सुदर्शन पौडेल
कोभिड–१९ ले सिर्जना गरेको जनस्वास्थ्य सङ्कटमा जन स्वास्थ्यकर्मीको प्रभावकारिता आलोच्य बन्यो । हुन पनि तिनले यस अवस्थामा नागरिकलाई सुसूचित पार्न, प्रवद्र्धनात्मक सेवाको तयारी र त्यसको कार्यान्वयनमा आशातीत योगदान दिन सकेनन् । जनस्वास्थ्यका कतिपय सरकारी तथा गैरसरकारी क्षेत्रका संरचनाले पनि हात बाँधेर बसे । बन्दाबन्दीको घोषणा गर्नुको अभिप्राय रोग नफैलियोस् भन्ने थियो । यस अवसरलाई धेरैले घरमा बस्ने बिदाका रूपमा लिए । कैयौँ पेशाकर्मी सामाजिक सञ्जालमा सक्रियता देखाउनबाहेक व्यक्ति वा समुदायसम्म पुग्ने, अवस्थाको विश्लेषण गर्ने, सम्भाव्य सङ्क्रमित वा प्रभावितलाई आवश्यकता र औचित्यका आधारमा सुसूचित पार्ने, सेवा वा उपचारमा सहजीकरण गर्ने, सङ्क्रमितप्रति व्याप्त विभेद हटाउने, नीति नियम बनाउन र त्यसको कार्यान्वयनमा उल्लेख्य योगदान दिन चुके । यस्तो अवस्था आएको राज्यले जनस्वास्थ्य क्षेत्रलाई कम आँकेको वा जनस्वास्थ्यकर्मीको नेतृत्व क्षमता र दूरदर्शिताको कमी भएकाले हुन सक्छ ।
वर्तमान समय जनस्वास्थ्यका दृष्टिकोणले चुनौतीपूर्ण छ । मानिसको आहार, विहार र विचारमा निकै परिवर्तन आएको छ । धनीका समस्या र गरिबका स्वास्थ्यका समस्या साँघुरो हँुदै छन् । त्यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा देखापर्न थालेको छ । विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार हालसम्म मानिसमा करिब एक हजार चार १५ थरीका रोग पहिचान भइसकेका छन् । आगामी दिनमा रोग बढ्दै जानेछन् । आममानिसलाई सुसूचित पार्न सकेमा भविष्यमा आउन सक्ने ठूलो क्षतिबाट भावी पुस्तालाई सुरक्षित पार्न सकिन्थ्यो । यसको नेतृत्व जनस्वास्थ्यकर्मीले नै गर्नुपर्छ ।
जनस्वास्थ्य सङ्कटमा नेतृत्वदायी भूमिकाका लागि चारवटा क्षेत्र प्राविधिक ज्ञान, अन्तरव्यक्ति सञ्चार, तार्किकता र संवेदनामा दक्षताको खाँचो हुन्छ । यी चारैवटा दक्षता भएको व्यक्तिले मात्र जनस्वास्थ्य सङ्कटको अवस्थालाई सही आँकलन गरी त्यसको निकासका लागि कार्यक्रम बनाउन योगदान दिन सक्छन् । यसप्रकारको कार्यलाई सङ्कटबाट निकास भनिन्छ । जसअन्तर्गत सङ्कट व्यवस्थापनबारेमा जानकारी, त्यसको विधि, उपयुक्त प्रविधि वा स्रोत सामग्रीको जोहो, अन्तरव्यक्तिका सञ्चार, द्वन्द्व व्यवस्थापन, समन्वय र समूहगत कार्यको अभ्यास जरुरी पर्छ । साथै समस्या समाधानको ज्ञान, तार्किक सोचको अभ्यास, राज्यका मौजुदा नीति–नियमको अनुशरण गर्दै योजना तर्जुमा, निर्णय क्षमता, सिर्जनशीलता, अनुशासन, संवेगात्मक क्षमता विकास, सामाजिक, आर्थिक अवस्थाको सही विश्लेषणको आवश्यकता हुन्छ ।
जनस्वास्थ्य सङ्कट वा जोखिमको अवस्थामा साधारणतया अन्य अवस्थामा सम्पादन हुने सेवा तथा गतिविधि निकै सीमित भएका हुन्छन् । यस अवस्थामा कतिपय काम निर्धारित मापदण्डभन्दा फरक ढङ्गले पनि सम्पादन गर्नुपर्ने हुन्छ । तर, त्यस्तो अवस्था सङ्कट कम भएपछि स्वतः निष्क्रिय हुन्छ । सङ्कटको अवस्थामा रोजगारदाता, सरोकारवाला, प्रभावित सर्वसाधारणले नेतृत्वबाट थुप्रै कुराको अपेक्षा राखेका हुन्छन् । यस कुरालाई पाँच