logo
२०७९ माघ २० शुक्रवार



जलवायु परिवर्तनले निम्त्याउने दुर्भाग्य

विचार/दृष्टिकोण |




डा. रामहरि पौड्याल
जलवायु परिवर्तनले मानव जातिलाई प्रतिकूल असर पु¥याइरहेको छ । त्यसमा पनि यसबाट विकासोन्मुख मुलुकहरू बढी प्रभावित भएका पाइन्छ । जलवायु परिवर्तनको महŒवपूर्ण कारकका रूपमा रहेको हरित् गृह ग्यास विकासोन्मुख राष्ट्रले थोरैमात्र उत्सर्जन गर्छन् तर यसका कारण स्वास्थ्यमा पर्ने प्रभाव सबैभन्दा बढी तिनै मुलुकका मानिसले भोग्नुपरिरहेको छ । हरित् गृह ग्यास उत्सर्जनमा नेपालको भूमिका ०.०२७ प्रतिशतमात्र रहे पनि सन् २०१० को जलवायु परिवर्तन र यसको जोखिमसम्बन्धी अध्ययनले नेपाललाई विश्वमा चौथो जोखिम राष्ट्रका रूपमा राखेको छ ।
नेपालको संविधान २०७२ धारा ३० (१) ले प्रत्येक व्यक्तिले स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ भने धारा ३० (२) मा कानुनले प्रदान गरेअनुसार वातावरणीय प्रदूषण र क्षयबाट पीडितले प्रदूषक र क्षयकर्ताबाट क्षतिपूर्ति पाउने अधिकार सुनिश्चित गरेको छ । त्यसैले नेपालको संविधान–२०७२ मा हरित् गृह ग्यास उत्सर्जनका कारण हुने हानि वा क्षतिस्वरूप, राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन, सम्झौता, सन्धिअनुसार क्षतिपूर्तिको हकदार हुने स्पष्ट व्यवस्था गरिएको छ । त्यस्तै धारा ३५ (१) ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक, ३५ (२) ले प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक, ३५ (३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक र ३५ (४) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ ।
जलवायु परिवर्तन
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आईपीसीसी)का अनुसार मानवीय क्रियाकलाप तथा प्राकृतिक अस्थिरताका कारण लामो समयावधिमा जलवायुमा हुने कुनै पनि किसिमको परिवर्तन नै जलवायु परिवर्तन हो । जलवायु परिवर्तनले असर पार्ने प्रमुख तथा महŒवपूर्ण क्षेत्रमध्ये ऊर्जा पनि एक हो ।
त्यसैले जलवायु परिवर्तनको नकारात्मक असरहरू न्यूनीकरणका लागि ऊर्जा क्षेत्रमा उपयुक्त रणनीतिको निर्माण गरी जलवायु समानुकूलन ऊर्जा प्रणालीको विकास गर्नु आवश्यक छ । यद्यपि, नेपालमा हुने हरित् गृह ग्यास उत्सर्जन विश्वमा उत्सर्जन हुने कुल हरित् गृह ग्यासको प्रतिशत नगन्यमात्र देखिन्छ । यो तुलनात्मक रूपमा धेरै कम भए पनि नेपालमा तापक्रम र वर्षाको तथ्याङ्क विश्लेषण गर्दा जलवायु परिवर्तन स्पष्ट रूपमा तीव्र गतिमा भइरहेको देखिन्छ ।
तापमान वृद्धिको प्रवृत्ति तराईभन्दा हिमाली र पहाडी भेगमा उच्च पाइएको छ । जलवायु परिवर्तनजनित तापमान वृद्धिका कारण अल्पसमयमा धेरै वर्षा, लामो खडेरी, अत्यधिक बाढी, हिमताल विस्फोटन, धेरै दिनसम्म कुहिरो लाग्ने, शीतलहर, पानीका स्रोत सुक्ने, डढेलो लाग्ने (भर्खरै मनाङ जिल्लाका विकट क्षेत्रका वनमा लागेको ठूलो डढेलो, प्रसिद्ध तीर्थस्थल पाथिभराको जङ्गलमा लागेको डढेलो) त्यस्ता उदाहरण हुन् ।
