logo
२०७९ मंसिर २० मंगलवार



वायु प्रदूषणको पेचिलो मुद्दा

विचार/दृष्टिकोण |




डा. रामहरि पौड्याल

प्रदूषणलाई वायुमण्डलमा प्राकृतिक वातावरणमा हानि पु-याउने क्षमता भएका प्रदूषकको अस्तित्व भनेर परिभाषित गरिएको छ । प्रदूषणका दुई सबैभन्दा देखिने प्रकारमा वायु प्रदूषण र जल प्रदूषण हुन् । तथापि धर्तीमा धेरै अतिरिक्त प्रदूषणका प्रकार छन् । अनुसन्धानका अनुसार विश्वका ९७ प्रतिशत सहरमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा बढी छ । डब्लुएचओको मापदण्डअनुसार हावामा पीएम २.५ को मात्रा प्रति घनमिटरमा ५ माइक्रोग्राम वा सोभन्दा कम हुनुपर्छ ।

स्विट्जरल्यान्डस्थित एयर क्वालिटी टेक्नोलोजी कम्पनीले हरेक वर्ष विश्वभरको एक्यूआई रिपोर्ट सार्वजनिक गर्दै आएको छ । सन् २०२२ को मार्चको अन्तिम साता प्रकाशित उक्त प्रतिवेदन विश्वका ११७ मुलुकका विभिन्न छ हजार ४७५ सहरबाट प्राप्त तथ्याङ्कलाई आधार मानेर तय गरिएको थियो । उक्त प्रतिवेदनमा एसियाका एक हजार ८८७ सहरमध्ये चारवटाले मात्रै विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गरेका छन् । त्यस्तै मध्य र दक्षिण एसियामा विश्वका प्रदूषित ५० सहरमध्ये ४७ वटा रहेको प्रतिवेदनमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनले जनाएअनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको अकालमा मृत्यु हुने गर्छ । वायु प्रदूषणका कारण फोक्सो, क्यान्सर, मुटुसम्बन्धी रोग लाग्ने बताइन्छ । सन् २०२२ को प्रतिवेदनमा सन् २०२१ मा मात्रै पीएम २.५ पार्टिकल्सका कारण पाँच वर्ष कम उमेर भएका ४० हजार बालबालिकाको मृत्यु वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण भएको उल्लेख छ । सन् २०२१ मा विश्व स्वास्थ्य सङ्गठनले लाखौँको मृत्युलाई घटाउने उद्देश्यले उक्त मापदण्ड १० बाट ५ मा राखेको थियो ।

१० माइक्रोमिटर व्यासभन्दा कम वा बराबरका कण यति साना हुन्छन् कि ती सजिलै फोक्सोमा जान सक्छन्, जसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछन् । दस माइक्रोमिटर भनेको एक मानव कपालको चौडाइभन्दा सानो हुन्छ । हावामा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–साना कणलाई पीएम २.५ भनिन्छ । यिनमा सल्फेट, नाइट्रेट्स, ब्ल्याक कार्बन, एमोनियम, धुलोका स–साना कण हुन्छन् । अत्यधिक सवारीसाधनको प्रयोग, अनियन्त्रित रूपमा उद्योगबाट निस्कने धुलो र धुवाँ, कृषि कर्ममा गरिने ठुटा जलाउने कार्य, भौतिक पूर्वाधारका निर्माण, गाउँघरमा घाँस–दाउरा बाल्दासमेत यस्ता प्रदूषित कण वायुमण्डलमा
निस्कने गर्छन् ।

