जुद्धबहादुर गुरुङ
सन् १९५० जुन ३ तारिखमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाली चुचुरामध्ये एक अन्नपूर्ण हिमाल फ्रान्सेली नागरिक माउरिस हरजोकको टोलीले सफल आरोहणपश्चात् गण्डकी क्षेत्र विश्वबजारमा चर्चित भयो । अमेरिकाको ‘न्युयोर्क टाइम्स’ले माउरिस हरजोकद्वारा लिखित अन्नपूर्ण भन्ने किताब प्रकाशन गरेको थियो । यो किताब एक करोड १० लाख प्रति बिक्री भई सन् १९७० को दशकमा सो प्रकाशनको सर्वाधिक बिक्री सूचीमा प¥यो । अन्नपूर्ण भन्ने किताब प्रकाशनले विश्वका हिमालप्रेमीलाई मात्र नभई, पदयात्राप्रेमीलाई नेपालप्रति आकर्षित बनायो । त्यसैले विश्व पर्यटन बजारमा नेपालको अन्नपूर्ण परिक्रमा पदमार्ग चर्चित गन्तव्य बन्न सफल भयो । अन्नपूर्ण पदमार्ग विश्व पर्यटन ‘सर्वे’को उत्कृष्ट १० गन्तव्यभित्र तीनपटक सूचीकृत भइसकेको छ ।
सो किताबको प्रतिफल खासगरी गण्डकी क्षेत्रमा देखिन थाल्यो । सन् १९६२ मा नेपालमा पर्यटक सङ्ख्या लगभग छ हजार १७९ थियो भने सन् १९७२ मा ५२ हजार ९३० (५.६ गुणा बढी) सन् १९८२ मा एक लाख ७५ हजार ४४८ (२८.४ गुणा बढी) पुगेको थियो । झन् यो सङ्ख्या ३० वर्षको अवधिमा सन् १९९२ मा तीन लाख ३४ हजार ३५३ (५४ गुणा बढी) पर्यटक नेपालमा भित्रिए । नेपालको कुल पर्यटकको ४० प्रतिशत पोखरा र पोखरा आएका कुल पर्यटकको ६० प्रतिशत पर्यटक अन्नपूर्ण फेरोको पदयात्रा गर्न पुग्छन् । यस आधारमा सन् १९९२ मा एक्याप (अन्नपूर्ण संरक्षण क्षेत्र)मा लगभग सन् १९८२ मा लगभग १९ हजार ७०२ र सन् १९९२ मा ४४ हजार ४५३ पुगेको तथ्याङ्क छ ।
अन्नपूर्ण फेरोको प्रमुख प्रवेशद्वार पोखरा नै हो । अन्नपूर्ण क्षेत्रमा बढ्दो पर्यटन गतिविधिलाई व्यवस्थित गर्न सरकारले समुदायमा आधारित दिगो पर्यटन व्यवस्थापनाका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापना ग¥यो । यस आयोजनाले अन्नपूर्ण क्षेत्रका लगभग एक लाख बासिन्दालाई समावेश गरी पर्यटन व्यवस्थापनमा जुटायो । यस क्षेत्रको प्राकृतिक स्रोतको संरक्षण गर्दै दिगो पर्यटन विकासलाई प्रवद्र्धन गरे जनताले । अझ यस क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति भ्याटसहित तीन हजार रुपियाँका दरले अदृश्य (अभौतिक) सम्पत्ति सङ्कलन गरे । सो रकम योजनाबद्ध तरिकाले समुदायको सक्रिय जनसहभागितामा यस क्षेत्रको प्राकृतिक संरक्षण र दिगो पर्यटन व्यवस्थापनमा लगानी भयो । प्रतिफलस्वरूप सन् २०१९ मा अन्नपूर्ण क्षेत्रमा एक सय ७६ देशका एक लाख ८१ हजार पर्यटकले भ्रमण गरे । यस तथ्याङ्कले गण्डकी प्रदेशको राजधानी पोखरामा लगभग तीन लाखभन्दा बढी पर्यटक भित्रिने अनुमान गर्न सकिन्छ ।
