logo
२०८१ बैशाख ८ शनिवार



भीर चढ्ने महोत्सवको मजा

विचार/दृष्टिकोण |




जुद्धबहादुर गुरुङ
नेपाली पर्यटन क्षेत्रमा सहासिक खेलको रूपमा स्थापित भीर चढ्ने शब्द प्रचलनमा छ । यसलाई गाउँ घरतिर पहारो, पहाड, चुली, धुरी भनिन्छ । यो शब्द नेपालीमा चट्टान, भीर, पहरो, पहाड आदि नामले रूपान्तरण गरिए पनि खेलको व्यावहारिक पक्षलाई सम्बोधन गर्दा ‘भीर चढ्ने’ भन्ने शब्द बढी उपयुक्त हुन्छ ।यही २०७८ साल पुस ९ देखि ११ सम्म (तीन दिन) गण्डकी अल्पाइन क्लबको आयोजनामा नेपालमा पहिलो पटक भीर चढ्ने प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा नेपाल, जापानबाट एक महिला र नेदरल्यान्डबाट एक पुरुष गरी कुल ३८ जना (२३ जना पुरुष र १५ जना महिला) आरोहीहरू सहभागी थिए । सो कार्यक्रममा पुरुषतर्फ सङ्खुवासभा भोटखोला निवासी वर्ष २२ का दिपेन गुरुङ र महिलातर्फ काभ्रेपलाञ्चोककी वर्ष २२ की पञ्चकुमारी तामाङ प्रथम हुनुभयो । विजेतामध्ये दुवै तर्फका प्रथम भएका आरोहीहरूलाई रु. ५० हजार नगदसहित पदक र प्रमाणपत्र
प्रदान गरिएको थियो ।

प्रतियोगिता तनहुँको बन्दीपुर गाउँपालिका ४ विमलनगर नजिकको चुनभीरमा आयोजना गरिएको थियो । सो प्रतियोगिता गण्डकी अल्पाइन क्लबको पहल र सक्रियतामा सहासिक खेलकुद विकासका लागि नेपाल पर्यटन बोर्ड, बन्दीपुर गाउँपालिकाले आर्थिक अनुदान सहयोग गरेको थियो भने साहसिक पर्यटन क्षेत्रमा संग्लन व्यवसायी तथा कम्पनीहरूको सहभागिता थियो । यो प्रतियोगिता नेपालका लागि नितान्त नौलो हो । अझ यो कार्यक्रम नेपालको पहिलो होे भन्ने आयोजकको दाबी छ । गण्डकी प्रदेश प्रकृति, संस्कृति र साहसिक पर्यटनका लागि नेपालको प्रख्यात गन्तव्य हो । यस भीर चढ्ने प्रतियोगिताले गण्डकी प्रदेशको पर्यटन विकासमा ऐतिहासिक पद चिह्न प्रारम्भ गरेको छ । गण्डकी प्रदेशमा अवस्थित ८,०९१ मिटर अग्ला अन्नपूर्ण हिमाल सन् १९५० मा फ्रान्सेली पर्वतारोही माउरिस हरजोकको टोलीले सफल आरोहणपश्चात् नेपालमा पर्वतीय पर्यटन खास गरी पर्वतारोहण पर्यटन विश्व बजारमा चर्चित बनेको हो । यसै ऐतिहासिक पदचापलाई पछ््याउँदै गण्डकी अल्पाइन क्लबले पनि नेपालमा पहिलो पटक नेपालमा भीर चढ्ने प्रतियोगिता आयोजना गरी सहासिक पर्यटनको क्षेत्रमा इट्टा थप्ने काम गरेको छ । यस अभियानले कोभिड–१९ को प्रभावले थलिएको पर्यटन क्षेत्रलाई राहत दिने जमर्को गर्ने विश्वास लिएको छ । यस कार्यक्रमको आयोजकहरू अधिकांश ४० वर्षमुनिका सहासिक पर्यटन व्यवसायी तथा कम्पनीहरूमा संग्लन आरोही खास गरी गण्डकी क्षेत्रका पर्वतारोहीलगायत व्यवसायीको बाहुल्य थियो ।

