logo
२०८१ मंसिर ८ शनिवार



शिक्षकमै निर्भर शिक्षण

विचार/दृष्टिकोण |




सुदर्शन पौडेल
जुनसुकै समाजमा शैक्षिक पेसालाई नैतिक तथा ज्ञानको प्रतीकको रूपमा आदर गरिन्छ । जतिसुकै पिछडिएको समाज वा निरक्षर व्यक्तिदेखि सम्भ्रान्तले पनि शिक्षकलाई आदर गर्छन् । बोलीमा आदर मात्र होइन, आफ्ना समस्या वा जिज्ञासाको उत्तर खोज्न पनि शिक्षकको सहयोग लिन्छन् । व्यक्तिको जीवनमा पनि शिक्षकप्रतिको सम्मान उच्च रहेको हुन्छ । परापूर्वकालदेखि शिक्षकलाई सम्मान गर्ने परम्परा रहँदै आएको हो । यस्तो सम्मानका जगेर्ना गर्न नसक्दा हाम्रो पेसाप्रति हेयको भावले हेर्ने अवस्था आयो ।

शिक्षकको मूल्याङ्कन उसका मानवताको हितलक्षित मूल्य मान्यता, वर्तमान समयमा समसामयिक विषयमा उसको धारणा अनि उसका विद्यार्थीको सफलतासँंग गाँसिएको हुन्छ । अभिभावकको बढ्दो व्यस्तताका कारण पनि बच्चाको जिम्मेवारी शिक्षकको काँधमा हुन्छ । चिनियाँ भनाइ छ, कोही पनि विद्यार्थी खराब हुँदैन, खराब शिक्षक हुन सक्छ । त्यसो हो भने शिक्षक कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा परापूर्वकालदेखि आधुनिक समाजले धेरै मान्यता स्थापित गरेको छ । त्यस क्रममा सेवाप्रतिको इमानदारी, उत्साह, परिश्रम, संयम, सदाचार, सत्व्यवहार, आत्मगौरव आदि महìवपूर्ण हुन् ।

कतिपय देशमा राष्ट्रिय मर्यादाक्रममा पनि शिक्षकलाई उच्च स्थान दिइएको पाइन्छ । प्रायः सबै देश वा समाजमा यस पेसाकर्मीले बोलेका वा लेखेका विषयवस्तुलाई विमतिका बीच पनि प्रतिवाद गरिँदैन किनकि त्यस्ता विषयवस्तु उच्च शैक्षिक विमर्श वा बौद्धिक उपजबाट सिर्जित हुने भएको कारण थप बुझ्नुपर्ने आवश्यकता महसुस गरिन्छ ।
यो अवस्था सबै स्थान र समयमा एकनाश रहँदैन । कहिलेकाहीँ त्यही सम्मानित वर्गका केही व्यक्तिका कर्तुतका कारण समुच्चा बौद्धिक वर्गको मर्यादामा आँच पुग्दछ । आफूले के जान्दछु भन्ने जान्ने व्यक्तिको सङ्गत खोज्ने क्रममा आफूले के जान्दिन भन्ने नजानेको सङ्गतमा पुगियो भने ठूलो क्षति हुन सक्छ ।

शिक्षकहरू समाजका प्रबुद्ध वर्गमा पर्ने भएपछि राजनीतिमा यिनीहरूको सरोकार र संलग्नता नहुने कुरै भएन जुन स्वाभाविकै हो । राजनीतिलाई पेसा बनाएका व्यक्तिदेखि सर्वसाधारणलाई सामाजिक आर्थिक सांस्कृतिक रूपमा सल्लाह सुझाव दिन, मार्ग निर्देश गर्न शिक्षकले भूमिका निर्वाह गर्नुपर्ने सुकरातदेखि चाणक्यसम्मले भन्दै आएका छन् । उनीहरूका अनुसार शिक्षकले सर्वजनहिताय, सर्वजनसुखायको राजनीति गर्नुपर्ने चर्चा गरेका छन् । यो परम्परापछिका दिनमा स्खलित हुँदैछ । समाज परिवर्तनसंँगै शिक्षकको भूमिका परिवर्तन भएको छ । शिक्षक अमूक राजनीतिक दलको झोले कार्यकर्ता भएर हिँड्ने वा समाजले नरुचाउने गतिविधिमा संलग्न भई विद्यालय वा विद्यार्थीको बारेमा कम चासो राख्ने गरेको पाइन्छ । त्यस क्रममा शिक्षक मर्यादा उल्लङ्घन भए फलस्वरूप समाजमा इज्जत गुमाउँदै गए ।

