logo
२०८१ बैशाख ७ शुक्रवार



अबको पर्यटन

विचार/दृष्टिकोण |




जुद्धबहादुर गुरुङ
फ्रन्सेली पर्वतारोहण दलले सर्वप्रथम १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेपछि नेपाल विश्व बजारमा पर्वतारोहणका लागि बढी चर्चित भयो । यसपछि नेपालमा उल्लेखनीय मात्रामा पर्यटक भित्रिन थालेको पाइन्छ । सन् १९६२ नेपालमा छ हजारको हाराहारीमा पर्यटक आएको बताइन्छ । त्यसपछिको छ दशकको अवधिमा यो सङ्ख्या दुई सय गुणाले वृद्धि भयो । सन् २०१९ मा मात्र १२ लाख पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । यद्यपि, सन् २०२० मा कोभिड १९ को प्रभावले पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बन्न पुग्यो । २०२१ को मार्चमा करिब १५ हजार पर्यटक नेपाल भित्रिएको तथ्याङ्कले केही राहतको सङ्केत दिए पनि हाल कोरोनाको सङ्क्रमण दर पुनः बढ्न थालेसँगै चिन्ता उब्जिएको छ ।
विश्वव्यापी रूपमा पर्यटन व्यवसाय बढ्दोक्रममा छ । सन् १९५० मा अन्तर्राष्ट्रिय भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब दुई करोड पचास लाख थियो । यो सङ्ख्या सात दशकको अवधिमा लगभग ४४ गुणा बढेको पाइन्छ । सन् २०१३ मा एक अर्ब आठ करोड ७० लाख थियो भने सन् २०३० मा एक अर्ब ८० करोड पुग्ने अनुमान गरिएको छ । सामान्यतय एकजना पर्यटकले न्यूनतम ११ जनालाई रोजगारी सिर्जना गर्ने विश्वव्यापी मान्यता छ । साथै कुनै पनि राष्ट्रको कुल गार्हस्थ उत्पादनमा सरदर ९ प्रतिशत हिस्सा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान वा योगदानका लागि उत्प्रेरणा गराउने विश्वास गरिएको छ । विश्वको कुल आयातमध्ये छ प्रतिशत पर्यटन र २९ प्रतिशत सेवा क्षेत्रमा आयात हुने अनुमान छ ।
बदलिँदो परिवेशसँगै अबको पर्यटनलाई अगाडि बढाउनु आवश्यक छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको दु्रत विकाससँगै गतिशील समाजका सामाजिक, आर्थिक तथा वातावरणीय वृहत् परिवर्तनलाई समेत ध्यान दिनु जरुरी छ । वर्तमान स्थिति र पर्यटकको मागलाई विश्लेषण गर्दै पर्यटन व्यवसायलाई परिष्कृत गर्नु देखिन्छ । परिमाणस्वरूप पर्यटकले सरल, भरपर्दो तथा प्रभावकारी सेवा प्राप्त गर्नेछन् भने पर्यटन व्यवसाय बढी लाभकारी बन्नेछ । दिगो पर्यटन व्यवस्थापनका लागि पर्यटनको माग र आपूर्तिलाई समेत ख्याल राखी अबको पर्यटन अघि बढ्नु आवश्यक छ ।