उक्त प्रतिवेदनअनुसार संसारको सबैभन्दा प्रदूषित सहर भनेर चिनिने सौभाग्य पाकिस्तानको लाहोरलाई मिलेको छ । जसको एअर क्वालिटी इन्डेक्स २५१ रहेको छ । त्यस्तै पोल्यान्डको वार्सा १७८ अङ्कसहित दोस्रो स्थानमा छ । उक्त प्रतिवेदनअनुसार पोल्यान्डका अन्य सहर तेस्रो, चौथो र पाँचाँै स्थानमा छन् । त्यस्तै छैटौँ स्थान बङ्गलादेशको ढाकालाई मिलेको छ १६७ अङ्कसहित । सातौँ स्थान भारतको दिल्ली, आठौँ स्थान साउदीको रियाद, नवौँ स्थान भारतकै मुम्बई र दसौँ स्थान नेपालको काठमाडौँ १५४ रहेको छ । नेपालको लगत्तै ११ मा चीनको बेइजिङ १२ मा सेन्याङ रहेका छन् ।
जिवास्म इन्धनको अत्यधिक प्रयोग नै वायु प्रदूषणको प्राथमिक स्रोत हो । जिवास्म–इन्धनबाट सञ्चालित सवारी साधनजस्तै (कार, ट्रक, हवाईजहाज, पानीजहाज र अन्य ढुवानीमा प्रयोग हुने सवारी) र कोइला वा तेलबाट चल्ने पावर प्लान्ट र उद्योग यस्ता प्रदूषणका ठूला स्रोत हुन् ।

असङ्ख्य वैज्ञानिक अध्ययनले प्रदूषण जोखिमलाई विभिन्न स्वास्थ्य मुद्दामा जोडेका छन् । आँखा, नाक र घाँटीको जलन, खोकी, छातीको सङ्क्रमण र सास फेर्न गाह्रो हुने, फोक्सोको कार्य कम हुने, मुटुको धड्कन अनियमित हुने, दम बढ्ने, हृदयघात हुन सक्ने, मुटु र फोक्सो रोगका साथ मानिसको अकाल मृत्युसमेत हुन सक्छ ।

स्थानीय चुनाव
जनताले आफ्ना निर्वाचित पदाधिकारी र जनप्रतिनिधिसँग स्वच्छ हावा माग्नुपर्ने बेला आएको छ । बढ्दो प्रद्ूषणको फलस्वरूप, चुनाव वा राजनीतिक अभियानको समयमा यसलाई मूलधारको राजनीतिक एजेन्डा वा सार्वजनिक कुराकानी बनाइनु पर्ने बेला आएको छ फेरि । गत निर्वाचनमा नेपाली काँग्रेस पार्टीले आफ्नो राजनीतिक मुद्दा बनाएको थियो । यसलाई पहिलो पटक आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेको थियो ‘सफा र हराभरा काठमाडौँ’ महìवपूर्ण नारालाई अगाडि बढाउँदै । हरेक स्थानीय चुनावमा सहरलाई स्मार्ट बनाइने चर्चा चल्छ नेपालमा । साइकल लेनको कुरा उठ्छ । चुचे रेल र मेट्रोको कुरा आउँछ । फोहोर व्यवस्थापन गर्ने भनेर घोषणा पत्रमा लेखिन्छ । वायु प्रदूषण घटाउने कसम खाइन्छ ।

फेरि पाँच वर्षपछि मुलुक स्थानीय चुनाव सँघारमा आइपुगेको छ । के हामीले हाम्रा जनप्रतिनिधिले घोषणापत्रमा लेखेको माथिका कसम पूरा भएका भए किन आज देश प्रदूषणको राजधानी बनेर चिनियो ? काठमाडौँ किन विश्वको दसौँ प्रदूषित सहर बन्यो ? भोलि भनेको कुरा पूरा गर्ने पधाधिकारी निर्वाचित गर्ने बेला आएको छ ।

नेपालको सन्दर्भ
नेपालको वार्षिक औसत प्रदूषण ८३.१ माइक्रो ग्राम प्रति घनमिटर रहेको छ । नेपाल भारतभन्दा पछाडि देखिन्छ । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार एक सयजनाको मृत्यु हुने गरेको बताइन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो । वायुमण्डलमा भएको भारी प्रदूषणका कारण विशेषतः मुटु, फोक्सो, क्यान्सर, दम, निमोनिया, मस्तिष्कघात तथा तौल कम हुनाको साथै प्रिमेच्युर बेबी जन्मने सम्भावना बढी हुने गर्छ ।

