logo
२०८१ बैशाख २० बिहीवार



चिनीको प्रयोग घातक बन्दै

विचार/दृष्टिकोण |




सुदर्शन पौडेल

चुरोट र रक्सी सेवनलाई राम्रो मानिन्न । चिनीको प्रयोगले पनि धेरै समस्या जन्माउन थालेको छ । अधिकांश उमेर समूह र क्षेत्रमा चिनीलाई अत्यावश्यक भनी परिभाषित गरिएको पाइन्छ । चाडपर्व चिनी विना खल्ला हुन्छन् । गुलियो चियाबाट सुरु हुने अधिकांशको दैनिकीमा गुलिया पेय र खाद्य परिकार धेरै हुन्छन् । चुरोट र रक्सीले मुटु, फोक्सो कलेजोलगायत शरीरका सबै भागमा नकारात्मक असर पार्ने भएकाले समाजले यसप्रति नकारात्मक धारणा बनायो । तर मिठो स्वादमा लोभिएका मानिस चिनीलाई नराम्रो मान्नै चाहँदैनन् । चिनीका कारण मोटोपना हुने, मधुमेहलगायत कैयौं असाध्य रोग लाग्न थालेका छन् । यौनेच्छा कम हुने, प्रजनन शक्ति घट्ने, गर्भमा भ्रूणको विकासमा खराबी हुनसक्ने जस्ता असर चिनी प्रयोगबाट देखिन थालेको अध्ययनले देखाएका छन् । यस अर्थमा (सेतो) चिनीलाई चुरोट र रक्सी जस्तै हानिकारक वस्तुका रूपमा व्यवहार गरिनुपर्छ ।

हामीले स्कुलमा नाटक गर्दा कपडा बेरेर ठूलो भुँडी भएका पात्र बनाउँथ्यौँ । त्यसताका ठूलो भुँडी सम्पन्नता वा उच्च हैसियतको मानक थियो । समयसँगै खानपिन फेरिएको छ । शारीरिक श्रम घटेको छ । आम्दानी बढेको छ । पैसा भए खाना वा विलासिताका वस्तु सहज रूपमा उपलब्ध हुन्छ । फलस्वरूप जीवनशैलीसँगसम्बन्धी रोग तीव्रगतिमा बढिरहेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन २०१९ मा अध्ययन गरेको स्टेप सर्भेअनुसार नेपालमा ५.८ प्रतिशत व्यक्ति मधुमेह अर्थात् चिनीका रोगी र २४.३ प्रतिशतमा मोटोपना छ । अन्य अध्ययनमा छिट्टै नेपालका करिब पाँच प्रतिशत बच्चामा मोटोपनाको सम्भावना रहेको प्रक्षेपण गरिएको छ । विश्वमा १८ वर्षमाथिका करिब ४० प्रतिशत मानिसमा मोटोपनाको समस्या छ । न्युयोर्क सहरका पूर्व मेयर तथा विश्व स्वास्थ्य सङ्गठनका लागि नसर्ने रोेगका सद्भावना दूत माइकल ब्लुम्बर्गका अनुसार विश्वमा औद्योगिक गुलिया पेयपदार्थको वार्षिक कारोबार करिब दस खर्ब अमेरिकी डलर पुगेको छ ।
 
मेलादेखि भान्छासम्म बजार विस्तार
नेपालमा पनि गुलियो पेयपदार्थ, जुसको काराबार तीव्र गतिमा बढिरहेको छ । यस्ता पेयका उत्पादकले विभिन्न उमेर वा वर्गका मानिसलाई लक्षित गरी फरक स्वाद र लेबलसहित बजारीकरण गर्दै आएका छन् । पहिला घरपरिवारमा नियमित प्रयोगदेखि आतिथ्यमा प्रयोग गरिने दूध, दही मही, चिया सर्बतलाई कोकाकोला, पेप्सी, ड्यु, स्प्राइट, फेन्टा, मिरिन्डा, सेभनअप, रेड्बुल आदि लगायत अन्य फलफूलको स्वाद राखेर तयार पारिने औद्योगिक जुसले प्रतिस्थापन गरेको छ ।
 मार्केट रिसर्च डटकमका अनुसार सन् २०१५ मा नेपालमा सात अर्बको हाराहारीमा गुलिया पेयपदार्थको बजार रहेकोमा दस वर्षका अवधिमा करिब २५ अर्ब पुग्ने अनुमान गरिएको छ । यसै आँकडालाई आधार मान्ने हो भने पनि हरेक नेपालीले वर्षमा करिब एक हजार रुपियाँ सुगरी ड्रिंक्र्समा खर्च गर्छन् । जबकि यसको पोषणमा योगदान शून्यबराबर रहन्छ, तसर्थ शून्य क्यालोरी पनि भनिन्छ । यसका असरका कारण मानिसको उत्पादनशीलतामा ह्रास आएका, मोटोपन वा रोगका कारण सास्ती पाएका, औषधी उपचारदेखि ज्यानै गुमाएका कारण व्यक्ति परिवारको सामाजिक, आर्थिक, मनोवैज्ञानिक असरदेखि राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पारिरहेको छ ।
 
