logo
२०८१ मंसिर ८ शनिवार



कोरोना बीमामा गिरेको साख

विचार/दृष्टिकोण |




रिसव गौतम

कोभिड १९ अर्थात् कोरोना भाइरसको महामारी सुरु भएपछि नेपालमा पनि कोरोना बीमा योजना सुरु गरिएको थियो । कोरोनाको रापतापको कमजोर मूल्याङ्कनसहित सुरु गरिएको कोरोना बीमा योजना कालान्तरमा असफलजस्तै भएको छ । बीमा गराउने कम्पनीहरूले अहिलेसम्म पनि कैयौँ कोरोना बीमा गराएकाहरूको दाबी भुक्तानी दिन सकेको छैन । सत्य के हो भने, कोरोनाजस्तो महामारी आइसकेपछि सुरु गरिएको कोरोना बीमा योजनालाई धेरै नेपालीले विश्वास गरी स्वीकार गरेका थिए । बीमा गर्नुपर्छ भन्ने कुरा कोरोना महामारीको अवधिमा मानिसलाई बढी नै जागृत भयो । तर कोरोना बीमा गरेपछि भुक्तानी नपाउँदा धेरैको बीमाप्रतिको विश्वास कमजोर भएको छ । बीमा कम्पनीहरूकै साख त्यसले धुलिसात् बनाएको छ । यद्यपि, सरकारकै पनि कमजोरीले त्यो अवस्था सिर्जना भएको हुनसक्छ ।

पछिल्लो तथ्याङ्कअनुसार सरकारले भुक्तानी दिनुपर्ने नौ अर्ब ६२ करोड रुपियाँभन्दा बढी रकम निकासा नदिँदा बीमितले भुक्तानी पाएका छैनन् । ०७७ वैशाखबाट सुरु गरिएको यो बीमा योजनाबाट आधाभन्दा बढी बीमितले दाबी भुक्तानी पाएका छैनन् । हालसम्म एक लाख ३७ हजार ७५४ जनाको बीमा दाबी परेकोमध्ये आधाले भुक्तानी नपाएका हुन् । हालसम्म बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीहरूको तर्फबाट चार अर्ब ७८ करोड ८१ लाख रकम भुक्तानी भएको छ । त्यसरी कोरोना बीमा गर्ने कम्पनीहरूले सर्वसाधारणबाट एक अर्ब पाँच करोड रुपियाँ उठाएका थिए ।

कोरोना बीमा गर्ने १९ ओटा निर्जीवन बीमा कम्पनीहरूले मापदण्डअनुसार आफूहरूले भुक्तानी गर्नुपर्ने रकम गरिसकेकोले अब सरकारले तिर्नुपर्ने रकम निकासा भए मात्रै भुक्तानी दिन सकिने बताइरहेका छन् । ०७७ वैशाखबाट सुरु गरिएको कोरोना बीमा योजना ०७८ असार मसान्तमा सकिएको छ । कोरोना बीमाको असफलताकै कारण अब कोरोना बीमा नआउने पनि बिमक सङ्घले जनाइसकेको छ । कोरोना बीमा मापदण्डमा नै एक अर्ब रुपियाँसम्मको दाबी भुक्तानी बीमा कम्पनीले नै बेहोर्नुपर्ने उल्लेख छ । एक अर्बभन्दा माथि दुई अर्ब रुपियाँसम्मको रकम नेपाल पुनर्बीमा कम्पनीले र दुई अर्ब रुपियाँदेखि साढे दुई अर्ब रुपियाँसम्मको रकम बीमक कम्पनीहरूको महाविपत्ति पुलले र साढे २ देखि साढे ३ अर्ब रुपियाँसम्म भुक्तानी बीमा समितिले बेहोर्नुपर्ने उल्लेख छ । मापदण्डअनुसार साढे तीन अर्ब रुपियाँभन्दा बढी भुक्तानी गर्नु परेको खण्डमा सरकारले बेहोर्ने पनि उल्लेख छ ।

बीमा गर्नेहरू बढ्दै
पछिल्ला वर्षमा नेपालमा बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । विश्वव्यापीकरणको प्रभाव, सामाजिक जागरण र चेतनामा भएको वृद्धि, सरकारको पहलकदमी, रोगव्याधिको प्रकोप आदि कारण बीमा गर्नेहरू बढेको देखिन्छ । कोरोना महामारीले पनि नेपालमा बीमा गर्नेको सङ्ख्यात्मक वृद्धि गरेको देखिन्छ । यद्यपि, नेपालका बीमा कम्पनीहरूले अझै पनि सर्वसाधारणको यथेष्ट विश्वास जित्न भने सकेका छैनन् । बीमा कम्पनीहरूले महामारीको यस घडीमा परिपक्व व्यवहार देखाउन सकेका भए सङ्कटकै घडीमा बीमा व्यवसायप्रति मानिसको विश्वास बढेर जान्थ्यो । कोरोना बीमा गरेका करिब ५० प्रतिशतले दाबी भुक्तानी नपाएको अवस्थाले धेरैलाई निराश बनाएको छ ।