विश्वभरका पर्यटन क्षेत्रको अध्ययन अनुसान्धनमा एक शताब्दी वर्षको अवसरमा अनुसान्धन संस्थाले सन् २०१५ मा गरेको अध्ययनअनुसार सन् २०१५ मा संयुक्त अधिराज्य (बेलायत)मा रहेको पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्दैै आएको हरवार्थ एचटीएल कम्पनीले आफ्नो एक शताब्दी पुगेको अवसरमा विश्व पर्यटनको प्रवृत्तिबारे अध्ययन गरेको थियो । यस अध्ययनमा अबको पर्यटन व्यवसायीले ख्याल राख्नुपर्ने प्रमुख १० प्रवृत्तिलाई चित्रण छ । पर्यटन व्यवसायलाई दिगो तथा प्रभावकारी बनाउन भावी रणनीति कस्तो बनाउने भनी विश्लेषण गर्नुपर्ने परिवेश सिर्जना भएकाले सो अध्ययनका केही महŒवपूर्ण प्रवृत्ति वा बुदाँहरू चर्चा गरिएका छन् ।

पर्यटनमा माग पक्षको प्रवृत्ति :
पर्यटनमा माग पक्ष भन्नाले सामान्यतया पर्यटकलाई बुझाउँछ । अबको पर्यटनमा पाका पर्यटकले विगतको भन्दा बढी हिस्सा ओगट्छन् भने नयाँ युवा पिँढी शिक्षित तथा प्रविधिमैत्री मात्र नभई, विविधता गन्तव्यको खोजी गर्ने स्वभावका हुन्छन् । मध्यम वर्गको बाहुल्य शान्ति र स्थिरतालाई प्राथमिकता दिने किसिमको हुन्छ ।
क. पाका पर्यटक : अबको पर्यटनमा पाका उमेरका खासगरी ६५ वर्षमाथिको हिस्सा बढी हुनेछ । सन् १९५० मा पाका पर्यटकको सङ्ख्या ८, सन् २०१३ मा १२ र सन् २०५० मा २१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । यो उमेर समूहका पर्यटकको रुचि र आवश्यकता पनि अन्य उमेर समूहभन्दा भिन्न हुन्छ । सामान्यतया यस पुस्ताका मानिसको कमाई राम्रो, खर्चालु स्वभाव, निजी किसिमका चाहना हुन्छन् । यो उमेरका मानिसलाई नरम तथा सम्मानजनक बोलीचाली तथा व्यवहार, विगतका अनुभव सुनिदिने, रुचिअनुसारको खाना, खेल वा व्यायाम, सौखअनुसारको मनोरञ्जन तथा अलि पाका उमेरकालाई हिँडडुल गर्दा सहारा चाहिने आदि हुन्छ । जापान, स्वीट्जरल्यान्ड, न्युजिल्यान्डजस्ता विकसित देशका पाका नागरिक बढी भ्रमणमा निस्कने गरेका छन् ।
ख. नव पुस्ता वा युवा पर्यटक : यस वर्गका पर्यटक पाका उमेरका भन्दा भिन्न स्वभाव वा व्यक्तिगत रुचि र क्षमताका हुन्छन् । यो पुस्ता अलि साहसीका साथै प्रविधिमैत्री भएकाले भ्रमण व्यवस्थापन विद्युतीय प्रविधिको माध्यमबाट गर्छन् । टिकट, होटेल बुकिङ, मौद्रिक कारोबारमात्र नभई, गन्तव्यको सम्पूर्ण पूर्वजानकारी विद्युतीय माध्यमबाट प्राप्त गर्ने भएकाले यिनलाई शताब्दी पर्यटक पनि भनिन्छ । बढ्दो विद्युतीय प्रविधिको प्रयोगले गर्दा सन् २०२५ मा युुवा पर्यटकको हिस्सा लगभग ५० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
ग. मध्यम वर्गको उदय : पैसा वा मुद्रा पर्यटकका लागि प्रमुख ऊर्जा हो । सम्पन्न व्यक्तिले मात्र भ्रमणको गन्तव्य निर्धारण गर्छ । हाल विश्व अर्थतन्त्र विगतको भन्दा बढी चलायमान छ । सन् २००९ मा लगभग एक अर्ब ९० करोड मानिस मध्यम वर्गमा रहेको अनुमान गरिएकोमा सन् २०२० मा तीन अर्ब २० करोड र सन् २०३० सम्म चार अर्ब ९० करोड पुग्ने प्रक्षेपण गरिएको छ । यसको लगभग दुईतिहाइ हिस्सा एसिया तथा प्यासिफिक क्षेत्रमा हुनेछ भने युरोप र अमेरिकी देशमा यो वर्गको सङ्ख्या स्थिर रहने प्रक्षेपण गरिएको छ । अधिकांश मध्यमवर्गीय मानिस मितव्ययी हुन्छन् ।