चिनी र रक्सीको सम्बन्ध
चिनी उत्पादन गरेर बाँकी रहेको कच्चापदार्थ फरमेन्टेसन गरी इथानोलमा परिणत हुन्छ, जुन आफैँमा अल्कोहल हो । घरेलु विधिबाट उत्पादन हुने अल्कोहल निर्माणका क्रममा लापरबाहीका कारण मिथानोल बन्ने जसले स्वास्थ्यमा गम्भीर क्षति पुग्ने गरेको छ ।
नेपाललगायत विश्वव्यापी रूपमा स्थानीयदेखि औद्योगिक मदिराको उत्पादन र खपत बढ्दै गएको छ । (सेतो) चिनीको उत्पादनलाई नियन्त्रण गर्न सक्दा इथानोलको उत्पादन पनि घट्दो छ । बेलायतमा गरिएको अध्ययनमा दुई पेग रक्सीले एक वयस्क मानिसको एक दिनको चिनीको आवश्यकता पूरा गर्न सक्छ । तर रक्सीका अम्मली यसको सेवन गर्ने क्रममा त्यसमा अन्तरनिहित चिनीको परिमाणको हिसाब गर्दैनन् अनि सीमा नाघ्दै जान्छन् । यो क्रमको निरन्तरताले समस्या निम्त्याउँछ ।
 
चिनीको नसा
गुलियो पेयमा चिनी र क्याफिन मिसाइएको हुन्छ । यसले मन र मस्तिष्कलाई आनन्द दिन्छ अनि निरन्तरको सेवनले तलतल लाग्छ । आजकल भोक लाग्दादेखि भोज खाँदा, सुख वा दुःखमा सुगरी डिं«क्सको प्रयोग हुन्छ । कतिपयका घरमा फ्रिज गुलियो पेयले भरिएका हुन्छन् । यस्ता पेयपदार्थमा भिटामिन, मिनरल, प्रोटिन, फाइबर शून्यबराबर हुन्छ त्यसैले यसलाई इम्टी क्यालोरी पनि भनिन्छ । बरु यसले पाचनप्रणाली खराब गर्ने, मोटोपन बढाउने, अल्छी, फुस्रो छाला बनाउँछ । लामो समयदेखि यस्ता औद्योगिक पेय सेवन गर्ने व्यक्तिमा मधुमेह रोग लागेपछि कतिपयलाई इन्सुलिनले समेत काम गर्दैन ।
  
मोटोपन नियन्त्रण गर्ने नीति
विश्वमा मधुमेह विकराल समस्याका रूपमा देखापर्दैछ । यो समस्याको एक प्रमुख कारक भनेको खानाका रूपमा प्रशोधित चिनीको उच्च खपतलाई मान्ने गरिन्छ । अतः वयस्क पुरुषले दिनमा ३५ ग्राम र महिलाका लागि २५ ग्रामभन्दा बढी नहुने गरी खानाको सूची तयार पारिनुपर्छ । चिनीको उपयोगलाई कम गर्न राज्यले जनचेतना जगाउने, करको दायरा बढाएर आमउपभोगका लागि हतोत्साहित गर्न विश्व स्वास्थ्य सङ्गठनको नसर्ने रोगको रोकथाम विभागले जोड दिँदै आएको छ । उक्त विभागका प्रमुख डा. ड्गलस बट्चेरका अनुसार चिनीको खपत घटाउन सक्दा कम मानिस बिरामी पर्ने, मृत्युदर घट्ने, स्वास्थ्य उपचारको खर्च कम हुने जस्ता प्रत्यक्ष अप्रत्यक्ष फाइदा हुन्छन् ।

विश्वमा करिब ४५ करोड मानिस मधुमेहका रोगी छन् । यही मधुमेहका कारण करिब पन्ध्र लाख मानिसको ज्यान जाने गर्छ प्रत्येक वर्ष । सुगरी ड्रिंक्समा चिनी र सोडाको प्रयोग गरिएको हुन्छ । सोडाको प्रयोगले यसका उपभोक्तालाई अभ्यस्त बनाउँछ । शुद्ध चिनीपछि मोटोपना बढाउने अर्को तत्व भनेको मदिरा हो । बियर, वाइन वा अन्य स्थानीय तथा औद्योगिक मदिरामा चिनीको मात्रा बढी हुन्छ । त्यसमा पनि फलफूलबाट तयार पारिने मदिरामा चिनीको मात्रा निकै बढी हुन्छ । यसकारण त्यस्ता पेयपदार्थ मोटोपना, मधुमेह आदि समस्याका लागि जिम्मेवार हुन्छन् ।   
 