पक्षमा बाँडेर हेर्नुपर्छ प्रभावित व्यक्ति वा समूहको सुरक्षासम्बन्धमा यथेष्ट र सही सूचनाको जानकारी, प्रभावित व्यक्तिको परिवार, तिनका आश्रितलाई (घरपालुवा पशुपक्षीसमेत) पर्न सक्ने खतराबारे जानकारी; उपलब्ध सूचना वा अन्य तथ्यका आधारमा निर्णय क्षमताको विकास; सङ्कट व्यवस्थापनमा सक्रिय, सहभागितामूलक भूमिका निर्वाह तथा उपलब्ध र आवश्यक स्रोत सामग्रीको आँकलन अनि व्यवस्थापन गर्ने र सङ्कटको निकास वा जनमानसमा भयमुक्त अवस्था सिर्जना गर्ने र सामाजिक, आर्थिक अवस्थाको जगेर्ना गर्न कार्यमा अभिप्रेरित हुनुपर्छ ।
निष्क्रिय पेशागत निकाय
नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा हाल ३५ विषयका एक लाख २५ हजारको हाराहारीमा स्वास्थ्यकर्मी सूचीकृत छन् । त्यसमध्ये छ हजारको हाराहारीमा जनस्वास्थ्यमा स्नातक वा सोभन्दा माथिल्लो तहको जनशक्ति छ । परिषद्को भूमिका सूचीकृतको शैक्षिक योग्यताको प्रमाणीकरण गर्ने, क्षमता अभिवृद्धि गर्नेलगायत उनीहरूबाट सम्पादित कामको निरन्तर अनुगमन गर्ने पनि हो । जनस्वास्थ्य सङ्कटको अवस्थामा परिषद्ले नेपाल सरकारको सम्बन्धित निकायको समायोजनमा आवश्यकताका आधारमा विभिन्न तहमा जनशक्ति परिचालन गर्न सक्नुपथ्र्यो । तर, परिषद्ले सूचीकृतको विस्तृत र अद्यावधिक लगत राख्न सकेको छैन र पेशाकर्मी पनि परिषद्प्रति जिम्मेवार बन्न सकेका छैनन् ।
नेपालमा हरेक वर्ष सालाखाला आठ सयदेखि एक हजारजना जनस्वास्थ्यकर्मी थपिन्छन् । यस्ता पेशाकर्मीको मुख्य खपतकर्ता सरकार नै हुने गरेको छ । वर्तमान जनस्वास्थ्य सङ्कटको अवस्थामा सरकारले पर्याप्त तयारीको अवसर पाएको थियो तर जुन बेलामा जनस्वास्थ्यका गतिविधि सञ्चालन गरिनुपर्ने थियो, त्यो बेला उपचारात्मक क्षमताको विकास र विस्तारमा बढी समय खर्चियो । जतिबेला उपचारात्मक विधिलाई थप सदृढ बनाउनुपर्ने थियो, राज्यले खर्च धान्न नसक्ने महसुस ग¥यो र जनस्वास्थ्यको स्मरण ग¥यो । राज्यका स्वास्थ्य क्षेत्रका नीति, निर्माता र विज्ञको उल्टो गतिले नेपाललाई धेरै क्षति पुग्यो ।
नेपाल जनस्वास्थ्यकर्मी सङ्घ तीन दशकदेखि अस्तित्वमा रहेको जनस्वास्थ्यकर्मीको एकमात्र पेशागत सङ्गठन हो । यसमा आजीवन र साधारण सदस्य गरी करिब दुई हजारजना आबद्ध छन् । विपतको अवस्थामा सङ्घको चौतर्फी आलोचना भएपछि विज्ञप्ति निकाल्ने, सामाजिक सञ्जालमा सक्रियता बढाउनेबाहेक समुदायमा परिचालन हुन सकेन । प्रदेश तहसम्म सङ्गठन रहेको सङ्घले स्थानीय आवश्यकताका आधारमा जनचेतना विस्तार, राज्यका नीति तथा कार्यक्रमको कार्यान्वयन, स्थानीय सरकारको सहकार्यमा क्वारेन्टिनको व्यवस्थापन, होम वा स्वास्थ्य संस्थामा आईसोलेसनमा सहयोग साथै सामाजिक व्यवस्थालाई सहज बनाउन योगदान दिन सक्थ्यो । तर, समयको मागलाई वस्तुनिष्ठ भई विश्लेषण गरी जिम्मेवारी निर्वाह गर्ने कुरामा सङ्घको नेतृत्व परिपक्व देखिएन ।
जनस्वास्थ्य सङ्कटको निकासमा विभिन्न पक्षको महŒवपूर्ण भूमिका हुन्छ । त्यसमा नेतृत्वले आफ्नोमातहतका कर्मचारी वा सहायकको क्षमताको सही आँकलन गर्नु, देशमा उपलब्ध जनशक्तिको सङ्ख्या र योग्यताको आँकलन गरी योजना तर्जुमा गरी सोहीअनुसार कार्यान्वयन गर्नुपथ्र्यो । यसको तयारी गर्दा नेतृत्वले सम्भाव्य सवाल जस्तै