रियल टाइम एअर क्वालिटी इन्डेक्सका अनुसार मार्च २४ बिहान १ बजे काठमाडौँको इअर क्वालिटी इन्डेक्स १७४ रहेको छ । जुन मानव स्वास्थ्यका लागि खतरनाक मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हँुदैन तर काठमाडौँमा भने ७ गुणाको हाराहारीमा वायु प्रदूषण बढिसकेको छ ।

नेपाल सरकारले हालसालै सन् २०३० सम्म ९० प्रतिशत गाडी बिजुलीबाट चल्ने प्रतिबद्धता संयुक्त राष्ट्रसङ्घलाई (एनडीसी) अन्तर्गत बुझाएको छ । नेपालले हरेक वर्ष तीन खर्बको ऊर्जा कारोबार गर्छ भारतसँग । हरेक वर्ष २० प्रतिशत ऊर्जा दक्षतालाई एउटा अभियानका रूपमा लागू गर्न सके वर्षको ६० अर्ब रुपियाँको ऊर्जा बचत हुन्छ । पाँच वर्षमा हामी त्यो पैसाले आफैँ बूढीगण्डकी बनाउन सक्छौँ । बिजुलीको छेलोखेलो वर्षको तीन खर्ब ऊर्जाको नाममा विदेशिने पैसालाई बचाउन सक्छौँ ।

९५ प्रतिशत मानिस सार्वजनिक सवारी चढ्नुका साथै पैदल हिँड्ने देशमा पाँच प्रतिशत जनताले थोपरेको गाडीको धुलो धुवाँ खान विवश छन् । यति धेरै सङ्ख्यामा मानिस प्रदूषण, अव्यवस्था र ट्राफिक जामको सिकार हुँदा पनि यसबारेमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन ? निर्वाचनको मुखमा जनताले यो कुरा किन नउठाउने ?

नेपालले समयमै वातावरणीय प्रदूषणको यो दर्दनाक स्थितिलाई सन्तुलन ल्याउन नवीकरणीय ऊर्जाको अनुपात बढाउनुपर्छ । ग्यासलाई बिजुलीले, पेट्रोलियमलाई इलेक्ट्रिकल गाडीले विस्थापित गर्न सके देशको बढ्दो वैदेशिक घाटाको ठूलो खाडल कम गर्न सकिन्थ्यो । बढ्दो कार्बन उत्सर्जनमा कमी आए जनताको स्वस्थ्य स्थिति सुदृढ हुन्थ्यो । बिजुलीमा २० अर्ब र पेट्रोलियममा दुई खर्ब, ग्यासमा ३० अर्ब मात्र ऊर्जाका लागि हामीले विदेशमा खन्याएका छौँ । छिमेकीको फोहोर कोइलाले बनेको बिजुली हजारौँ किमि पार गर्दै ल्याइनु मुलुकहितमा छैन, न त बिजुली बेचेर देश धनी नै हुन्छ । बिजुलीको खपत बढाउनु र औद्योगिक वस्तु बेच्नु बुद्धिमानी हो ।

रोग लागेपछि त्यसको उपचारमा हारगुहार गर्न‘भन्दा त्यसका सूक्ष्म कारणलाई समयमै पत्ता लगाएर त्यसको स्थायी समाधान खोज्नु बुद्धिमानी हुनेछ । जनस्वास्थ र प्रदूषणसँगै ऊर्जा जलवायु, वनस्पति र वन्यजन्तुबीचको अन्योन्याश्रित सम्बन्धलाई समयमै पहिचान गरी नीति–नियम बनाएर र विकासका खाका कोर्न‘ उचित हुन्छ । वायु प्रदूषण नियन्त्रणका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन रणनीति निर्माण गर्नुपर्छ । उद्योगधन्दाबाट आउने प्रदूषण नियन्त्रणका लागि मापदण्ड बनाइ कडाइका साथ लागू गर्न‘पर्छ । जनचेतना अभिवृद्धि गर्ने प्रत्येक घरपरिवारले प्रदूषण नियन्त्रणका लागि जिम्मेवारीबोध हुने गरी उनीहरूको संलग्नता अनिवार्य गर्ने व्यवस्था मिलाउन जरुरी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?