logo
२०८१ बैशाख १३ बिहीवार



बलियो परिवार, स्वास्थ्यको आधार

विचार/दृष्टिकोण |




सुदर्शन पौडेल
हामी धर्तीका स्थायी बासिन्दा होइनौँ, करिब सय वर्षका पाहुना हौँला । यस अवधिमा हाम्रा गतिविधिका कारण भोलिका दिनमा हाम्रो पहिचान बन्नेछ । त्यसैले केही मानिसले समाजमा सत्कर्म गरी भावी पुस्तालाई सुन्दर विश्व हस्तान्तरण गर्न चाहन्छन् । अधिकांश मानिस सञ्चार वा सामाजिक सञ्जालमा प्रतिविम्बित हुने अभौतिक संसारको भुलभुलैयामा आफू बाँचेको समाजभन्दा भिन्न समाजको कल्पनामा कावा खान थाल्छ । यो प्रवृत्ति परिवार र समाज खण्डीकरणको एक मुख्य कारण हो ।

भविष्यप्रति गर्व गर्न चाहनेले त्यसका निम्ति आजैदेखि प्रयास गर्नुपर्छ । आजका गतिविधिले भोलिको दिनको विधि र संस्कार निर्धारण गर्छ । हरेक नयाँ कुरा सिर्जना गर्न वा भइरहेको कुरालाई समय सान्दर्भिक बनाइरहन मेहनत गर्नुपर्छ । समाज रूपान्तरण तीव्र गतिमा भइरहेको अवस्थामा मौलिक मूल्य र मान्यतासहितका विधि व्यवहारको बीउ जोगाउन सक्याँै भने भोलि त्यसका सबल पक्षमा अध्ययन थालनी हुनेछ । यस सम्बन्धमा राज्य तथा समुदायको तर्फबाट ठोस प्रयास हुन सकेको छैन । फलस्वरूप नयाँ पुस्ताको बोली र व्यवहारमा भड्किलोपन, उत्तेजना, आवेग पाइन्छ । पाकाको कुरा सुन्ने–बुझ्ने धैर्य निकै कम छ । आफ्ना क्रियाकलापको परिणामको आकलन गर्न सक्दैनन् । यसको मूल कारण भनेको उनीहरूले परिवारबाट सामाजिक मूल्य र मान्यता सिक्ने र बुझ्ने अवसर नपाउनु नै हो ।

पूर्वीय र पश्चिमा समाजिक चिन्तन
पश्चिमा र पूर्वीय समाजको सारभूत फरक भनेको व्यक्ति प्रधान कि समाज प्रधान भन्ने हो । पश्चिमा समाजमा व्यक्तिको विकास भएमा समाज र राज्यको विकास हुन्छ भन्ने मान्यतामा विकास भयो । फलस्वरूप व्यक्ति आफ्नो सफलताका लागि परिवार, समाज, संस्कृतिलाई छेउमा लगाएर आर्थिक समृद्धिको पछि दौडिए । भौतिक समृद्धि प्राप्त भयो होला तर उनीहरू सन्तुष्ट छैनन् । अर्कोतर्फ पूर्वीय दर्शनले समाज सुुसंस्कृत, सम्पन्न भयो भने हामीभित्रको ‘म’ को पनि भलो हुने मान्यता राखियो । यसै मान्यताको फलस्वरूप कैयौँ समाजिक विधि व्यवहार विकास भएजस्तै धार्मिक, सांस्कृतिक संस्कार आदि । फलस्वरूप आर्थिक तथा भौतिक अभावबीच पनि मानिस एकअर्काका सुख र दुःख बाँड््दै रम्न सिके । एकताभित्रको विविधताले सिँगारिएका समाज निर्माण भए र त्यसको व्यवस्थापनमा रीतिस्थिति बाँधिए । यो परम्परा नयाँ पुस्तामा हस्तान्तरणसमेत हुँदै आएको छ ।

परिवारमा जिम्मेवारी बाँडिएको हुन्छ । त्यहाँका सदस्यले आफ्नो तर्फबाट संवेगात्मक, भौतिक तथा आर्थिक योगदान दिइरहन्छन् । परिवार हरेक व्यक्तिको पहिलो र स्थायी पाठशाला हो । संयुक्त परिवारमा हुर्किएका बच्चाले दया, माया, करुणा, आदर, धैर्य, सेवा, सम्मानजस्ता गुण सिक्छन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रमाणित भएको छ । त्यस्ता गुणले नयाँ वा विषम परिस्थितिलाई सामना गर्न सक्ने क्षमता विकास हुन्छ । त्यसको उल्टो एक परिवार वा सानै उमेरदेखि परिवारभन्दा टाढा बसेका नयाँ पुस्तामा यस्ता मानवीय गुण वा व्यवहारको कमी हुन्छ । हालका दिनमा पारिवारिक विखण्डन बढ्नुमा एकल परिवारको संस्कार बढी जिम्मेवार छ ।