हालै छिमेकी राष्ट्र भारतको उत्तरखण्डमा गएको डरलाग्दो हिउँपहिरो र बाढीले त्यहाँ बन्दै गरेको जलविद्युत्को बाँधलगायतका भौतिक संरचना बगाउँदा धरैको ज्यान गयो ।
त्यसमा नेपालीसमेत हताहत भएको दुःखद समाचार नसकिँदै हालै अमेरिकाको ट्याक्ससमा ठूलो हिउँआँधी आयो । नेपालको जत्रै क्षेत्रफल र जनसङ्ख्या भएको त्यहाँ अत्यधिक चिसोले विद्युतीय प्रसारण लाइन, वितरण प्रणालीदेखि उत्पादन प्रणालीसम्म प्रभावित भए । विन (हावा) टर्बाइन हिउँले पुरिए । सोलार प्यानल हिउँको पहाडले थिचिए । यही समयमा माग अत्यधिक बढ्दा पारम्परिक प्रणालीले धान्न सकेन र प्रणाली नै फेल भयो ।
लाखौँ मान्छेले अन्धकार भोगे, पानी पिउनबाट वञ्चित भए । ट्याक्सस् अमेरिकाको यस्तो राज्य हो, जहाँ व्यापक हिउँ र बरफ विरलै पर्छ । त्यसो भएकाले त्यहाँको भौतिक संरचना निर्माण गर्दा यस्तो डरलाग्दो हिउँ आँधीबेहरीको कल्पना गरिएको थिएन होला । अन्य राज्यभन्दा यहाँको बिजुलीको मूल्य सस्तो छ । धेरैजसो समय राम्रै मानिएको ट्याक्सस्को विद्युतीय व्यवस्था एकाएक ठूलो हिउँ वर्षाका अगाडि कति कमजोर र अव्यावहारिक बन्यो, प्रस्ट देखिएको छ ।
ऊर्जा विश्लेषक भन्छन्, केही बिन्दुमा, हामीले विद्युतीय मूल्यलाई कम राख्नका लागि यसप्रकार सस्ता संरचनाले गर्दा ऊर्जाको निरन्तर प्रवाह र विश्वसनीयता समस्यामा बदल्छौँ । लागत कटौतीमात्र उत्पादनको गुणवत्तामा देखापर्नाले यसप्रकारका प्राकृतिक उत्पात, बढ्दो मौसम आपतकाललाई सहन गर्न सक्ने भरपर्दो र बलियो पूर्वाधारको
कुरा आउँछ ।
यो जीवनको गुणवत्ता र अर्थ व्यवस्थाका लागि कति महŒवपूर्ण रहेछ भन्ने पाठ सबै देशले बेलैमा सिक्नुपर्छ । उच्च नेतृत्वमा बस्ने व्यक्तिले यस प्राविधिक विषयमा तत्सम्बन्धी विज्ञहरूलाई अगाडि बढाउनुपर्ने देखिन्छ ।
हावा र सौर्य ऊर्जाले यस हप्ता अपेक्षा गरेकोभन्दा बढी उत्पादन भएको थियो तर वर्षाको यस समयमा, यो अपेक्षित राज्यव्यापी उत्पादनको तुलनात्मक रूपमा सानो भाग नै हो । ग्यास र कोइला प्लान्टको उत्पादन अपेक्षाभन्दा कम थियो, अत्यधिक चिसो हुँदा माग बढेपछि आपूर्तिमा गिरावट आयो । प्रणाली भताभुङ्ग भयो । बिजुली उपलब्ध गराउने निकायबाट प्रणालीगत त्रुटिबारे अझै विस्तृत अध्ययन प्रतिवेदन आउन बाँकी नै छ ।
ट्याक्सस् रिपब्लिकनका लागि हरित् ऊर्जा एक राजनीतिक झोला हो । विज्ञहरू भन्छन् कि राजनीतिज्ञहरूले प्राकृतिक प्रकोपका लागि कहिल्यै पनि जिम्मेवारी लिँदैनन् । नवीकरणीय ऊर्जाको विरोधीले यही मौकामा यो सबै हरित् ऊर्जाको नाममा हावा र सौर्य ऊर्जालाई बढी सहुलियत दिएर कोइला, ग्यासजस्ता पारम्परिक ऊर्जालाई गरिएको उपेक्षाको परिणामसमेत भन्न थालेका छन् । तथापि, ऊर्जा मिक्स (मिश्रित)को सिद्धान्तलाई यो घटनाले ठूूूलो पाठ सिकाएको छ ।