यो पदको गरिमासँंग दैनिक जीवनका मूल्य मान्यता र गतिविधिसमेत गाँसिएका हुन्छन् । यो आफँैमा अमूर्त कुरा हो । कतिपय शिक्षक (प्राध्यापक) निकै टाढाको भूगोलमा रहेर काम गर्दा पनि उनीहरूका सतकर्मको नाम सबैतिर फैलिएको हुन्छ । आजकल चलन चल्तीमा रहेको डाक्टर ग्रिक शब्द भण्डारबाट आएको हो जसको अर्थ हुन्छ पढाउनु । डाक्टरले बिरामीको अवस्था विश्लेषण गर्दछन्, समस्याको कारण पत्ता लगाउँछन् र त्यसको निदानमा ठोस योगदान पुयाउँछन् । त्यसैले यो पेसाको मर्यादा समाजमा सधैँ उच्च छ । यो मर्यादा शिक्षक (प्राध्यापक)हरूले क्रमिक रूपमा गुमाउँदै गएकाले कतिपय जेहेनदार व्यक्ति शिक्षक बन्नभन्दा अरू पेसा व्यवसायमा आकर्षित हुने गरेका छन् ।

आजकल शिक्षाको व्यापार भएको छ । भड्किलो वातावरणमा शिक्षालय सञ्चालन हुँदैछन् । त्यहाँबाट प्रदान गरिने शिक्षा राम्रो हुन्छ भन्ने निश्चित छैन । यान्त्रिक शिक्षा प्रदान गर्ने स्थानमा शिक्षकको भूमिकामाथि प्रश्न उठ्नु स्वाभाविक नै भयो । यसो भन्दै गर्दा शिक्षालाई यान्त्रिक बनाउनमा भूमिका खेल्ने पनि शिक्षकको भूमिका उल्लेख्य हुन्छ । शिक्षकले आफ्नो ज्ञान र अनुभवभन्दा किताबी तथ्यलाई रटाउन लगाउने परिपाटीलाई यान्त्रिक शिक्षाले प्रतिस्थापन गर्दैछ । आज किताबका निरस पानाहरूलाई ग्याजेट र इन्टरनेटले प्रतिस्थापन गर्दैछन् ।
साँचो अर्थमा शिक्षक आजको समाजले चिकित्सक भनी पहिचान गरेको सेवासँंग मिल्दोजुल्दो हुनु पर्दथ्यो । आफूले जान्नु एउटा कुरा होे उक्त ज्ञानलाई आवश्यकताको आधारमा अरूको जीवनमा सहजता ल्याउन प्रयोगमा ल्याउन सक्नु नै साँचो अर्थमा शिक्षक हो । यस अर्थमा शिक्षकले अन्तस्करणको ज्योति बाल्नेतर्फ उद्दत हुनुपर्छ । शिक्षकले यस्तो शक्ति समाजबाटै आर्जन गर्न सक्छ । समाजमा भएका बेथिति र असमानताको कारक पत्ता लगाई त्यसको निराकरणमा उदाहरणीय भूमिका खेल्न सक्नु पर्दछ । त्यही ज्ञान र व्यवहारलाई आफ्ना विद्यार्थीमा सञ्चार गर्ने, व्यवहार परिवर्तन गर्न सघाउने वा त्यस अनुकूलका नीति तथा कार्यक्रम बनाउन सहयोग गर्ने व्यक्ति नै शिक्षक हो । शिक्षकले वस्तुनिष्ट विवेचना गरी सत्य न्याय र विवेकको आधारमा आफ्नो धारणा राख्नुपर्ने हुन्छ । उसले सत्य र असत्यका भेद थाहा पाउनुपर्ने अपेक्षा राखिन्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पेसाको सम्बन्धमा राष्ट्रिय वा मानव हितको पक्षमा निर्भीक मत राख्नुपर्ने अपेक्षा गरिन्छ । कसैलाई मन पर्नु वा नपर्नुले प्राध्यापकलाई बौद्धिक विवेचना गर्नबाट रोक्न सक्दैन । यो अपेक्षाको बीच संसारभर नै केही प्राध्यापक बासी र कुण्ठायुक्त विचारलाई मलजल गर्ने प्रयासमा निरन्तर लागिरहेका पाइन्छन् ।