तर पनि हालको समयमा नेपालमा सबैभन्दा बढी सम्भावना भएको व्यवसाय बीमा नै हो । सोही तथ्यलाई मध्यनजर गर्दै तीन दर्जनभन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनी नेपालमा सञ्चालनमा आइसकेका छन् । हालसम्म नेपालमा २७ प्रतिशत नेपालीहरू बीमाको पहुँचमा आइपुगेका छन् । ७३ प्रतिशत नेपाली अझै बीमाको पहुँच बाहिरै छन् । नेपालमा बीमा समितिबाट इजाजत–पत्र लिई ४१ ओटा बीमा कम्पनीहरू सञ्चालनमा छन् । त्यसमध्ये १९ ओटा जीवन बीमा कम्पनी छन् भने २२ ओटा निर्जीवन बीमा कम्पनी रहेका छन् । यसरी पछिल्लो दशक बैङ्कहरू जस्तै बीमा क्षेत्रले पनि छलाङ मारेको देखिन्छ । सञ्चालनमा आएका धेरै कम्पनीको प्रोफाइल मजबुत नै देखिन्छ । दर्जनभन्दा बढी जीवन बीमा कम्पनीहरू त बैङ्कले नै सञ्चालनमा ल्याएका देखिन्छन् ।

वास्तवमा बीमा अपरिहार्य हो । हरेक चीजको बीमा गरिनु आवश्यक छ । अझ जीवन बीमा त अपरिहार्य नै छ । बीमा गर्दा हरेक खालका जोखिमका भारहरू बीमा कम्पनीहरूले नै बहन गर्ने कारण मान्छेमा तनाव कम हुन्छ र जिन्दगी सहज बन्छ ।
नेपालमा सन्दर्भमा २००४ सालमा निर्जीवन बीमा कम्पनीको रूपमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना भएको थियो । विश्वको इतिहास हेर्ने हो भने पाँच सय वर्ष पहिले बेलायतबाट बीमा व्यवसायको सुरुवात भएको पाइन्छ । नेपालमा दोस्रो बीमा कम्पनीको रूपमा भने २०२४ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापना भयो । यी दुई सरकारी तवरबाट सञ्चालित संस्थानले आफ्ना गतिविधिहरू अगाडि बढाएको निकै लामो समयपछि मात्रै निजी क्षेत्रबाट पनि बीमा कम्पनीहरू खोलिएका हुन् । नेपालमा निजी क्षेत्रबाट पहिलो पटक २०४४ सालमा नेसनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएको हो ।

नेपालमा बीमा व्यवसायको सुरुवात भएको ७४ वर्ष पूरा भए पनि लामो समयसम्म उपयुक्त कानुन तथा नीति नियम नबनेको कारणले यस व्यवसाय पछाडि प¥यो । ०४६ सालको नयाँ बहुदलीय उदार व्यवस्थापछि मात्रै यस व्यवसायमा निजी क्षेत्रबाट लगानी बढ्न थाल्यो । विकसित देशहरूमा बीमा गर्नैपर्ने चलन छ । अझ स्वास्थ्य बीमा त अनिवार्य गराइन्छ । नेपालमा त्यस्तो व्यवस्था नभएकोले पनि यो व्यवसाय पछाडि परेको देखिन्छ । यो व्यवसाय अघि बढ्न नसक्नुको अर्को मूल कारण आर्थिक पनि हो । मानिसले बीमा गर्ने भनेको खासगरी बचतको अवस्थामा हो । बचतका लागि आम्दानीका स्रोतहरू बलियो हुनैपर्छ । देशकै अर्थतन्त्र, रोजगारीका सबै अवयव राम्रो हुँदा मात्रै बीमा व्यवसाय मौलाउने हो । पछिल्लो दशक नेपालमा शान्ति सुव्यवस्था कायम हुँदै गएको छ । रोजगारीका लागि विदेशिने नेपालीहरू बढेका छन् । रेमिट्यान्स बढेको छ । रेमिट्यान्सकै वृद्धि र प्रभावस्वरूप बैङ्क–वित्तीय क्षेत्रदेखि बीमा कम्पनीहरूसमेत मौलाएका हुन् । बैङ्कहरूको निक्षेप बढाउने कुरामा रेमिट्यान्सले अग्रणी भूमिका खेल्यो । जसका कारण उनीहरूले बढेको निक्षेप लगानी गर्न पाए र बिजनेस बढाउने मौका पाए । फलस्वरूप बैङ्कहरूले शीघ्र प्रगति गरिरहेका छन् । बैङ्कहरूकै अगुवाइमा अहिले बीमा क्षेत्रसमेत फष्टाउँदै गएको देखिन्छ । बीमा क्षेत्र फष्टाउँदै जानुमा मिडियाको हात पनि उत्तिकै छ । मानिसमा सचेतना वृद्धि नगरुन्जेल बीमा क्षेत्र निश्चय नै अगाडि बढ्न सक्दैन । बीमा भनेको के हो र यो किन आवश्यक छ ? भन्ने कुराको जानकारी हरेक नेपालीमा गराउन जरुरी छ ।

