरकारको कर्तव्य निर्वाह गरेको देखिन्छ । हिमाल आरोहीलाई फोहारमैला सङ्कलन गरी ल्याउनुपर्ने कानुनी बाध्यता मात्र नराखी फोहोरमैलाको अनुगमनसमेत सूक्ष्म रूपमा गरिन्छ भन्ने सन्देश दिएको छ ।
नेपालका अधिकांश हिमालमा आरोहीले सिर्जना गरेको फोहोरमैला, खासगरी खानाका बट्टा, खाली सिसी, अक्सिजनका सिलिन्डर, डोरी, प्लास्टिकका खोल, आरोहीले प्रयोग गर्ने धातुका साधन वा उपकरणलगायत ओरोहीका लास छन् । सगरमाथालगायत केही हिमालमा नेपाल पर्वतारोहण सङ्घले निश्चित अवधिको अन्तरालमा सफाइ अभियान सञ्चालन गरेको खबर सुन्न पाइन्छ तर धौलागिरि हिमालमा विद्यमान फोहोरमैला आजसम्म पनि सफाइ गरिएको छैन । केही लास तथा बिग्रेको अवस्थामा छाडिएको यती हिमालय विमान अझै धौलागिरि हिमालको पाँच हजार ७०० मिटरको उचाइमा रहेको आरोहीहरू बताउँछन् ।
धौलागिरि हिमाल आरोहणको हीरक जयन्तीको अवसरमा हिमाल सफाइ अभियान सञ्चालन गरी यो विमान पोखरा ल्याएर पर्वतीय सङ्ग्रहालयमा सजाउन सके धौलागिरि हिमाल आरोहण सन्दर्भमा अर्को कीर्तिमान कायम हुन्थ्यो । सरोकारवालाको ध्यान यता जाओस् । 
(लेखक पर्यटनविद् हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?