घ. नयाँ गन्तव्यको खोजी ः सामान्यतया पर्यटक नयाँ गन्तव्य र आकर्षण केन्द्रको निरन्तर खोजीमा हुन्छन् । सन् १९५० दशकताका ९७ प्रतिशत पर्यटक विश्वका १५ देशका गन्तव्यमा मात्र केन्द्रित थिए भने सन् २००९ मा यो दर ५६ प्रतिशतमा झरेको छ । यसले पर्यटक कुनै एक वा निश्चित गन्तव्यमा मात्र केन्द्रित नभई, फराकिलो क्षेत्रमा विस्तार भएको प्रमाणित गर्छ । हाल विश्वका लगभग १०० भन्दा बढी देशका गन्तव्यमा पर्यटन विस्तार भएको छ । अझ संसारका लगभग १०० देशमा प्रतिवर्ष १० लाख पर्यटक पुग्ने गर्छन् । यसले पर्यटक गन्तव्यको विविधीकरण खासगरी नवीन उपजको खोजी गर्दोरहेछ भन्ने प्रमाणित भएको छ । नयाँ परिवेशमा नयाँ गन्तव्यको खोजी गर्नेक्रम निरन्तर रूपमा गरिरहन्छ ।
ड. राजनीतिक स्थिरता र शान्त वातावरण ः शान्ति र सुरक्षा पर्यटकको पहिलो प्राथमिकता पर्छ । तर समाजमा विद्यमान राजनीति, धर्म र संस्कृतिको सवाललाई लिएर विवाद र द्वन्द्व भइरहन्छ । यसकिसिमको सामाजिक विवादले पर्यटकको रुचि तथा आकर्षणलाई घटाउँछ । कुनै समय पर्यटकले भरिने देशमा आन्तरिक द्वन्द्व वा कलहका कारण नाटकीय रूपमा पर्यटकको सङ्ख्या घटेको पाइन्छ । कुनै समय नेपालले पनि यसकिसिमको परिवेशको सामना गरेको थियो । त्यसैले राजनीतिक स्थिरता र शान्त वातावरणलगायतका पक्ष पर्यटन विकासका लागि प्रमुख विषय हुन् ।
आपूर्ति पक्ष : पर्यटन व्यवसायी पर्यटकको आपूर्ति पक्ष हो । आपूर्ति पक्षको पनि केही चरित्र सूक्ष्म रूपमा केलाउनु जरुरी छ ।
प्रविधिको विकास : प्रविधिको विकासले गर्दा मानिस क्षणभरमै विश्वभरका सूचना हातमै प्राप्त गर्न सक्छन् । खासगरी मोबाइल, रोबट, टेलिभिजन, इन्टरनेटलगायत विभिन्न प्रविधिको माग अबको पर्यटकले गर्ने भएकाले आपूर्ति पक्षले त्यो उपलब्ध गराउनु आजको आवश्यकतामा पर्छ ।
विद्युतीय प्रविधिको पहँुच : अहिलेका पर्यटकलाई विद्युतीय प्रविधिमैत्री वातावरण मन पर्छ । मोबाइल फोन र सामाजिक सञ्जालको विकासले मानिसको रुचि बढाएको छ । विश्वका अधिकांश मानिसको हातमा मोबाइल छ । युरोमोनिटरका अनुसार सन् २०१७ मा लगभग ६५ प्रतिशत मानिसले खोजी इन्जिनको प्रयोग गरेको पाइन्छ । सोही अध्ययनका अनुसार ३० प्रतिशत मानिसले अनलाइनबाटै भ्रमणको व्यवस्था गर्ने गरेका छन् । विश्वका लगभग २८ प्रतिशत मानिसले आफ्नो ६० प्रतिशत समय इन्टरनेटमा बिताएको छ ।