सरल जीवनका लागि हरेक व्यक्तिको बोली र व्यवहारमा समानता हुनुपर्छ । परिवारका सदस्यका बीचमा जिम्मेवारी र उत्तरदायित्वमा पारदर्शिता हुनुपर्छ । पछिल्लो समयमा पूर्वीय समाज विविध प्रभावका कारण प्रचलित मान्यतालाई तोडेर अगाडि बढ्न खोज्दा सामाजिक विचलन आएको छ । यस क्रममा कतिपय परिवारमा विवाहपश्चात्को असमझदारीले थप जटिलता थप्छ । परिवारभित्र शङ्का, क्लेष, प्रतिस्पर्धा आदिले यसको महìव कम प्रतित हुन्छ । पश्चिमा देश भने एकल वा सानो परिवारबाट संयुक्त परिवारतर्फ आकर्षित हुँदै छन् ।

दिगो विकास लक्ष्य र परिवार
परिवार वा समाजमा व्यक्तिको स्वास्थ्यको निर्माण हुन्छ । स्वास्थ्य केन्द्र, अस्पताल त केवल वर्कसप हुन् र स्वास्थ्यकर्मी मेकानिक्स; जहाँ सानातिना प्राविधिक गडबडीको मर्मत मात्र गरिन्छ । यस अर्थमा व्यक्तिको सर्वाङ्गीण स्वास्थ्य रक्षाका लागि प्राकृतिक वस्तु र सेवाको उचित उपयोग गरी दिगो विकास प्राप्त गर्न सकिन्छ । सन् १९८३ मा संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक परिषद्ले गठन गरेको समाज विकासका सम्बन्धमा अध्ययन टोलीले सिफारिस गरेअनुसार सन १९८५ मा संयुक्त राष्ट्रसङ्घमा ‘विकासका लागि परिवार’को नाममा सङ्कल्प प्रस्ताव पेस भयो ।

यो प्रस्तावका बारेमा सभालाई जानकारी दिँदै तात्कालीन महासचिव जेभियर पेरेजले पारिवारिक मूल्य मान्यताको सम्बद्र्धन गर्न र नयाँ पुस्तालाई सुसंस्कृत, स्वास्थ्य र दिगो भविष्य सुम्पिन परिवारमा लगानी गर्नुपर्ने धारणा राखेका थिए । यसै कार्यको स्मरणमा सन् १९८९ लाई अन्तर्राष्ट्रिय परिवार वर्ष र सन् १९९३ को १५ तारिखलाई अन्तर्राष्ट्रिय परिवार दिवस विश्वव्यापी मनाउन थालिएको हो । सन् २०१५ सेम्टेम्बर २५ मा संयुक्त राष्ट्रसङ्घमा आबद्ध १९३ देशका प्रतिनिधिले सर्वसहमतिमा पारित गरेको दिगो विकास लक्ष्यका १७ उद्देश्य पूरा गर्न परिवारको भूमिका अहं हुने यसको प्राकथनमा उल्लेख गरिएबाट परिवारको महìव थप उजागर भएको छ ।

यस वर्ष २०२२ का लागि राष्ट्रसङ्घले ‘परिवार र जीवन उपयोगी प्रविधि’ नारा तय गरेको छ । कोभिड–१९ को सन्दर्भमा अफिस, कार्यालय, स्कुल, मनोरञ्जन, यात्रा, पर्यटन आदि क्षेत्र अत्यधिक प्रभावित भएको अवस्थामा त्यसलाई सुषुप्त रूपमा भए पनि चलायमान बनाइराख्न सूचना र सञ्चार प्रविधि वरदान सावित भयो । मानिस घरमा सीमित भएको अवस्थामा परिवारलाई गाँस्ने, पेसागत तथा मानवीय मूल्य मान्यताको निर्वाह गर्ने क्रममा प्रविधिको उपादेयता निकै सहयोगी भएको सन्दर्भमा यसको थप विकास विस्तार गर्दै आगामी दिनमा पनि अधिकतम फाइदा लिने अभिप्रायले यो नारा चयन गरिएको हुनसक्छ ।