बीमा क्षेत्रलाई नियमन तथा नियन्त्रण गर्न, यसलाई अघि बढाउन हालसम्म बीमा समितिले काम गरिरहेको छ । मूलतः बीमा कम्पनीको चुक्ता पुँजी कम हुनु र उनीहरूले विगतमा आफ्नो स्तर पनि बढाउन नसक्दा जनमानसमा विश्वासको वातावरण बढ्न नसकेको हो । त्यसकारण बीमा कम्पनीको चुक्ता पुँजी बढाउँदै लगेर विश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्छ । पछिल्ला दशकमा नेपालमा व्यवस्थापन सङ्कायमा विद्यार्थी बढेका र व्यवस्थापन सङ्कायमा बीमासम्बन्धी विषयगत पठन सामग्रीहरू राखिएकाले पनि बीमा सेवा केही बढेको छ । तर यसलाई विद्यालय स्तरमै राखिने हो भने सबैलाई बीमा भनेको के हो र यसबाट फाइदा के हुन्छ ? भन्ने अवगत गराउन सकिन्थ्यो । सचेतनाकै अभावले गर्दा विश्वमै सबैभन्दा न्यून प्रतिशतमा बीमा गर्ने देशमध्येमा नेपाल पर्छ । पछिल्ला वर्षमा सरकारी स्तरबाटै लघु बीमा, कृषि बीमा, स्वास्थ्य बीमालगायतमा भएका पहलकदमी सार्थक देखिएका छन् । त्यसलाई अझै घनिभूत बनाउँदै लैजानुपर्ने आवश्यकता छ ।

अहिले वास्तवमा नेपालीलाई पुग्ने र थेग्ने सङ्ख्यामा बीमा कम्पनीहरू खुलिसकेका छन् । सरकारले यस्ता कम्पनीलाई इजाजत–पत्र दिएर मात्रै हुँदैन । यस क्षेत्रलाई अझ व्यवस्थित गर्न ऐनहरूमा संशोधन गर्नुपर्छ । बैङ्कलाई जस्तै बीमा व्यवसायका क्षेत्रलाई पनि अझ व्यवस्थित एवं कडाइ गरेर विश्वासिलो र भरपर्दो बनाउन जरुरी देखिन्छ । बीमा कम्पनीहरू पुँजीगत रूपमा दरिलो हुनुपर्छ, मानव संसाधन र अधिकर्ताहरू सबै हिसाबले व्यवस्थित हुन जरुरी छ ।

बीमा गर्ने परिपाटीको विकास गर्न सकियो भने त्यसले जनताको बचतमा पनि वृद्धि हुन्छ । जनताले बीमा गर्दा उठाइएका रकमहरू विकास निर्माणका ठूला आयोजनामा लगानी हुन सक्छ । खासगरी जीवन बीमा गर्नेहरू बढ्दा लामो अवधिको ठूलो कोष खडा हुन्छ । त्यस्तो कोषको निर्धक्क लगानी बीमा कम्पनीहरूले गर्न सक्छन् । यसबाट बीमा कम्पनीलाई र बीमा गर्ने व्यक्तिलाई उत्तिकै फाइदा हुन्छ । दुवैतर्फी फाइदा हुने यस व्यवसायकै कारण राज्यको आर्थिक गतिविधि बढाउन, कर आय बढाउन, दीर्घकालीन आयोजनाहरूमा लगानीका लागि स्रोत र समग्र आर्थिक विकासमा बीमाले धेरै ठूलो भूमिका खेल्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?