गण्डकी क्षेत्रमा साहसिक पर्यटनको गतिविधि खासगरी बम्जी जम्पिङ, जीपफ्लयार, प्याराग्लाइडिङ, अट्रालाइट फ्लाइट, स्काई ड्राइभिङ, स्काई साइक्लिङ, भीरमा पिङ खेल्ने, साइकल चढ्ने, शिकार खेल्ने, जलविहारलगायतका पर्यटनसित आबद्ध गतिविधिहरू देशभरका तुलनामा अधिक भए पनि पर्वतारोहणको गतिविधिले आशातित गति लिन सकेको छैन । नेपालका आठ हजारभन्दा अग्ला आठमध्ये गण्डकी प्रदेशमा तीनवटा हिमाल छन् । अझ यस प्रदेशमा छ हजार मिटरभन्दा अग्ला नामकरण गरिएकामध्ये पर्वतारोहणका लागि खुला गरिएका १२१ हिमाली टाकुरा (३० प्रतिशत) मध्ये ३५ हिमाल आरोहणका लागि छन् । पर्वतारोहणमा विश्व इतिहास कायम गरेको अन्नपूर्ण हिमाल आरोहणको ७० वर्षभन्दा बढी समयमा जम्मा ३०९ जनाले मात्रा सफल आरोहण गरेका छन् भने धौलागिरी हिमाल आरोहण भएको ६० वर्षमा लगभग ५५० जनार मनास्लु हिमाल आरोहणको ६५ वर्षको अवधिमा लगभग दुई हजार २३० जनाले सफल आरोहण गरेका छन् । यो सङ्ख्या नेपालका अन्य हिमाल आरोहणको तुलनामा निकै कम हो । .........यो प्रतियोगिता पहिलो पटक आयोजना गरिएकोले आयोजकको धेरै कमी कमजोरी होलान् तर यसको बलियो पक्ष भनेको तीन तहको सरकार सम्बन्धित पालिका, प्रदेश र सङ्घ सरकारको सहभागिता र सहकार्य हो । यसमा सङ्घको नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको सरोकार छ भन्ने देखाएको छ तर स्थानीय समुदायको सहभागिता आशातितभन्दा कम रह्यो ।

गण्डकी प्रदेश सरकारको अर्थपूर्ण सहभागिता, नेपाल पर्यटन बोर्डको सहयोग र स्थानीय तथा छिमेकी पालिकाहरू, सामुदायिक सङ्घ÷संस्थाहरू जस्तै घरवास समिति र पर्यटनसित सम्बद्ध सङ्घ÷संस्थाहरू, स्थानीय आमा समूह, युवा क्लबको सहभागितालाई अझ बढाउनुपर्ने आवश्यकता महसुस गरिएको थियो भने आन्तरिक व्यवस्थापनमा सुधार गर्नुपर्ने देखिन्छ । यहाँ विमलनगरको चुन भीरलाई प्रवद्र्धन गर्न सक्रिय गण्डकी अल्पाइन क्लबका युवा व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकता हो भने स्थानीय समुदायलाई बुझाउन नसक्नु पनि आयोजक पक्षको कमजोरीको रूपमा लिन सकिन्छ ।नेपालमा साहसिक पर्यटनको क्षेत्रमा युवा समुदायको उल्लेखनीय चासो बढेको देखिन्छ । खासगरी नेपाली युवा समुदायमा भीर चढ्ने साहसिक खेलमा अझ बढी रुचि राख्न थालेको महोत्सवको सहभागिताले प्रमाणित गरेको छ ।

सहरी क्षेत्रहरूमा पनि कृतिम भीर बनाएर आरोहणको तालिम लिएको पाइन्छ तर विमलनगरको यो चुन भीर प्राकृतिक छ । गण्डकी अल्पाइन क्लबका अध्यक्ष तथा पर्वतारोही पद प्रदर्शक नरेन्द्र शाहीका अनुसार, यस भीरको आफ्नै विशेषता छ जुन अन्य भीरमा पाइँदैन । यस भीरमा भीर आरोहणका लागि आवश्यक विभिन्न मापदण्डमध्ये एकै भीरमा लगभग २० भन्दा बढी आरोहण मार्ग भएको विशेषता छ । यस भीरको अर्को विशेषता भनेको आरोहणको क्षेत्रमा विश्वभर सबैभन्दा कठिन मानिने कोव्र आरोहण पनि यही छ । फ्रान्सेली आरोहण मापदण्डअनुसार, यो भीरको कठिनाइको स्तर ७ ए मा पर्दछ । जुन विश्वभर प्रचलनमा रहेको आरोहणमध्ये सबैभन्दा कठिन श्रेणीको भीर हो । आरोहण तालिमका लागि आवश्यक पूर्वाधारहरू यस भीर नजिकको क्षेत्रमा छ । यस किसिमको भौतिक तथा प्राकृतिक सुविधा भएको स्थान नेपालमा कमै छन् ।
पर्यटन क्षेत्रको भीर चढ्ने साहसिक खेलका लागि तनहुँको विमलनगरस्थित चुन भीर विभिन्न दृष्टिकोणले ज्यादै उपयुक्त छ तर पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्डको सडक विस्तारले यो भीर सङ्कटमा छ । आफ्नै विशेषता भएको यो चुन भीर सहासिक पर्यटन प्रवद्र्धनका लागि नेपालको बहुउपयोगी गन्तव्य हो । नेपालको पहिलो भीर चढ्ने उत्सवको मुख्य सन्देश पनि यही नै हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?