औपचारिक शिक्षा र परिवार
परिवार बच्चाका लागि सबैभन्दा ठूलो शिक्षालय हो । शिक्षाले उसको व्यवहार निर्धारण गर्छ । आधुनिक स्कुल साक्षर उत्पादन गर्दैछन् भन्दा अतिशयोक्ति नहोला । त्यहाँ शिक्षाको व्यापार हुन्छ र उक्त व्यापारमा बच्चालाई ढाल बनाइन्छ । उक्त बजारमा हुर्किएको बच्चाले व्यक्ति, समाज र त्यहाँको व्यवस्थाप्रति सङ्कोचको नजरले हेर्न थाल्छ । स्कुलका सम्बन्धमा हाल विकास र प्रचलनमा रहेका गतिविधिको वस्तुनिष्ठ विश्लेषण र सुधारका प्रयास गर्न ढिला गर्नु हुँदैन ।

बच्चाको अधिकांश आनिबानी छ वर्षको उमेरमा विकास भइसक्छन् । हाम्रोमा बच्चा दुई वर्षको भएपछि स्कुल भर्ना गरिन्छ । जसको घरमा कोही हँुदैन । अभिभावक कामकाजी छन् भने त लौ भनौँ तर माया गर्ने बाजे–बजै घरमा हुँदाहँुदै पनि स्कुलमा कलिला बच्चा भर्ना गर्ने अभिभावकले उक्त कसुरको सजाय पाउँछन् । संसारमा राम्रो शिक्षा प्रणाली भएका फिनल्यान्ड, स्विडेन, नर्वे आदि देशमा छ वर्ष उमेरसम्म बच्चाको स्कुल परिवार भन्ने मान्यता छ । हाम्रोजस्तो परिवेशमा प्रायः सबै स्कुल बच्चाको बालसुलभपनलाई निमोठ्ने र जबर्जस्ती ठूलाले आफ्नो फाइदाका लागि निर्धारण गरिएका नियममा बाँध्ने यातना गृहभन्दा अन्यथा हुँदैन । यस्तो अवस्थामा उमेर नपुग्दै स्कुल भर्ना हुने बच्चा पछि गएर अरू मानिसप्रति प्रतिस्पर्धीजस्तो हुन थाल्छ । यस्तो अवस्था अति तीव्र र गहिरो हुँदा मानिस हिंसा गर्नदेखि स्वघात गर्नसमेत तयार हुन्छ ।

बच्चाको सामाजिकीरणका दौरानमा कुनै व्यक्ति वा परिवारलाई देवत्वकरण गर्ने र अर्को समान हैसियतको व्यक्ति परिवारप्रति घृणा बढाउने बोली र व्यवहार गर्ने हर्कत परिवार विखण्डनका भाइरस हुन् । बच्चालाई यो मान्छे र त्यो मान्छे होइन, मानव जातिप्रति माया, करुणा, सद्भावको विकास गर्न सिकाउनुपर्छ । व्यक्ति, परिवार र समाजमा स्वास्थ्यको आधार तयार हुन्छ । स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी वर्कसप र मेकानिक्सको भूमिकामा रहन्छन् ।

अन्त्यमा पूर्वीय दर्शनमा मानव जीवनको थालनीदेखि परिवारको योगदानका बारेमा धेरै चर्चा गरिएको छ । यसमा परिवार, समुदायले व्यक्तिलाई नैतिक मूल्य मान्यता र जीवन जिउने कला सिकाउँछ । घर वा परिवारमा सिकेका कला उसको पेसा वा काममा दौरानमा अन्य व्यक्ति, समाजको हितमा केन्द्रित गर्न प्रयोग गर्छ । यस्तो सत्कर्मको निरन्तरताले राष्ट्र र विश्व जगत्को हित गर्छ । अतः परिवारप्रति नयाँ पुस्ताको आकर्षण बढाउने गतिविधि बढाउन परिवार, समाज र राज्यका तर्फबाट सङ्गठित प्रयास गर्नुपर्छ । हाल राज्यले अनुसरण गरेको शैक्षिक, सांस्कृतिक, सामाजिक विकासलगायत अन्य मनोरञ्जनात्मक गतिविधिमा नयाँ पुस्ताको सक्रिय र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, उनीहरूको रुचि र क्षमताका आधारमा नेतृत्व विकासको मौका दिने, मौलिकपनसहितको आधुनिकताको विकास र विस्तारमा योगदान दिने व्यक्ति वा समूहलाई प्रोत्साहन गर्ने परिपाटीको विकास गर्न सक्यौँ भने दिगो विकासको जगको रूपमा वर्णित बलियो परिवार बनाउन मद्दत मिल्छ । बलियो परिवार स्वास्थ्यलगायत प्रकृतिको सर्वाङ्गीण विकासको भरपर्दो टेको हुन सक्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?