logo
२०७९ माघ २० शुक्रवार



अगाडि बढ्न प्रकृतिको पूजा

नेपालले पेट्रोलियमको पाइपलाइन होइन, पूर्व पश्चिम राजमार्गभरि चार्जिङ स्टेसन बनाउनुपथ्र्याे

विचार/दृष्टिकोण |


अगाडि बढ्न प्रकृतिको पूजा


डा. रामहरि पौड्याल

एक्काइसौँ शताब्दीको तीव्रतर विकासको गतिमा दौडिरहेको विश्व अचानक कोभिड–१९ को कब्जामा नराम्ररी जकडियो । करोडौँ मान्छेहरू यो महारोगको शिकार भए भने लाखौँले अमूल्य जीवन गुमाए । विकासको महारथ गुडाउने नाममा प्रकृतिमाथिको ज्यादती खपिनसक्नु स्थितिमा पुगेको पूर्व सङ्केत हो, यो कोरोना कहर ।
धेरै लामो समयसम्म हामीले सामाजिक आर्थिक विकासलाई मात्र आफ्नो मूल ध्यय बनायौँ । प्रकृति, वातावरण र त्यसभित्र रहेको जैविक विविधतालाई हामीहरूले मात्र कर्म काण्डीय परम्परा सम्झेर एउटा सानो भूमिका निर्वाह गरेजस्तो मात्र गरिरह्यौँ युगौँदेखि । हामीले हाम्रो उपलब्ध सामग्री र प्राविधिक समाधानमा अलि धेरै भरोसा ग¥यौँ, जसले हाम्रो जीवनशैलीलाई असुरक्षित मात्र बनाएन । पृथ्वी ग्रह हाम्रा लागि बस्न नसकिने मोडमा आइपुगेको सङ्केत हो, यो । अब हामी दुई ठूला चुनौतीहरूको सामना गरिरहेका छौँ, जसमध्ये कोभिड महामारी मात्र पछिल्लो परिणाम हो । जबसम्म हामी वस्तुहरू एकदम परिवर्तन गर्न तयार हुँदैनौँ, यो अन्तिम हुँदैन । भलै कोभिड–१९ को खोपले नयाँ तरङ्ग ल्याइरहे पनि मौसम परिवर्तनको ‘खोप’ आजको सबैभन्दा ठूलो चुनौती हो । हामीले खाने वस्तुहरू, प्रयोग गर्ने सरसामानहरू चढ्ने कारदेखि प्रयोग गर्ने ऊर्जासम्मका यावत कुराहरूलाई वातावरणसँग जोडेर हेर्न, बुझ्न ढिला भइसकेको सङ्केत हो कोभिड १९ ।
पुनर्जन्मकारी व्यवसाय मोडेल (रिजेनेरेसन बिजनेस मोडेल) मा प्रकृति सबैभन्दा ठूलो प्रेरणा हो न्यूनतम ‘टेक्नोलोजी डिजाइन’ को लागि, प्रकृतिमा आधारित समाधान र रणनीतिहरूका लागि सबैभन्दा मूल्यवान् सम्पत्ति हो । केही मनमोहक उदाहरणहरू संसारभरि पहिले नै फस्टाइरहेका छन् । तर हाम्रा
‘बिजनेस मोडेल’ हरूको समीक्षा गर्नुपर्ने बेला आएको छ । भ्यु टावर संस्कृति, केबलकार संस्कृति, सहरमा बनेका अस्तव्यस्त पार्टी प्यालेस संस्कृति, जग्गा बिक्रीका लागि गरिने बिना योजनाका खनिने बाटा र बेचिने घडेरीहरूले हामीलाई योजनाबद्ध सस्टेनेबल (दिगो) सहर निर्माणमा चुनौती थपेका छन् ।
‘साउदी अरेबिया अहिलेसम्म गरिएको सबैभन्दा महìवाकांक्षी पुनर्जीवन परियोजनाका लागि नमुना स्थान हो । बेल्जियमको आकारको विशाल इको टुरिज्म रिसोर्ट, यो लाल समुद्रको समुद्री किनार फस्टाउनका लागि बीज बन्न सक्छ भन्ने धारणा छ । परियोजनाले शत्प्रतिशत नवीकरणीय ऊर्जाबाट कृषि र मत्स्यपालनसम्म सबै स्थिरता प्राप्त गर्नेछ । तर योभन्दा पनि अझ परको लक्ष्य भनेको २० वर्षमा गन्तव्यको शुद्ध संरक्षण मान ३० प्रतिशत बढाउनु हो । ‘कोरल रीफ’ (मुगाको चट्टान) सहित भूमि र समुद्री आवासहरू विस्तार गरिनेछ र तिनीहरूको जैविक विविधतालाई समृद्ध पारिनेछ । यसले अधिक लचिलोपना, कार्बन उत्सर्जन क्षमता, मौसम परिवर्तन समन र आसन्न वातावरणीय सङ्कटबाट बचाउनको साथै भविष्यको महामारीका लागि सुरक्षा प्रदान गर्दै त्यसका प्रभावलाई कम गर्ने अवसरहरू प्रदान गर्नेछ । पुनर्जीवन भनेको ‘प्रकृतिले के गर्छ ?’ भन्ने प्रश्नको उत्तर हो । प्राकृतिक मार्ग अगाडि बढ्नका लागि, सबैभन्दा सहज, एक मात्र तरिका हो ।’ पर्यावरणीय अर्थशास्त्री हर्मन डेलीले १९७३ मा ‘एक स्थिर राज्य अर्थ व्यवस्थातर्फ’ भन्ने पुस्तक प्रकाशित गरे । उनले विश्वलाई चर्को र स्पष्ट रूपमा बताए कि त्यहाँ काम गर्ने विभिन्न फरक तरिकाहरू छन् । त्यहाँ हुनुपर्ने के थियो भने जसले सबैको ख्याल राखोस्, धर्तीका सबैको अस्तित्व स्वीकार गर्दै र हाम्रो एकमात्र इकोसिस्टम, साझा ग्रह पृथ्वीको वातवरणीय, पर्यावरणीय सीमाहरूको सम्मान गरोस् । उनले एक प्याराडाइमेटिक परिवर्तनका लागि आधार तय गरे । सीमित पारिस्थितिकीय प्रणालीमा विश्वव्यापी आर्थिक अन्तहीन वृद्धि सम्भव छैन । यो असुरक्षित छ भनेर सबैलाई सम्झाए ।
आज जे भइरहेको छ त्यो हामीले यस्तै खोज अनुसन्धान र विज्ञानलाई सम्मान नगर्नाले भएको हो । दिगो आर्थिक विकास दृष्टिकोणहरू अवश्य पनि आवश्यक छन् । यद्यपि तिनीहरूको उद्देश्य अन्ततः छोटो अवलोकन मात्रै हो । पामेला मांग र बिल रीडजस्ता अग्रगामीहरूले १९९५ मा पहिले नै बुझिसकेका थिए कि विकास उद्योगजस्ता आर्थिक क्षेत्रको उद्देश्यले यस ग्रहको स्वास्थ्यमा सकारात्मक योगदान पु¥याउनुपर्छ । कम वातावरणीय प्रभाव भएको, वा कुनै पनि प्रभाव नपर्ने हुनुपर्छ । नेपाललगायत केही देश र कम्पनीहरूले भर्खरै घोषणा गरेको सन् २०५० सम्मको नेट शून्य लक्ष्यहरू पनि पर्याप्त छैन । हाम्रा प्रतिबद्धता र हाम्रा काम कारबाहीका बीच सामञ्जस्य हुनुपर्छ । सन् २०३० सम्म ९० प्रतिशत बिजुली गाडीको लक्ष्य राखेको नेपालले पेट्रोलियमको पाइपलाइन होइन, पूर्व पश्चिम राजमार्गभरि चार्जिङ स्टेसन बनाउनुपथ्र्याे । बिजुली गाडीलाई प्रोत्साहित गर्न करमा ठूलो छुट दिनुपथ्र्याे । जलवायु परिवर्तन मानवका लागि एउटा ठूलो खतराको घन्टी बनेर झुन्डिएको छ संसारसामु । त्यसैले भर्खरै अमेरिकाको निर्वाचनमा राष्ट्रपति चुनिनुभएका जो बाइडेनले अर्को सम्भावित विनाशकारी विश्वव्यापी खतरा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने योजना जारी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले पेरिस सम्झौताबाट बाहिरिने बताएका भए पनि जो बाइडेनले पेरिस सम्झौतालाई स्वीकार्ने बताउनुभएको छ ।
हामी पृथ्वीको वन जङ्गलमा हाम्रो जीवनका लागि पाइने अनन्त सुविधाहरूका लागि सदा ऋणी छौँ । तर दुर्भाग्य यस्तो जीवनदायी हरियाली प्रकृतिले भरिएको सुन्दर वन हामीले प्रत्येक सेकेन्ड एक फुटबल क्षेत्रको दरबाट गुमाइरहेका छौँ । विनाश गरिरहेका छौँ । वन जङ्गलसँगै त्यसमा आश्रित हजारौँ वन्यजन्तु र जैविक विविधतालाई मासिरहेका छौँ । स्वतन्त्र इकोसिस्टम (पर्यावरणीय चक्र) मा धावा बोलिरहेका छौँ । आकासिँदो वन फडानी, बेलगाम कृषि विस्तारीकरण, खनिजजन्य र भौतिक पूर्वाधार विकासजस्ता औद्योगिक गतिविधिहरूको कारणका साथै मानव–वन्यजन्तु द्वन्द्व र वन्यजन्तुको चर्कंदो उपयोगले कोरोना भाइरसजस्ता रोगजन्य विषाणुको सङ्क्रमणलाई जीवजन्तुबाट मानिसमा फैलाउने वातावरणलाई प्रोत्साहन मिलेको छ । रोगी घरपालुवा तथा वन्यजन्तुको प्रत्यक्ष सम्पर्कबाट करिब ७० प्रतिशत सङ्क्रामक महामारीजन्य रोग हुने गरेको बताइन्छ । विश्वमा बर्सेनि करिब सात लाखभन्दा बढी मृत्युको कारण यस प्रकारका जनावरहरूबाट सिर्जित रोगहरू हुन् । विभिन्न प्रकारका करिब १७ लाख अज्ञात भाइरसहरू हाल पनि जनावर र पक्षीहरूमा विद्यमान रहेको विभिन्न अध्ययन अनुसन्धानहरूले देखाएका छन् ।