अन्नपूर्ण हिमशृङ्खालको काखमा अवस्थित पोखरा गण्डकी प्रदेशको राजधानीमात्र नभएर पर्यटकीय राजधानी पनि हो । त्यसैले यहाँ पर्यटकलाई आवश्यक आधारभूत सेवाहरू खासगरी पर्यटनस्तरीय होटेल, बार तथा रेष्टुरेन्ट, घरबास, विमान सेवा कम्पनी, ‘टुर्स एन्ड ट्राभल एजेन्सी’, पर्यटक यातायात सेवा, पदप्रदर्शक कम्पनी वा टे«किङ कम्पनी, मुद्रा सटाही कम्पनी सञ्चालनमा छन् । यसका अतिरिक्त साहसिक पर्यटकका लागि मनोरञ्जनात्मक क्रियाकलाप खासगरी पर्वतारोहण, पदयात्रा, प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइट, बन्जी जम्पिङ, रक क्लाइम्बिड, जिप प्लायर, स्काई साइक्लिङ, स्विङ अन रक (भीरमा पिङ खेल्ने), छाँगोबाट झर्ने (क्यानोइयिङ), केबलकार सवार, ट्याक्सी व्यवसाय कम्पनी, मोटरसाइकल, माउन्टेन बाइक, हटएयर बेलुन सवार, संरक्षण क्षेत्र भ्रमणलगायत सङ्ग्रहालय, गुफा वा प्राकृतिक दृश्य अवलोकन, डुङ्गा सवार, वनविहार, चरा अवलोकन, मह सिकार, तातोपानीमा डुबुल्की मार्नेलगायतका गतिविधिमात्र नभई, घरबास तथा ग्रामीण पर्यटनको पनि विकास गरी साँस्कृतिक संरक्षणसमेत गरेका छन् । अझ यस क्षेत्रका पर्यटन व्यवसायीहरूले पर्यटकलाई आवश्यक पर्ने पर्यटक किताब पसल, इम्ब्रोडारी कम्पनी, टे«किङ इक्युपमेन्ट कम्पनी, थाङ्का व्यवसायी, उपहार बिक्री पसल, स्पा सेवालगायतका सेवा तथा सुविधा प्रदान गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले पर्यटनलाई आर्थिक विकासको प्रमुख संवाहकमध्ये एक मानी पर्यटन विकास र विस्तार गरेको छ । सामुदायिक घरबास कार्यक्रम र पर्यटन पूर्वाधार विकास कार्यक्रम यस प्रदेशको पर्यटन विकासका प्रमुख कार्यक्रमहरू हुन् । यसका अतिरिक्त ताल विकास प्राधिकरण, कस्तूरी पालन कार्यक्रम र पोखरा प्राणी उद्यान पर्यटन विकास कार्यक्रमहरू हुन् । यी क्षेत्रको लगानीले गण्डकी प्रदेशको पर्यटन विकासमा टेवा पुगी समृद्धि हासिल गर्न सहयोग गर्ने विकास छ ।
हाल विश्वभर देखापरेको कोभिड–१९ को प्रभावले पर्यटन क्षेत्र थला परेको छ । नेपाल सरकारले विक्रम संवत् २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपश्चात् गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रमा परेको प्रभाव अध्ययन, मूल्याङ्कन, विश्लेषण गरी पुनरोत्थान योजना बनाउन विसं २०७७ वैशाख १० गते नौ सदस्यीय कार्यदल गठन गरेको थियो । यस कार्यदलको अध्ययनअनुसार न्यूनतम दैनिक १३ करोड ३६ लाख २१ हजार रुपियाँबराबरको कारोबार बन्द भएको निष्कर्ष छ । यसमा राजस्व, कर, भ्याट तथा अन्य सरकारी दस्तुरमा परेको प्रभाव समावेश गरिएको छैन । यस अध्ययनमा पर्यटन क्षेत्रको गतिविधि बन्द भएकाले सम्बन्धित सरोकारवाला निकायहरूका कारोबारमा परेको असरलाई मात्र आधार मानिएको छ ।
