सुदर्शन पौडेल
कोभिडपश्चात्को व्यवस्थालाई सहज पार्न जापान सरकारले फेब्रुअरी १९ मा एकान्तबास मन्त्रालय (मिनिस्ट्री अफ लोन्लिनेस) गठन ग¥यो । उक्त मन्त्रालयको मुख्य जिम्मेवारी बढ्दो आर्थिक, सामाजिक, मनोवैज्ञानिक असरलाई कम गर्ने रहेको समाचारमा उल्लेख गरिएको छ । त्यहाँका युवामा आत्महत्या, मानसिक समस्याको दर निकै उच्च भएका कारणले समाजमा पु¥याउने क्षतिलाई जोगाउनका साथै भावी पुस्तामा पर्न सक्ने नकारात्मक असर कम गर्न सामाजिक सङ्घ संस्थाको समन्वय र सहकार्य गर्ने उद्देश्य रहेको छ । त्यसका लागि राज्यले अन्तरमन्त्रालय समन्वय र सहकार्यलाई जोड दिने उल्लेख छ । उक्त कदमले कोभिडले मानव जातिमा पारेको असर र भविष्यमा देखापर्न सक्ने प्रभावका बारेमा गम्भीर विषय उजागर गरेको छ । बेलायतलगायतका विकसित देशले पनि प्रशासनिक संरचनामा थप गरी यस्तै प्रकारका विविध गतिविधि सञ्चालन गर्दै आएका छन् भने अन्य देश पनि त्यसतर्फ उन्मुख छन् ।
कोभिडका कारण बन्दाबन्दी लागू हुनुभन्दा अघि प्रतिमहिना सरदर चार सयजनाले आत्महत्या गर्ने गरेकोमा त्यसपछिको अवधिमा करिब छ सयले आत्महत्या गरेको नेपाल प्रहरीले प्रकाशित गरेको आँकडा देखिन्छ । कोभिडका कारण हालसम्म कुल तीन हजारको हाराहारीमा व्यक्तिले ज्यान गुमाउँदा आत्महत्या गर्नेको सङ्ख्या दुई हजार २१८ पुगेको छ । यस्तो दर कोभिड सुरु हुनुअघि प्रतिदिन १५ जना रहेकोमा कोभिडपछि प्रतिदिन २० पुगेको छ । यस्तो आँकडामा आत्महत्याको प्रयास गरेका वा बाँचेका वा मर्ने विचार आएकाको लगत समावेश छैन । यस्ता कैयौँ घटना सार्वजनिक नभएका पनि हुन सक्नेसमेत अनुमान गर्दा कोभिडले मरेका मानिसको तुलनामा आत्महत्याबाट मृत्यु हुने सङ्ख्या पनि उल्लेख्य हुन सक्ने आँकलन गर्न सकिन्छ । यस अर्थमा यी सबैलाई जोड्दा नेपालमा आत्महत्याको यस्ता घटनापश्चात् उसको परिवारमा पर्ने मानसिक वा सामाजिक असर निकै गम्भीर हुने गर्छ ।
गत वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशित गरेको अध्ययनमा १२.९ प्रतिशतमा (गम्भीर) मानसिक रोग देखाएको थियो । उक्त अध्ययनका अनुसार मानसिक रोगीमध्ये नौ प्रतिशत किशोरकिशोरी र ११ प्रतिशत युवामा मर्ने विचार आउने गरेको पनि उल्लेख गरिएको थियो । कोभिडका कारण शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक, साँस्कृतिक गतिविधिमा अवरोध, हिंसाका घटना, महामारीका बारेमा फैलिएका डरलाग्दा भ्रम आदिका कारण निम्न तथा मध्यम आय भएका परिवार र युवा पुस्ता बढी प्रभावित भएका छन् । यसका अलावा अन्य मानसिक समस्या पनि ठूलो सङ्ख्याका मानिस (युवा तथा बच्चासमेत)मा बढेको पाइएको छ । मानवशास्त्री दार्शनिक इमाइल दुर्खाइमले (सन् १८९७ मा प्रकाशित विश्वप्रसिद्ध शोधग्रन्थ आत्महत्यामा उल्लेख भएअनुसार) यसको मूल कारण समग्रमा गरिबी र असमान सामाजिक व्यवहार बढी जिम्मेवार बताउनुभएको छ । हालको कोभिडको सन्दर्भमा घटित परिदृश्यले त्यस्तै विषय आकर्षित भएको देखिन्छ ।
वर्तमान सामाजिक अवस्था