प्रकृतिको पूजा
हिन्दुहरूका प्राचीन धार्मिक ग्रन्थहरू वेद, उपनिषद् र अन्य पौराणिक ग्रन्थहरूमा प्रकृति र पृथ्वीमातालाई आमा र आकाशलाई पिताका रूपमा सम्बोधन गरेको देखिन्छ । यस तथ्यले मानव सभ्यताको आधार नै प्रकृति हो भन्ने कुरालाई प्रस्ट्याउँछ । ऋग्वेद, अथर्ववेद र आयुर्वेदहरूमा वनस्पति जगत्लाई प्रार्थना गरेर मात्र त्यसको प्रयोग गरिएको सूक्तहरूमा उल्लेख गरिएको पाइन्छ । हाम्रा दर्शन र शास्त्रहरूले त प्रकृति, नदीनाला, पर्वत, वन, वृक्ष एवं पशुपक्षी, भूमिलाई पुज्न सिकाएको छ, विनाश र प्रदूषण गर्न किमार्थ होइन । बोटबिरुवाहरूले हाम्रो मौसम र वातावरणको सन्तुलन, वर्षा, नदीले हिमाल र समुद्रलाई पनि बचाउँछन् । रूखहरूको सम्पूर्ण औषधि, धार्मिक, वातावरणीय, वाणिज्यिक, सामाजिक, इत्यादिको महìव वेद, पुराण, गीता आदिजस्ता सबै शास्त्रपदहरूमा विस्तृतरूपमा वर्णन गरिएको छ । रूखहरू वा प्राकृतिक सभ्यताको मनोमानी ढङ्गले विनाश गर्ने अभिप्राय मानव सभ्यतालाई प्रलयतर्फ लैजानु हो । रूख र बोटबिरुवाको सङ्ख्या बढाउन योगदान पु¥याउनु जनता र सरकारको कर्तव्य हो ।
मगर समुदायले प्रकृति पूजाका रूपमा विशेष पर्व भूमे मनाउने गर्छन् । प्रकृतिको पूजा गर्नु भनेको भूमि, आकाश, जल, वायु, अग्नि, चन्द्र, सूर्य, पशुपक्षी र वनस्पतिप्रति आभारी रहनु हो । कृतज्ञ रहनु हो । बालीनालीमा कीरा नलागोस्, बाढीपहिरोले नोक्सान नगरोस् भनेर भूमि,
वन–जङ्गल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ । किराँत समुदायको जीवन खेती किसानीमा आधारित छ । त्यही कारण बालीनाली लगाउने बेला र उठाउने बेला विशेष पर्व एवं उत्सव मनाउने गर्छन् । खेतीपाती सकेपछि यो पूजा प्रारम्भ हुन्छ ।
यस्ता चलनभित्र रहेको अगाध प्रकृति प्रेम आजको खाँचो हो विश्व मानव समुदायले अँगाल्नु पर्ने । हाम्रा पुर्खाले प्रकृतिसँग कसरी मित्रता कायम गर्ने भनेर सिकाएका थिए । खोला, नाला, हावा, पानी, रुख–बुट्यान, कीरा–फट्याङ्ग्रा सबै एकअर्काका परिपूरक हुन् र तिनको सहअस्तित्वमा वातावरण, पर्यावरणको सन्तुलन लुकेको तथ्य सिकाए । प्रकृतिबाट विच्छेद भएर होइन, एकाकार भएर बाँच्नुपर्छ भन्ने कुरामा जोड दिए ।
बढ्दो भौतिक सुखसयल र वैभवमा हराइरहेका वर्तमान पुस्ता पनि बिस्तारै प्रकृतिमै फर्कन थालेको छ । अहिलेका जमातलाई प्रकृतिसँगै एकाकार हुन प्रेरित गरेको छ कोभिड–१९ को डरलाग्दो वैश्विक कहरले । प्रकृतिसँग जीवनको लय मिलाउनुपर्छ भन्ने सन्देश अहिले टड्कारो रूपमा प्रमाणित भएको छ सबैका सामु । प्रकृतिको पूजा, हाम्रा आहार बिहार, हाम्रा सोचाइ, दृष्टिकोणमा, शिक्षा र पाठ्यक्रममा समेत व्यापक परिवर्तन आजको आवश्यकता हो ।
(लेखकले स्वन्जी युनिभर्सिटी बेलायतमा ऊर्जा सङ्कट, ऊर्जा स्तरोन्नति र नवीकरणीय ऊर्जामा विद्यावारिधि सोध गर्दै हुनुहुन्छ ।))

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?