कोभिडको अवस्थामा लामो समय स्कुल कलेज बन्द रहँदा दूरशिक्षा वा प्रविधिको माध्यमबाट अध्ययनको परिपाटी स्थापित भयो । चञ्चल स्वभावका विद्यार्थीहरूले इन्टरनेट रूपी दल दलबाट आवश्यकपर्ने कुरा खोजेर लिउ भन्ने जुन अपेक्षा हामीले राख्यौँ त्यो उचित थिएन । त्यस्तो यान्त्रिक शिक्षामा अर्को बेफाइदा हुन्छ । यसको एक दृष्टान्त जुम्लाको चन्दननाथ नगरपालिकाले विद्यालय लक्षित निःशुल्क इन्टरनेटले विद्यार्थीमा नकारात्मक असर पारेको कारण छोटो अवधिमा उक्त सेवा बन्द गरेकोबाट बुझ्न सकिन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा त्यस्तो शिक्षाले पनि मान्यता पाएको कारण शिक्षकको भूमिका थप कमजोर भएको छ ।

संसारभर (त्यसमा पनि कम विकसित देशहरूमा अलि बढी) केही शिक्षक (प्राध्यापकहरू) सत्ता र शक्तिका पात्रहरूको स्तूतिगानमा नै समय व्यतित गर्दछन् । आफ्नो ज्ञानको दायरालाई थप फराकिलो बनाउने अध्ययन अनुसन्धान गर्ने, अध्ययन गर्ने काममा भन्दा लाभको लोभमा खराब प्रवृत्तिको बढाइचढाइ गर्ने प्रवृत्ति हावी हँुदै गएको छ । सरकारका कतिपय अलोकप्रिय गतिविधिलाई तीन बित्ता उफ्रेर त्यसलाई बचाउने शिक्षकहरू उक्त सरकार सत्ताच्यूत भएपछि आफ्नो बोली फेरेर त्यसको आचोचना गर्ने गरेको सुनिन्छ । यस प्रकारको बौद्धिक स्खलनले शिक्षकको मर्यादा मात्र होइन भावी पुस्ताको भविष्य पनि अन्योलमा पर्ने निश्चित छ ।

अतः शिक्षाले साक्षर जमात मात्र थप्ने गर्ने काम नगरोस्, यसको सान्दर्भिकता उज्यालो छर्नुमा रहन्छ । त्यसका लागि शिक्षकले विद्यार्थीलगायत आम मानिसको जनजीविकामा सकारात्मक परिवर्तन ल्याउनेतर्फ उद्दत नवीन ज्ञान र परिस्कृत व्यवहारको आवश्यकता हुन्छ । त्यसका लागि शिक्षकलाई नागरिक समाजबाट नैतिक सहयोगको आवश्यकता पर्दछ । यस्तो सहयोगका लागि नागरिक समाजको तर्फबाट शिक्षक सम्मानका कार्यक्रम सञ्चालन गर्न सकिन्छ । त्यस्ता सम्मान पाउन यस पेसामा आबद्ध व्यक्तिहरूले आफू कार्यरत पेसाको गरिमालाई जोगाई रहनु पर्दछ । जुन दिन शिक्षकले आफ्नो परिचय दिँदा गर्भ महसुुस गर्ने दिन आउँछ, त्यस्तो अवस्थामा शिक्षक नैतिक, व्यावहारिक, शैक्षिक मूल्य मान्यताले ओतप्रोत भएको हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?