नेपालले सिक्नुपर्ने पाठ
२०७५ चैत २७ मा बारा र पर्सामा ३० जनाको मृत्यु हुनेगरी विनाशकारी हावाहुरी आएको थियो । जल तथा मौसम विज्ञान विभाग, द स्मल अर्थ नेपाल र इसिमोडका वैज्ञानिकको टोलीले उक्त हावाहुरी नेपालमा कहिल्यै नसुनिएको टोर्नाडो नै रहेको जनाएको छ । उक्त विनाशकारी हुरीबतासका कारण विद्युतीय पोल र प्रसारण लाइनमा क्षति पुग्दा झन्डै १५ करोड रुपियाँबराबरको नोक्सानी भएको थियो । हावाहुरीका कारण ठाउँ ठाउँमा पोल ढलेको र प्रसारण लाइनसमेत क्षतिग्रस्त भएको थियो ।
कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत् प्रणालीमा मात्र करिब एक हजारदेखि एक हजार पाँच सय विद्युत् पोलहरू लडेका थिए । विद्युत् तारहरू विभिन्न स्थानमा चुँडिएकाले प्रसारण क्षतविक्षत भएको थियो ।
भारतबाट ल्याउने बिजुलीसमेत प्रसारण लाइनका टावरहरू ढल्दा ७० मेगावाट बिजुली रोकिएको थियो । हरेक वर्ष नेपालमा बाढीपहिरोजस्ता प्रकोपले हाम्रा विद्युतीय संरचनामा करोडौँको क्षति पु¥याउँछन् । यस्तो विषम परिस्थितिमा शीघ्र विद्युत् आपूर्ति ठूलो चुनौती
बन्ने गर्छ ।
सन् २०१५ को विनाशकारी भूकम्पले हाम्रा ३० प्रतिशत जलविद्युत् आयोजना प्रभावित भए । यसरी जलविद्युुत्लाई ऊर्जाको भरपर्दो स्रोत ठानेर देश विकासमा लम्किएको नेपालले बेलैमा यसबारेमा गम्भीर
भएर सोच्नुपर्छ ।
हाइड्रोपावरको देश ब्राजिलले आफ्नो विद्युतीय विकासमा ठूला ड्यामका हाइड्रोपावरलाई रोकेको सन्दर्भबाट समेत हामीले केही सिक्नुपर्छ । विश्व बैङ्कले जनाएअनुसार सन् २०३० सम्म केन्द्रीकृत विद्युतीय प्रणाली ३० प्रतिशत र विकेन्द्रित विद्युतीय प्रणाली ७० प्रतिशत हुने जनाइरहेको सन्दर्भमा हाम्रा पाइला कुन दिशातर्फ बढिरहेका छन् ? समयमै विज्ञहरूसँग परामर्श गर्दै अघि बढ्नुपर्छ ।
विश्वमा बढ्दै गएका यसप्रकारका चरम मौसम आपतकालबाट पाठ सिक्दै ऊर्जाका हाम्रा पारम्परिक स्रोत, पारम्परिक वितरण प्रणाली, ऊर्जा उत्पादन प्रविधि सबैमा समायोनुचित परिवर्तन गर्दै नयाँ–नयाँ प्रविधि र आयामलाई सुरु गर्न ढिला गर्नुहुँदैन ।
ऊर्जा प्रणालीलाई समायोनुचित बदल्न विश्वमा लागू हुँदै गएको ऊर्जा मिश्रणको अनिवार्य व्यवस्थालाई नेपालले समयमै सुरु गर्नुपर्छ । ‘टु मेक एन इनर्जी फिक्स, वि निड एन इनर्जी मिक्स’ ब्रिटिस पेट्रोलियमको यो मूलमन्त्र नेपाली ऊर्जा व्यवस्थामा तत्काल लागू गर्दै हाम्रा स्थानीय ऊर्जाका स्रोत हावा, सौर्य, बायोमास, हाइड्रो, हाइड्रोजन ऊर्जा, हाइड्रोजन फ्युल सेल सबैलाई समानुपातिक रूपमा प्रयोग गर्न थाल्नुपर्छ । जुनसुकै बेला जे पनि हुन सक्ने मौसम आपतकालमा सबैलाई दिगो भरपर्दो, हरित् ऊर्जालाई सुनिश्चित गर्नुपर्ने जिम्मेवारी हरेक देशका लागि एउटा ठूलो चुनौती बनेको छ ।
(लेखक बेलायतमा अनुसन्धानदाताका रूपमा कार्यरत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?