कोभिडले सामाजिक दूरी (?) कायम गर्न सिकाइरहँदा मानिस मानिससँग टाढिनुपर्ने, एकान्तमा बस्ने, शैक्षिक तथा सेवासम्बन्धी गतिविधिमा अवरोध, पेसा व्यवसाय वा रोजगारी गुमेका कारण आर्थिक सङ्कट भोग्नुपरेका कारण छोटो अवधिमा मानव जातिमाथि निकै दबाब सिर्जना भयो । नेपालका युवाविहीन ग्रामीण क्षेत्रमा वृद्ध, महिला र बालबालिकाको जनजीविकामा सङ्कट प¥यो भने सहरमा बेरोजगार शिक्षित युवा बहुल अवस्थाले मानसिक तनावदेखि छिट्टै अरूको बहकावमा कानुन तोड्न उद्यत भएका कारण समस्या हुने गरेको छ ।
मानिस सामाजिक प्राणी हो । यसको आसय व्यक्तिगत कमीकमजोरी, लोभ, सङ्कीर्णतालाई बोकेर सुन्दर भविष्य निर्माणको सारथि बन्न सकिन्न, न त मौजुदा समस्यासँग भागेर एक्लै बस्दा वा आफैँलाई दोषी मान्दा नै प्रतिफल राम्रो आउँछ । नेपालको सनातन परम्परामा एक्लो बस्नु वा आफैँलाई दोषी मानी (घातक) सजाय दिनु स्वाभाविक होइन । भनाइ नै छ, गरिब धन–सम्पत्ति नभएमात्र होइँदैन बरु सुख, दुःख बाँड्ने साथी नहुनु पनि हो । हाम्रा सम्बन्धका कडी अनगिन्ती छन् र त्यसैको बलमा समाजमा आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहन्छ । आधुनिकताको रङ अनि प्रविधिको उच्च प्रयोगले यो व्यवस्थामा विचलन आएका केही लक्षण देखिन्छन् । आकर्षक भविष्यको हुटहुटीमा (लालचामा) परिवार, सामाजिक सम्बन्ध वा गतिविधिमा टाढिनु, अभौतिक दुनियाँमा रमाउनु, असफलता वा अप्ठ्यारालाई स्वीकार्न नसक्नुको प्रतिफल समाज नै अस्वस्थ हँुदै गएको छ ।
व्यक्तिको भूमिका एक यक्तिको सफलता वा सामाजिक हितमा कार्य गर्न अरूको सहकार्य अपरिहार्य हुन्छ तर स्वयम्को घात वा अवनतिका लागि कसैसँग सहकार्य वा सोधिरहनुपर्दैन । सामाजिक एकीकरणको माध्यमबाट समाजका मौजुदा अप्ठ्यारा वा गम्भीर चुनौतीलाई परास्त गर्न सकिन्छ । समूहमा (परिवार, साथी, अन्य) रहने भएका कारणमात्र मानिसले आफूलाई पृथक र श्रेष्ठ बनाउन सकेको हो । त्यसैले मानिस एक्लै बस्नै सक्दैन । महिला र पुरुषबीचको वैवाहिक सम्बन्धको प्रादुर्भाव पनि यही सामाजिक एकीकरणको एक कदम रहेको मान्न सकिन्छ । कोभिडको अवस्थामा एकातर्फ भागदौडको जीवनबाट विश्राम लिई परिवारसँग गुणस्तरीय समय बिताउँदा स्वास्थ्यमा पक्कै पनि सकारात्मक प्रभाव परेको छ तर अर्कोतर्फ परिवारभित्रका वैचारिक विभिन्नता, पेसा, व्यवसायमा अवरोध, आर्थिक वा साथी सँगातीसँगको बस्दो (भौतिक) दूरीलाई धेरै मानिसले सहज रूपमा स्वीकार्न सकेनन् ।
पछिल्लो समयमा सामाजिक एकीकरणमा क्षयीकरण हँुदै गएको परिप्रेक्ष्यमा कोभिडविरुद्धको लडाइँमा सुझाइएको तीन नियममध्येको सामाजिक
दूरी (?) ले सिर्जना गरेको अवस्थाका कारण एक्लोपन र मानसिक रोग बढाएको छ । त्यसमाथि सञ्चार जगत् र सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाका कारण मानिस थप त्रस्त भएको अवस्था आइप¥यो । मानव सभ्यताले वर्षौंदेखि अवलम्बन गर्दै आएका सामाजिक मूल्य–मान्यतामाथि ठूलो वज्रपात भयो ।
यसले साना बालबालिकामा गहिरो मनोवैज्ञानिक असर पा¥यो । त्यसैको परिणाम व्यक्तिले स्वयम्को घात वा अवनतिका गतिविधि बढेको मान्न सकिन्छ । समाज अस्वस्थ छ भने त्यहाँका जीवन कसरी स्वस्थ हुन सक्थे ! यससम्बन्धमा धेरै समाज सुधारकले सामाजिक मूल्य–मान्यतालाई पुनः परिभाषित र कार्यान्वयनमा जोड दिन सुझाइरहेका छन् । कतिपय समाजमा त्यसतर्फका गतिविधि सञ्चालनसमेत हुँदै छन् ।