प्रजननशक्ति नाश
जापानको गिफु विश्वविद्यालयका अनुसन्धाताले सन् २०१० मा प्रकाशन गरेको अध्ययनमा दैनिक करिब एक लिटरको गुलियो पेय सेवन गर्दा बच्चा हुने सम्भावना एकतिहाइ कम हुने देखाएको छ । सन् २०१७ बोस्टोन विश्वविद्यालयमा गरिएको अध्ययनमा यस्ता पेयपदार्थले महिलाको (२५ प्रतिशत) तुलनामा पुरुषको यौन र प्रजनन शक्तिमा (करिब ४० प्रतिशत) कमी आउने देखाएको छ । यो अवस्था भनेको बच्चाको इच्छा राख्ने दम्पतीका लागि कठोर सजाय हो । हार्बड विश्वविद्यालयको अध्ययन अनुसार गुलियो पेयको सेवन गर्दै आएका दम्पतीका हकमा आईभीएफ (कृत्रिम गर्भाधान) समेत सफल नहुने देखिएको छ । जर्ज मसन विश्वविद्यालयको अध्ययनमा यसको प्रयोगले महिलाको डिम्ब र पुरुषको शुक्रकीट कमजोर र अस्वस्थ हुने, गर्भधारण नहुने, भए पनि अपूर्ण वा विकलाङ्ग भ्रूणको विकास हुने, कम तौल भएका, बौद्धिक क्षमता कम भएका बच्चा जन्मने सम्भावना देखाएका छन् ।
 
रोकथामका उपाय
यस सम्बन्धमा स्थानीय तहका सरकारले फलफूलका बिरुवा उत्पादन, वितरण र उत्पादित फलफूलको बजारीकरणमा संरक्षणको नीति लिनु उचित हुन्छ । विभिन्न देशको अध्ययनअनुसार फलफूलको मूल्य घट्दा त्यसको उपयोग बढेको छ । अत्यावश्यक परेमा सख्खरलाई सेतो चिनीको सट्टामा  प्रयोग गर्न प्रेरित गर्न सकिन्छ । यसले क्रमिकरूपमा गुलियो पेयपदार्थलाई नियन्त्रण गर्न मद्दत मिल्छ । हानिकारक भनी प्रमाणित भएका खाद्य तथा पेयपदार्थको उत्पादनमा करको दर बढाई उपभोगमा हतोत्साहित गर्ने नीति लिन ढिलाइ गर्नुहुँदैन । कतिपय देशले सुगर करको माध्यमबाट गुलियो पेयको उपभोग नियन्त्रण गर्न सफल भएका छन् ।

जसरी चुरोट र रक्सीमा सावधानी गराउने चित्र र त्यसमा रहेको हानिकारक तत्वको परिमाण खुलाइएको हुन्छ, त्यसैगरी गुलियो पेयमा पनि सावधानीको सूचना र त्यसमा रहेको चिनीको मात्रा लेबलिङ गरिनुपर्छ । यसले सचेत उपभोक्तालाई उचित निर्णय लिन सकोस् । यस्ता हानिकारक पेयको रोकथामका लागि अर्को उपाय भनेको दुग्धपदार्थको सेवनलाई प्रवद्र्धन गर्ने हो ।

बजारमा विभिन्न नाम, स्वाद र सजावटका साथ उपलब्ध गुलियो पेय स्वास्थ्यका लागि निकै घातक छन् । नसर्ने रोग नियन्त्रणका लागि ‘सुगर कर‘ लगाउन विश्व स्वास्थ्य सङ्गठनले सुझाउँदै आएको छ । यस्तो करले सूक्ष्म विषको रूपमा जनस्वास्थ्यलाई असर पारेको गुलियो पेयको उत्पादन र उपभोगलाई हतोत्साहित गर्न र आम मानिसको स्वास्थ्य रक्षा गर्न मद्दत मिल्नेछ । यस्तो कुखाद्यको प्रयोगलाई दुरुत्साहित गर्न जनचेतना जगाउनेदेखि राज्यले विभिन्न विधिबाट आमउपभोक्ताको जीवन रक्षाका लागि अविलम्ब कठोर निर्णय लिनुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?