इमानदारी : कुनै पनि व्यापार व्यवसायमा इमानदारी ज्यादै महŒवपूर्ण हुन्छ । पर्यटन क्षेत्रमा पराम्परागत रूपमा प्रचलनमा रहेको कुनै उद्यमीले व्यवसायको विश्वसनीयता कायम गर्न र आकर्षण बढाउन विभिन्न उपहार, छुट तथा बोनस व्यवस्था गर्ने प्रचलन छ । तर, आजको विद्युतीय प्रविधिको युगमा पराम्परागत उपहार शैलीलाई परिवर्तन गर्नु जरुरी छ । कुनै पनि उद्यमीले नियमित ग्राहकको सदस्यता लिएबापत दिइने छुट वा सुविधालाई आजको ग्राहकले पर्खने धैर्य राख्दैनन् । त्यसकारण ग्राहकले पाउने अतिरिक्त फाइदा तत्काल वितरण गर्ने विधि अपनाउनु जरुरी छ ।
स्वास्थ्य र जीवनशैली : व्यक्तिगत स्वास्थ्यको स्याहारसुसार मानिसको पहिलो आवश्यकता हो । अझ कोभिड–१९ को प्रभावपश्चात् मानिसले बढी सतर्कता अपनाएको पाइन्छ । त्यसैले पर्यटकले भ्रमणक्रममा स्वास्थ्य र स्वस्थ जीवनशैली निरन्तर रूपमा कायम राख्न कोसिस गर्छ । त्यसैले होटललगायतका सेवाप्रदायक उद्यमीले पर्यटकको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै पौडीपोखरी, कसरत गर्ने स्थानलगायतका व्यवस्था गरेका हुन्छन् । यसलाई अझ परिष्कृत गराउँदै स्पालगायतका व्यवस्था पनि गरिएको छ । अहिलेका पर्यटक विभिन्न उमेर र रुचिका हुने भएकाले स्वास्थ्यसँगै एकीकृत सेवा प्रदान गर्नु जरुरी छ ।
दिगोपना : युरोमोनिटरका अनुसार सन् २०१३ मा मात्र संसारभरका एक अर्ब पर्यटकको गतिविधिले लगभग १४० खर्ब डलरबराबरको कारोबार भएको थियो । यसले विश्व अर्थतन्त्रको कुल गार्हस्थमा सरदर नौ प्रतिशत योगदान पु¥याएको थियो । यसबाहेक अतिरिक्त रोजगारीसमेत सिर्जना गरेको थियो । पर्यटन गतिविधिले आर्थिक सन्तुलन गरी समाजको संरचनामा सुधार गर्न भूमिका खेल्नुका साथै पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार निर्माणका लागि उत्पे्ररणा गर्छ । त्यसैले दिगो पर्यटन विकासको आवश्यकता छ ।
आर्थिक, सामाजिक तथा वातावरणीय पक्षहरू नै दिगो पर्यटन विकासका प्रमुख आधार हुन् । दिगो पर्यटन भनेको स्थानीय जनता र आगन्तुक तथा साँस्कृतिक सम्पदा र वातावरण दुवैलाई आदर गर्नु हो । दिगो आर्थिक विकास गर्न पर्यटन गतिविधिले निरन्तर रूपमा आर्थिक गतिविधि सिर्जना गर्न सक्नुपर्छ । यसैगरी, सामाजिक दिगोपन भनेको समाजमा विद्यमान साँस्कृतिक पक्षहरू खासगरी धार्मिक, पुराताŒिवक तथा ऐतिहासिक सम्पदाको संरक्षण गरी पर्यटक लोभ्याउन सक्ने क्षमतालाई कायम राख्नु हो भने वातावरणीय दिगोपन भनेको वातावरण संरक्षण गर्नु हो । विश्वका अधिकांश पर्यटकीय गन्तव्य प्राकृतिक सम्पदासित सम्बन्धित छन् । त्यसैले पर्यटकलाई वातावरणमैत्री बनाई पर्यापर्यटनको विकास गर्नु नै दिगो पर्यटन हो । 
(लेखक पर्यटनविद् हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?