राज्यको भूमिका
कोभिडले नेपालको आत्महत्याको दर निकै उच्च भयो । यसको निदानका सम्बन्धमा नेपाल सरकारले अरू देशको नक्कल गर्नुपर्छ भन्ने छैन तर त्यसबाट पाठ सिक्दै नेपाली परिवेशसुहाउँदो सुधारात्मक प्रयास चाल्नु अति आवश्यक भइसकेको छ । आत्महत्या गर्नुका कारणमा आर्थिक अभावका कारण अत्यावश्यकीय आवश्यकताजस्तै खाना, उपचार आदिको अभाव हुनु, विभिन्नप्रकारका हिंसा (विभेद), परिवारप्रतिको जिम्मेवारी निर्वाह गर्न नसक्नु, अनिश्चित भविष्यप्रतिको डर, गलत समाचार आदि हुने गरेका छन् ।
२०७६ मा कोभिड–१९ को पहिलो लहर चल्दै गर्दा त्यसको व्यवस्थापनमा वैज्ञानिक समाज, स्वास्थ्यकर्मीदेखि राज्यका अन्य संयन्त्रमा अन्योल अवस्था थियो । निम्न तथा मध्यमवर्गको जीविकोपार्जनका सम्बन्धमा पर्याप्त तयारी गर्न नसक्दा, बिरामीको उपचारको वैकल्पिक व्यवस्था गर्न, गलत समाचारलाई रोकथाम गर्न नसक्दा, उपलब्ध स्रोत–साधनको उचित वितरणको चाँजोपाँजो मिलाउन नसक्दा वा नजान्दा धेरै जनधनको क्षति बेहोर्नुप¥यो । हाल फेरि नेपालमा पनि कोभिड सङ्क्रमणको तीव्र सम्भावना देखिँदै गरेको अवस्थामा राज्यले बढी सुझबुझसाथ जिम्मेवारी निर्वाह गर्नुपर्छ । विगतबाट पाठ सिकेर आगामी दिनमा कोभिडका कारण सिर्जना हुने असामान्य परिस्थितिमा पनि सङ्क्रमित वा प्रभावित व्यक्तिप्रति कुनै भेदभाव नगर्ने, एक्लोपनलाई कम गर्ने, सुरक्षाका उपाय अवलम्बन गरी रचनात्मक कार्यमा लाग्न प्रेरित गर्ने उद्देश्यले राजकीय एवम् व्यवस्थापकीय तयारी गर्नुपर्छ ।
त्यसका लागि स्थानीय सरकारले (अति) विपन्नको लगत तयार पारी उनीहरूको दैनिक खाना, उपचारको बन्दोबस्ती जिम्मा लिनुपर्छ । स्वास्थ्य सम्बद्धकर्मीलाई आधारभूत तालिम प्रदान गरी वडा वा पालिकास्तरमा परिचालन गर्न स्वास्थ्यसम्बद्ध परिषद्, पेसागत सङ्घ वा महासङ्घलगायत शिक्षित युवालाई परिचालन गर्नु वाञ्छनीय हुन्छ । सामाजिक सङ्घ संस्थालाई नागरिकको सचेतना तथा अप्ठ्यारो हटाउन परिचालन गर्न राज्यले संयोजनकारी भूमिका निर्वाह गर्नुपर्छ । त्यसक्रममा दीर्घरोग, मानसिक समस्या भएका व्यक्तिलाई आवश्यक औषधि र आवश्यकताअनुसारको चिकित्सकको परामर्शको व्यवस्था मिलाउने, लैङ्गिक वा सामाजिक हिंसाका घटनासम्बन्धमा यथाशीघ्र उद्धार र न्याय दिन भूमिका खेल्नुपर्छ । कोभिडको नयाँ लहरका कारण विगतमा झैँ शिक्षा, मनोरञ्जन, खेलकुद गर्न बन्देज हुने अवस्था सिर्जना भएमा बालबालिका वा किशोरकिशोरीमा बेचैनी बढ्नेछ । त्यस्तो अवस्थामा परिवारले मात्र बच्चा तथा किशोरकिशोरीको पर्याप्त सुरक्षा, उचित हेरचाह वा संरक्षण प्रत्याभूति दिन नसक्ने हुँदा उनीहरूमा मर्ने विचार आउने सक्नेछ । त्यो रोक्न बच्चा तथा किशोरकिशोरी लक्षित मनोसामाजिक परामर्श वा सुरक्षित वातावरणमा रचनात्मक कार्यमा संलग्न गराउनुपर्छ ।
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य सङ्कायमा प्राध्यापन गर्नुहुन्छ ।)