गण्डकी प्रदेशमा पर्यटन क्षेत्रसित सम्बन्धित धेरै गतिविधि र निकायहरू भए पनि मात्र ३१ किसिमको गतिविधि प्रभाव मूल्याङ्कन दायराभित्र आएको छ । केही कम्पनीबाहेक अधिकांश कम्पनीबाट प्राप्त विवरणको आधार न्यूनतम लगभग एक खर्ब ६४ अर्ब ७३ करोड ९६ लाख ९५ हजार रुपियाँबराबरको लगानी भएको अनुमान छ । यो लगानीमा भाडाका लागि आवश्यक पुँजी, सवारीसाधन र केही निजी भवन समावेश गरिएको छ । तर, जमिनको मूल्याङ्कन समावेश गरिएको छैन । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गण्डकी क्षेत्रमा आर्थिक वर्ष २०७६÷०७७ असार मसान्तसम्म १० अर्ब सात करोड ६४ लाख ३६ हजार ऋण लगानी पर्यटन क्षेत्रमा भएको देखिन्छ । यस दायराभित्र लगभग १० हजार ६९४ कम्पनीहरू सिर्जना भएका छन् ।
पर्यटन क्षेत्रसित सम्बन्धित सरकारी तथा गैरसरकारी सङ्घ संस्थामा लगभग ७४ हजार ७८२ जना रोजगारीमा छन् । बन्दाबन्दीको प्रभाव मूल्याङ्कन गर्दा ३१ किसिमका गतिविधिमा १४ किसिमका कम्पनी छन् । यीमध्ये सबैभन्दा बढी लगभग ६० प्रतिशत प्रभावित साना तथा मझौला होटेल व्यावसायिक क्षेत्रमा पर्छन् । पर्यटकस्तरीय होटेल १४ प्रतिशत, हवाई सेवा आठ प्रतिशत, मुद्रा सटही तीन प्रतिशत प्रभावित छ । पर्यटकस्तरीय बस यातायात, रेष्टुरेन्ट तथा बार, प्याराग्लाइडिङ, केबलकार सेवामा दुई प्रतिशत हिस्सा प्रभावित छ । टुर्स एन्ड ट्राभल सेवा, संरक्षण क्षेत्र भ्रमण वा पदयात्रा तथा गुफा अवलोकन, स्पा सेवा, अल्ट्रालाइट फ्लाइट सेवा एक प्रतिशत र अन्य कम्पनीको लगभग दुई प्रतिशत हिस्सा प्रभावित भएको देखिन्छ । यसबाहेक लगभग १५ प्रतिशतभन्दा बढी सेवा तथा गतिविधिहरूको कुनै तथ्याङ्क प्राप्त नभएको अवस्था छ ।
गण्डकी प्रदेशका निजी क्षेत्र तथा समुदायको संयुक्त प्रयासमा निर्माणाधीन अन्नपूर्ण केबलकार, काहुँडाँडामा भीमकाय बुद्धमण्डल, कालवाडमा बगैँचासहितको विश्वका अग्लो शिवमूर्ति स्थापना, गोर्खा स्मारक साल्मेडाँडा स्याङ्जा, विश्वको अग्लोमध्ये एक बन्जी जम्पिङ (कालीगण्डकी नदीमा कुस्मा र बलेवा जोड्ने पुल), बन्दीपुर केबलकार, रातो पहिरोमा बन्जी जम्पिङसहित लगभग छ भन्दा बढी पर्यटकीय आकर्षणका केन्द्र वा गतिविधिहरूसमेत प्रभावित भएका छन्् । हाल संसारका दुई सय १३ देशमा कोरोना महामारी फैलिएको छ ।
पर्यटन व्यवसायलाई पुनर्जीवन दिन पर्यटन उद्योग र यससँग आबद्ध कर्मचारीको हितलाई समेत ध्यानमा राखी तत्कालीन, अल्पकालीन र दीर्घकालीन गरी तीन किसिमका १० बुँदे रणनीतिसहित कार्यक्रमसमेत प्रस्ताव गरिएको छ । यसमा पर्यटन उद्योगलाई लक्षित गरी वित्तीय सहयोग, क्षमता अभिवृद्धि, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएको छ ।
कोभिड–१९ बाट समग्र क्षेत्र प्रभावित भए पनि गण्डकी प्रदेशको पर्यटन क्षेत्र बढी प्रभावित छ । यो पर्यटकीय क्षेत्रका पर्यटकीय गतिविधि ठप्पमात्र नभई, व्यवसायीहरूको आर्थिक कारोबार बन्द छ । राजस्व र करलगायतका सरकारी आम्दानीहरू पनि बन्द भए । पर्यटन उद्यमीहरूमा मानसिक तनावको मूल्याङ्कन समावेश गरिएको छैन । सामान्यतया तनावले मानिसको दैनिक क्रियाकलापमा प्रत्यक्ष प्रभाव कोभिड–१९ सित जुध्दै नयाँ परिस्थितिमा पर्यटन क्षेत्रलाई अझ व्यवस्थित र विकसित रूपमा प्रस्तुत गरिनुपर्नेछ । á
(लेखक पर्यटनविद् हुनुहुन्छ ।)