(जनस्वास्थ्य सङ्कटका कारण थाहा नहुन सक्छ) त्यस अवस्थामा सेवालाई कसरी सुचारु गर्ने, प्रविधिको विकास र त्यसको सञ्चालन क्षमता कसरी विकास गर्ने, सहकार्य गर्ने व्यक्ति वा संस्थाको पहिचान र त्यसको कार्यान्वयन, कर्मचारीको मनोबल कसरी उच्च राख्ने भन्नेबारेमा जानकार हुनुपथ्र्याे । उपलब्ध स्रोत–साधन र यथार्थपरक लक्ष्य निर्धारण गर्ने र उक्त लक्ष्यको प्रचार–सञ्चार गर्ने, कम महŒवपूर्ण गतिविधि पहिचान गर्ने, विगतका अनुभवबाट पाठ सिक्दै उच्च मनोबलसाथ अग्रपङ्तिमा खटिनुपथ्र्यो । कोभिड–१९को व्यवस्थापनमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालले राम्रो काम गर्न सक्नुमा यिनै कुराले भूमिका खेलेको हुन सक्छ ।
जनस्वास्थ्य सङ्कटको व्यवस्थापनमा हरेक संस्थाले आवधिक रूपमा सङ्कटको पूर्वअभ्यास गर्नुपथ्र्याे । त्यस्तो अभ्यास प्रभावकारी भएमा न्यूनतम स्रोत–साधन र जनशक्ति भएको संस्थाले पनि सङ्कटको अवस्थामा राम्रो काम गर्न सक्थे । महामारीविरुद्धको लडाइँमा एकातर्फ सघन उपचार केन्द्रमा हुने उच्च प्राविधिक सेवा आवश्यक पर्छ भने त्योभन्दा बढी महŒवपूर्ण समुदायस्तरमा गरिने काम हुन सक्थ्यो । महिला सामुदायिक स्वास्थ्य कार्यकर्तालाई परिचालन गरेको खोजपड्ताल (कन्ट्र्याक ट्रेसिङ), जनचेतना जगाउने कार्यमा परिषद्मा सूचीकरण भएका स्वास्थ्यकर्मीलाई परिचालन गर्न सकिन्थ्यो ।
विश्वविद्यालयबाट दीक्षित स्थानीय व्यक्ति वा निष्क्रिय बसेका कर्मचारी वा अन्यलाई सामान्य प्राविधिक ज्ञान दिएर खटाउन सकिन्थ्यो । अन्य देशको अनुभवसमेतलाई मध्यनजर गरी म्यादी दस्ताको तयारी गरी देशैभरि छ हजार छ सय ८४ वार्ड ‘वाच टिम’
(हेरालो टोली) बनाएको भए क्यारेन्टिन, सङ्क्रमित तथा प्रभावितको यथार्थ लगत लिन र त्यसका लागि आवश्यक तयारीका सम्बन्धमा नीतिगत निर्णय लिन सहज हुने थियो । सम्भाव्यताका आधारमा स्वास्थ्य सेवाबाट सेवानिवृत्त व्यक्तिलाई परिचालन गर्न सकिन्थ्यो ।
कोभिडको समयमा हात धुने, मास्क प्रयोग र भौतिक दूरी कायम गराउन नेपाल प्रहरीलाई परिचालन गरियो । यसले यो महामारी स्वास्थ्यभन्दा पनि सुरक्षा सङ्कटजस्तो अनुभूति भयो । प्रहरी र स्वास्थ्यकर्मीलाई सँगसँंगै खटाएको भए दुवैको मनोबल बढाउन सकिन्थ्यो । अर्कोतर्फ गैरस्वास्थ्यकर्मी अभियन्ताले (जस्तै ः महावीर पुनको आविष्कार केन्द्र) स्वास्थ्य सेवा वा उपचारलाई सहज बनाउन औजार तथा व्यक्तिगत सुरक्षा सामग्री निःशुल्क वितरण गरेर निकै ठूलो योगदान दिए । यस्तो सङ्कटमा मैले के गर्न सकेँ र सक्थेँ भनी राज्यका जिम्मेवार निकाय, त्यहाँको नेतृत्वलगायत आमनागरिकले आफैँलाई प्रश्न गरौँ । त्यसमा पनि जनस्वास्थ्यकर्मीले कोभिडविरुद्धको लडाइँमा आफ्नो भूमिकासम्बन्धमा गम्भीर समीक्षा गर्नैपर्छ । यसक्रममा भएका सफलता वा असफताबाट पाठ सिक्नु र भविष्यमा आउन सक्ने सङ्कटलाई सुझबुझसाथ सामना गर्न तयारी
अवस्थामा रहनुपर्छ ।
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य सङ्कायमा कार्यरत हुनुहुन्छ ।)